सुदूरपश्चिम

शुक्लाफाँटामा नियम विपरित बनेका संरचना भत्काइँदै

इकागज |
साउन २६, २०८१ शनिबार १२:४ बजे

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका ११ स्थित कलुवापुर–बेलौरी सडकको क्षेत्राधिकार भित्र बनाइएका भौतिक संरचना हटाइने भएको छ । सडकको दाँया बाँया १५ मिटरको क्षेत्रमा बनाइएका खोका, छाप्रा, टहरा, ठेला, व्यवसायिक सामग्री, प्रचार प्रसारका सामग्री, पक्कि भौतिक संरचना लगायत हटाउन लागिएको हो ।

सडक क्षेत्राधिकार भित्रका संरचना हटाउनका लागि तीन दिने सार्वजनिक सूचना प्रकाशित गरी सम्बन्धित व्यक्तिहरूलाई जानकारी दिने कार्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकत खेमराज बिष्टले जानकारी दिए । 


उनका अनुसार यही साउन २७ गतेदेखि अबैध रुपमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिने छ । “सडक अतिक्रमण हुँदा सवारी साधनको आवागमनमा असहज हुँदा दूर्घटनाको जोखिम उच्च रहेको छ” उनले भने, “सडकको सुन्दरतामा समेत प्रतिकूल असर परेको छ ।”

सूचनाको अवज्ञा गरी अबैध संरचना सम्बन्धित पक्षले नहटाइए प्रचलित कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए । सडक अतिक्रमण हुँदा पानीको निकास थुनिएर बजार क्षेत्र जलमग्न हुने गरेको छ । सम्भावित संक्रामक रोगहरू फैलिन सक्ने उच्च संभावना बढेर गएपछि नगरपालिको अबैध संरचना हटाउनका लागि गाडी बढाएको बताइएको छ ।

दुई दिन अघि मात्रै नगरपालिकाले थुनिएको पानीको निकास अस्थायी रुपमा खोलेको थियो । पानीको निकास हुने ठाउमा पक्कि भौतिक संरचना निर्माण गरिदा दिगो व्यवस्थापन हुन सकेको छैन । यस अघि नगरपालिकाले पूर्व पश्चिम राजमार्गको झलारी, वनसमिति लगायत बजारका अबैध सडक क्षेत्र अतिक्रमण गरी बनाईएका भौतिक संरचना हटाएको थियो । रासस


Author

थप समाचार
x