सुदूरपश्चिम

शवलाई दाहसंस्कारका लागि घाट पुर्‍याउने महाप्रस्थान यान

इकागज |
असार २५, २०७८ शुक्रबार १६:३१ बजे

कैलाली : कैलाली उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले रु ३० लाखको लागतमा निःशुल्क महाप्रस्थान यान सञ्चालनमा ल्याएका छन् । निःशुल्करुपमा सञ्चालनको जिम्मेवारी पाएका धनगढीका सामाजिक अगुवा शिद्धराज पनेरुलाई शुक्रबार उक्त यानको चाबी हस्तान्तरण गरिएको हो ।

धनगढीमा मानिसको स्वर्गारोहणपछि पार्थिव शरीरलाई सम्मानसहित दाहसंस्कारका लागि लैजानका लागि महाप्रस्थान यानको नाम दिएर उक्त यान सञ्चालनमा ल्याइएको व्यवसायी हमालले बताए । उनले भने,'यहाँ पार्थिव शरीर (शव) बोक्ने उपयुक्त वाहन नहुँदा मृतकका आफन्तजनले भोग्दै आएको समस्यालाई मध्यनजर गरि यान सञ्चालनमा ल्याइएको हो ।'


उक्त यान धनगढीवासीमा समर्पित हुने बताइएको छ । शव यात्राका लागि अधिकांशले गाडी दिनै नमान्ने समस्याका कारण पनि सम्मानसहित दाहसंस्कारका लागि लैजान सो यानको व्यवस्था गरिएको व्यवसायी हमालको भनाइ छ । यान हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वरजिष्टार तथा कैलाली बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख डा हेमराज पन्तले अभियन्ता हमालले महाप्रस्थान यान सञ्चालन गरेर निकै महत्वपूर्ण काम गरेको बताए । 

महाप्रस्थान यान धनगढी उपमहानगरपालिकास्थित मोहना नदी आर्यघाट, गोदावरी नदी आर्यघाट, खुटिया, कञ्चनपुरको महाकाली आर्यघाटसम्म सञ्चालन हुने बताइएको छ ।


Author

थप समाचार
x