सुदूरपश्चिम

बाढीले आम्दानीको स्रोत गुमेपछि कुतियाकबरका किसान चिन्तित

इकागज |
साउन ६, २०८१ आइतबार २१:५० बजे

वेदकोट (कञ्चनपुर)- कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० कुतियाकबरका बमबहादुर सुनारले १२ कट्टा जमिनमा परबल खेती गरेका थिए । त्यही खेतीबाट उनले वर्षभरीको खर्च जोहो गर्थे । 

असार तेस्रो साता अविरल वर्षापछि आएको बाढीले उनको परबल खेती बगरमा परिणत भएको छ । खेती मात्रै होइन बाढीले घरभित्रको अन्नपात, लुगाफाटोसमेत बगाएपछि उनी समस्यामा छन् । 'खेतमा लगाइएको परबल पुरिएर नष्ट भएको छ । वर्षभरीको घर खर्च धान्ने खेती नै सखाप भएपछि अब के खाने, कसरी खर्च चलाउने भन्ने चिन्ता बढेको छ,' उनले दुखेसो पोखे ।  


बाढीको बेला केही दिन अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका उनी अहिले बस्तीमै फर्किसकेका छन् । बाढीले क्षति पुर्याएको घरको मर्मत गरेर रात बिताइरहेको उनको भनाइ छ ।

दोधारा चाँदनी नगरपालिका–१० का खड्के बुढाले डेढ बिघा जमिन भाडामा लिएर तरकारीसँगै धान रोपाइँ गरेका थिए । बाढीले उनको खेत पनि पूरै लेदो र बालुवाले भरिएको छ । 'तरकारी र धानमा रु ५० हजार खर्च भएको थियो । तरकारी खेती नै प्रमुख आयस्रोत हो,' उनले भने, 'खेतमा सबै पुरिएर माटो र बालुवा मात्रै छ । तीन वर्षअघि पनि यस्तै भएको थियो । बाढीले आयस्रोत नै खोस्यो ।'

महाकाली नदी र जोगबुढा नदीले घेरिएको कुतियाकबरमा बसोबास गर्ने अधिकांशको जमिन बगरमा परिणत भएको छ । यहाँका अधिकांश स्थानीय बासिन्दा परबललगायत तरकारी खेती गरेर जीविकोपार्जन गर्दै आएका छन् । वर्षभरीलाई खान पुग्ने धान र घर खर्च जोहो गर्ने तरकारी खेती बगर बन्दा अहिले यहाँका किसान निकै पीडामा छन् । 'बाढीले सबै लग्यो । बिहान बेलुका खानलाई घरभित्र अन्न छैन । खाना पकाउन भाँडाकुँडा, लगाउनलाई लत्ताकपडा पनि छैनन्,' दोधारा चाँदनी नगरपालिका–१० की बृतकली सुनार भन्छिन्, 'बाढीले यत्रो पीडा दिँदा पनि सरकारले हामीलाई हेरेको छैन । हामी के खाएर बाच्ने ?'

असार तेस्रो साताको अविरल वर्षापछि भएको डुबान र बाढीले विस्थापित भएकाहरू विद्यालय तथा आफन्त कहाँ आश्रय लिएर बसेको थिए । अधिकांश विस्थापित बस्तीमै फर्किए पनि खाद्यलगायत अत्यावश्यक सामानमा बाढीले क्षति पुर्याएपछि खान र बस्न समस्या भएको छ । बाढी र डुबानले बस्ती अस्तव्यस्त बनेकाले स्थानीय बासिन्दा अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् । रासस


Author

थप समाचार
x