सुदूरपश्चिम

ओली पक्ष अल्पमतमा

सुदूरपश्चिम सभामा दाहाल-नेपाल समूहसँग सुविधाजनक बहुमत

नवराज पनेरु |
पुस ६, २०७७ सोमबार १५:२४ बजे

धनगढी : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको तरंग प्रदेशमासमेत देखिन थालेको छ । प्रतिनिधि सभा विगटनको निर्णयप्रति प्रदेश सांसदहरूका धारणा बाझिन थालेका छन् । 

प्रधानमन्त्री ओली निकटका नेताहरूले बाध्यतात्मक अवस्थामा प्रतिनिधि सभा विघटन भएको दाबी गर्दै समर्थन गरिरहेका छन् भने इतरसमूहले असंवैधानिक कदमको संज्ञा दिएका छन् । संसद विघटनपछि प्रधानमन्त्री ओलीको समर्थनमा धनगढीमा युवा संघले प्रदेश स्तरीय भेला सम्पन्न गरेको छ भने अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्रीविरुद्ध नौ वटै जिल्लामा प्रदर्शन गरिरहेका छन् । 


संसद विघटन भएपछि प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू पनि आन्तरिक छलफलमा जुटेका छन् । मुख्यमन्त्री त्रिलोचन भट्ट र आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह भोलि पार्टीको केन्द्रीय समितिको बैठकमा सहभागी हुन काठमाडौँ जाने तयारीमा छन् । 

मुख्यमन्त्री भट्टले प्रतिनिधिसभा विघटन भएपछि मुलुक पुनः अस्थिरतातर्फ धकेलिने सम्भावना बढेको बताए । जनताले स्थिरताका लागि नै नेकपालाई मत दिएको बताउँदै उनले भने, ‘संसद विघटन हुनु भनेको जनमत विपरीतकोे कदम हो ।’ 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले पनि प्रधानमन्त्रीको कदम असंवैधानिक भएको बताए । प्रतिनिधिसभा विघटन भएपछि प्रदेशसभामा पनि जोडघटाउ गर्न थालिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली पक्ष भने सुदूरपश्चिममा कमजोर देखिएको छ । सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सदस्य रहेकोमा मुख्यमन्त्री भट्टसहित ३४ जना दाहाल–माधव समूहमा देखिएका छन् । नेकपा संसदीय दल सुदूरपश्चिमका नेता तथा मुख्यमन्त्री भट्ट, उपनेता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्ट, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरी, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, प्रमुख सचेतक तारा लामा तामाङ, सचेतक अक्कल बहादुर रावल सहितका सांसद प्रचण्ड– माधव समूह नजिक छन् । यो समूहमा  तटस्थ भूमिकामा रहेका सभामुख अर्जुन बहादुर थापा र उपसभामुख निर्मला जोशी बडाल पनि पर्छन् ।

आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरा तटस्थ देखिएका छन् । ओली समूहमा प्रष्टसंग खुलेका एक मन्त्रीसहित तीन जना सांसद मात्र छन् । भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरा, नेकपा कैलालीका अध्यक्ष तथा प्रदेश सांसद रतन थापा र प्रदेश सभा सदस्य नेपालु चौधरी ओली समूहका प्रष्टसंग खुलेका सांसद हुन् । प्रदेश सभा सदस्य कुन्ती जोशी र लिलाधर भट्ट पनि ओली नजिक मानिन्छन् ।


Author

थप समाचार
x