सुदूरपश्चिम

भासियो पुर्चाैडी जोड्ने सडक, यातायात सेवा बन्द

इकागज |
साउन २९, २०८१ मंगलबार २१:५३ बजे

बैतडी- बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्र जोड्ने ढोल्यामोड–हाट सडक चार दिनदेखि अवरुद्ध भएको छ । उक्त सडकको ठाउँठाउँमा पहिरो जाने र भासिने समस्याले सडक अवरुद्ध भएको हो । 

शनिबार रातिदेखि सडक पूर्णरूपमा अवरुद्ध हुँदा पुर्चौंडी पुग्ने यात्रुलाई समस्या भएको छ । ढोल्यामोडदेखि हिँडेर जानुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।


ढोल्यामोड–हाट सडकको खामोहाले, गोफाखोला नजिक, सनगाउँ, बडगाउँ विद्यालय नजिकै पहिरो खसेको स्थानीय पुरनसिंह ऐरले बताए । यसका साथै ठण्डा पानी भन्ने ठाउँमा करिब ४० मिटर सडक भासिएको छ । 

सडक अवरुद्ध  चाडपर्वका लागि परदेशबाट घर फर्केकाहरू ढोल्यामोडबाट पैदल हिँड्न बाध्य छन् भने सबैभन्दा बढी समस्या बिरामीलाई भएको छ । यसका साथै यहाँको पुर्चाैडी क्षेत्रमा खाद्यान्न अभाव हुन थालेको स्थानीयले बताएका छन् । 

ढोल्यामोड–हाट सडक स्तरोन्नतिको काम भइरहेको छ । सडक चौडा गर्ने क्रममा नयाँ कटिङ गरेका ठाउँमा पहिराको जोखिम बढी देखिएको छ । यसैबीच सडक सञ्चालन गर्न प्रयास गरे पनि खुलाउन समस्या भएको पुर्चाैडी नगरपालिकाले जनाएको छ । 

सडक खुलाउन दुई वटा जेसिबी प्रयोग गरेर प्रयास गरिए पनि सम्भव नभएको पुर्चाैडी नगरपालिकाका इञ्जिनियर अनिलसिंह बोहराले बताए । उनले पहिरो पन्छाउने काम भए पनि सडक भासिएको ठाउँमा सदस्य रहेको जानकारी दिए । तत्काल सडक सञ्चालन हुन नसक्ने भएकाले वैकल्पिक सडक प्रयोग गर्न नगरपालिकाले आग्रह गरेको छ । रासस


Author

थप समाचार
x