सुदूरपश्चिम

कैलालीको पुर्वी क्षेत्र डुबानमा : बाँध फुटेर बस्तीमा पस्‍यो कर्णाली

इकागज |
कात्तिक ३, २०७८ बुधबार ६:५२ बजे

कैलाली- आइतबारदेखि परेको अविरल वर्षापछि कर्णाली नदीमा आएको बाढीले कैलालीको पुर्वी क्षेत्र डुबानमा परेको छ । डुबानबाट टीकापुर नगरपालिकाको अधिकांश भाग र जानकी गाउँपालिकाको केही भाग डुबानमा परेका छन् ।

कर्णाली नदीका बिभिन्‍न भागमा निर्माण गरिएको तटबन्ध भत्किनुका साथै रानी जमरा कुलरिया र ज्ञानी कुलोमा पानीको उच्च वहाब हुँदा टीकापुरका अधिकांश भाग डुबानमा परेका हुन् । ज्ञानी कुलो र जमरा कुलोमा पानीको वहाब उच्च हुँदा टीकापुरको ब्लक न ८ जलमग्न भएको छ । जमरा कुलोको पानीले टीकापुर बजार क्षेत्र पनि जलमग्न भएको छ ।


टीकापुर नगरपालिका-५ सिमरैनीमा कर्णालीको झन्डै १०० मिटर बाँध फुटेपछि कर्णाली नदी बस्ती र खेतमा पसेको छ । कर्णाली नदीको बाढीले शाहीपुर, बनगाउँ, धनसिंहपुर, सत्ती डुबानमा परेको छ । हुलाकी सडक र अरुणाफाँटा जलमग्न भएको छ । 

बनगाउँ र सति बजारसँग जोडिएको बर्दिया जोड्ने हुलाकी मार्ग कर्णाली नदीको बाढीले बगाउँदा बर्दियासँगको सडक सम्पर्क टुटेको छ ।  

टीकापुर वडा न २ बजार पनि जमराबाट पानी आएर भरिँदै छ । वडा नम्बर न ५,६,७,८,९ को अधिकांश खेतीयोग्य जमिन जलमग्न भएको छ । ब्लक न २० पनि जलमग्न भएको छ । ब्लक न १८, १९ र २० पनि डुबानमा परेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले कर्णाली नदीमा आएको बाढीले टीकापुर क्षेत्रका अधिकांश भागमा डुबानमा परेपनि मानवीय क्षति नभएको बताए । उनले कर्णाली नदीको वहाब कम हुँदै गएको बताउँदै हिजो १३ दशमलव १० मिटरसम्म पुगेको कर्णाली अहिले बिहान ६ बजे घटेर १२ दशमलव २० मिटरमा पुगेको बताए ।


Author

थप समाचार
x