सुदूरपश्चिम

महाकालीमा बाढी : दुई सय बढी घर डुबानमा

इकागज |
कात्तिक २, २०७८ मंगलबार ७:१० बजे

कैलाली- आइतबार साँझदेखि परेको अविरल वर्षाले महाकाली नदीमा आएको बाढीले तटिय क्षेत्र डुबानमा परेका छन् । भीमदत्त नगरपालिका ९ खल्ला, वडा नम्बर १२ ऐरी १३ को सोनापुर क्षेत्रमा स्थानीयको घरमा पानी पसेको छ ।

स्थानीयको उद्दारमा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । बेमौसमी बर्खाका कारण कात्तिक महिनामा महाकाली नदीमा अहिलेसम्मको उच्च बाढी आएको हो । महाकाली नदीमा मंगलबार बिहान ५ बजे ३ लाख ९१ हजार ३६४ क्युसेक पानीको वहाब मापन गरिएको छ ।


२०७० सालयता नदीमा यो उच्च वहाब हो । दार्चुला क्षेत्रमा अविरल पानी परिरहेकाले महाकाली नदीमा पानीको वहाब अझ बढ्न सक्ने भन्दै सतर्कता अपनाउन कञ्‍चनपुर प्रशासनले अनुरोध गरेको छ । 

त्यस्तै बाढीका कारण महाकाली पुल आयोजनाभित्रको भाइरल रोडले परिचित छ लेन कालोपत्र सडक समेत कटान हुन थालेको छ । 

पुल आयोजनादेखि करिब दुई सय मिटर उत्तरतर्फ रहेको बैजनाथ मन्दिर क्षेत्रमा रोड कटान सुरु गरेको महाकाली पुल आयोजना ईन्जिनियर किशोर पाण्डेले बताए । महाकालीमा पानीको वहाब अहिलेसम्मकै उच्च रहेको भन्दै पाण्डेयले वहाब कम नभए कालोपत्रे सडक पुरै भत्काउने अवस्थामा रहेको बताए । 

ईन्जिनियर पाण्डेले आयोजनाको अस्फाक प्लान्ट एरिया र क्याम्पमा समेत बाढी पसेको बताए । उनले क्याम्पमा रहेका सामाग्रीहरुलाई सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको बताए ।

यस्तै दोधाराचादनी नगरपालिका १० जोगबुढा नदी छेउमा रहेको कुतियाकवर सशस्त्र प्रहरीको अस्थायी क्याम्पमा बाढी पसेको छ । राति १ बजे नजिकैको हरिओम प्राथमिक विद्यालयमा प्रहरीलाई स्थानान्तरण गरे पनि त्यहा पनि बाढी पसेपछि प्रहरीकै बिचल्ली भएको छ ।

भिमदत्त नगरपालिका-१२ ऐरीघाट, ओदाली र वडा नम्बर १३ बढैपुर र पिपरैयाका करिब २ सय घर डुबानमा परेको ईलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब उपरीक्षक जीवन गुरुङले जानकारी दिए । उनले उद्दार गरिएकालाई जनता प्राथमिक विद्यालय  ऐरीघाटमा राखिएको बताए ।


Author

थप समाचार
x