‘ईभिआरएस’ प्रणाली प्रभावकारी नहुँदा सेवाग्राही मारमा
सुदूरपश्चिम - यातायात व्यवस्था कार्यालय धनगढीले प्रयोगमा ल्याएको अनलाइन सवारी दर्ता प्रणाली (ईभिआरएस) माफर्त् गाडी नामसारी गर्न मनोज लामालाई एक हप्ता लाग्यो । सवारी साधन कारोबार गर्ने कम्पनीका प्रतिनिधि लामाले ईभिआरएसमा पूर्ण विवरण नदेखाउँदा गाडी नामसारी गर्न समय लागेको बताए ।
ईभिआरएसमा गाडीको ‘ब्लुबुक’मा सवारी धनी र आर्थिक लगानी गर्नेको नाम देखाए पनि ऋणीको नाम नदेखाउँदा सेवा प्रवाहमा हैरानी भएको कर्मचारी बताउँछन् । अर्का सेवाग्राही मनोज कार्कीले कम्युटरमा राजस्व तिरेकोसम्बन्धी पूरा विवरणसमेत नदेखाउने गरेको बताए ।
उक्त प्रणालीले पछिल्ला महिनामा यातायात व्यवस्था कार्यालय धनगढीका कर्मचारी र सेवाग्राही हैरान भएका छन् । ईभिआरएस प्रणाली पूर्ण नहुँदा सेवा प्रवाह प्रभावित भएको कार्यालय प्रमुख विनोद मालीले बताए । उनले भने, “यातायात व्यवस्था विभागले प्रयोगमा ल्याएको कम्प्युटर सफ्टवेयर अपूरो हुँदा कर्मचारी र सेवाग्राहीलाई समस्या भइरहेको छ, समस्या समाधानका लागि विभागमा लेखिपठाइएको भए पनि उताबाट सम्बन्धित जनशक्ति नभएको भन्ने जवाफ आएकाले समस्या समाधान हुनसकेको छैन ।”
गत वर्षदेखि धनगढी र कञ्चनपुरको महेन्द्रनगरस्थित यातायात कार्यालयबाट ईभिआरएस प्राणालीमार्फत् सेवा प्रवाह भइरहेको छ । बुटवल र नेपालगञ्जस्थित यातायात कार्यालयमा पनि सो प्रणाली लागू गरिएकामा समस्या देखिन थालेपछि बुटवल कार्यालयले पुरानै तरिकाबाट सेवा दिन थालेको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया