सुदूरपश्चिम

बाजुरामा राहत र पुनःस्थापना कायक्रम सञ्चालन गरिने

इकागज |
पुस ८, २०८१ सोमबार २१:२३ बजे

फाइल फाेटाे

सुदूरपश्चिम - सत्ता साझेदार दलको राजनीतिक संयन्त्रको आज धनगढीमा बसेको बैठकले बाजुरामा गएको भूकम्पबाट प्रभावितलाई राहत र पुनःस्थापना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ । 

बाजुराको गोत्री गाउँपालिका केन्द्रबिन्दु भएर गत शनिवार बिहान पाँच दशमलब दुई रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भुकम्पले स्थानीयवासीको घरमा क्षति पुगेको थियो । नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सुदूरपश्चिम प्रदेशस्तरीय संयन्त्रको उक्त पहिलो बैठकमा भूकम्प प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन समितिमार्फत राहत र पुनःस्थापनाका कार्यक्रम सञ्चालन गर्ने, संसदीय अभ्यासलाई प्रभावकारी बनाउन यथाशीघ्र गतिविधि अगाडि बढाउने, रिक्त राजनीतिक नियुक्तिहरुमा सहमति जुटाएर कार्यान्वयन गर्ने निर्णय भएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका प्रवक्ता सुरत रावतले जानकारी दिए ।


नेकपा एमालेका केन्द्रिय सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टको अध्यक्षतामा बसेको बैठकमा कांग्रेस प्रदेश समिति सभापति वीरबहादुर बलायर, एमालेका प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसी, मुख्यमन्त्री एवं काँग्रेसका नेता कमलबहादुर शाह, एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल, काँग्रेसका उपसभापति लोकराज अवस्थी सहभागी थिए । 


Author

थप समाचार
x