२५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका राना
अत्तरिया (कैलाली)- कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका हुन् ।
त्यसमध्ये एक हुन् कैलालीको धनगढी उपमहानगरपालिका–६ मटियारीका रामआश्रय राना । उनले तरकारी खेतीबाट वर्षमा रु तीन लाख ५० हजारसम्म आम्दानी हुने गरेको बताए । रानाले विगत २५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएको बताए ।
उनले ११ कठ्ठा जग्गामा तरकारी खेती गर्दै आएका छन् । “पाँच कठ्ठा जग्गामा आलु लगाउने गरेको छु । वर्षमा रु एक लाख पचास हजारको आलु मात्रै बिक्री गर्छु । गत वर्ष २५ क्विन्टल आलु बेचेको थिए । यसपटक पनि राम्रै उत्पादन हुने आशा छ”, रानाले भने,“छ जनाको परिवार छ । तरकारी खेतीबाट राम्रैसँग घर खर्च चल्छ । केही बचत पनि हुन्छ ।” उनले मौषमअनुसार तरकारी लगाउने गरेका छन् ।
सोही ठाउँका रामदिन रानाले व्यावसायिक तरकारी खेतीबाट वार्षिक दुई लाखभन्दा बढी आम्दानी हुने गरेको बताए । लामो समयदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका रानाले हाल करिब छ कठ्ठा जग्गामा तरकारी खेती गरेका छन् । “पाँच जनाको परिवार छ । तरकारी खेतीबाट घरखर्च राम्रैसँग चल्छ । मेहनत बढी भए पनि आम्दानी पनि राम्रै हुन्छ । पछिल्लो समय तरकारीको मूल्य राम्रै पाइरहेका छौँ” उनको भनाइ छ ।
सोही ठाउँकी अनोखा रानाले पनि व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गरिरहेको सुनाए । उनले एउटा ‘सिजन’मा रु एक लाखभन्दा बढी आम्दानी हुने गरेको बताए । “मैले पाँच कठ्ठा जग्गामा तरकारी लगाएकी छु, आम्दानी राम्रै हुन्छ । आम्दानीको अरु स्रोत नभए पनि यसैबाट घरखर्च, छोराछोरीको पठनपाठन र आवश्यक परेका बेला गर्जो टार्न सकिएको छ”, उनले भने ।
उत्पादन गर्न सके बजारको कुनै समस्या नरहेको किसानहरूको भनाइ छ । “आफूलाई पनि दैनिक उपभोग गर्न हुने, अरुलाई ताजा तरकारी दिएमा जस पनि मान्ने र त्यसैबाट आम्दानी पनि हुने । फेरि नजिकै बजार रहेकाले बेच्नलाई कुनै समस्या हुँदैन । बजार भाउ राम्रो भएका बेला त तरकारी बिक्रीबाट राम्रै आम्दानी हुन्छ । यसैमा खुसी छौँ”, यहाँका किसानले भन्ने गरेका छन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया