सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री थापा बर्खास्त

इकागज |
साउन १३, २०८१ आइतबार २२:३ बजे

फाइल तस्बिर

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका छन् । मन्त्री थापाले सरकारको नीति विपरीत काम गरेको उल्लेख गर्दै मुख्यमन्त्री सोडारीले उनलाई बर्खास्त गरेको मुख्यमन्त्रीका स्वकीय सचिव दीर्घ जोशीले जानकारी दिए । 

जोशीले भने, 'प्रतिपक्षीले माग गरेको विशेष अधिवेशनमा नजाने सरकारको नीति थियो, उहाँ सरकारको नीति विपरीत विशेष अधिवेशनको बैठकमा सहभागी हुनुभएकाले मुख्यमन्त्रीले मन्त्री थापालाई बर्खास्तमा गर्नु भएको हो ।'


नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को माग बमोजिम प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा (३)अनुसार आह्वान गरेको प्रदेशसभाको अधिवेशन यही साउन ८ गतेबाट जारी छ । अधिवेशनअन्तर्गत पहिलो बैठक र आजको दोस्रो बैठकमा मन्त्री थापा उपस्थित भएका थिए । बर्खास्तमा परेकी मन्त्री थापा नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशसभा सदस्य हुन् ।

प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाहिरिएसँगै असार २० गतेदेखि मुख्यमन्त्री सोडारी अल्पमतमा छन् । उनले संविधानमा भएको व्यवस्था बमोजिम यही साउन १८ गतेभित्र विश्वासको मत लिइसक्नुपर्छ । 

प्रदेशसभाको आजको दोस्रो बैठकको विशेष समयमा सभामुखबाट समय लिएर बोल्ने प्रदेशसभाका सदस्यले वर्षासँगै उत्पन्न विपद्का घटनाबाट मृत्यु हुनेलाई क्षतिपूर्ति र प्रभावितलाई राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए ।

विशेष समयमा नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, नेकपा (माओवादी केन्द्र)का शिवसिंह ओली र नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरीले भनाइ राखेका थिए । 


Author

थप समाचार
x