सुदूरपश्चिम

‘हेलिटुर’पछि खप्तडमा पर्यटक

इकागज |
फागुन ८, २०७८ आइतबार १२:५० बजे

कैलाली – कोरोनाका कारणले झण्डै लामो समयसम्म पर्यटकको चहलपहल शून्य रहेको खप्तडमा हेलिटुर पछि आन्तरिक पर्यटकको चहलपहल निकै बढेको छ। फागुन १ गतेदेखि सुरु भएको ’हेलि टुर’कै कारण सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको खप्तडमा पर्यटकको चहलपहल बढेको हो।

नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा सुदूरपश्चिमको खप्तड र बडिमालिका क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि फागुन १ गतेबाट ’हेलि टुर’ आयोजना भइरहेको छ। आर्थिक विकासका लागि आन्तरिक पर्यटनलाई चलायमान बनाउन आवश्यक रहेको भन्दै कोरोनाले सुस्ताएको पर्यटनलाई चलायमान बनाउन यो ’हेलि टुर’को आयोजना गरिएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिमका अध्यक्ष माया प्रकाश भट्टले बताए। 


केही दिन अघि मात्रै खप्तड बडिमालिका हेलिटुरमा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रीहरूले खप्तडको भ्रमण गरेको अध्यक्ष भट्टले बताए। उनले प्रदेशका अर्थमन्त्री तारालामा तामाङ र भौतिक पूर्वाधार मन्त्री दीर्घ सोराडी लगायतले भ्रमण गरेको बताए। 

१० दिनमा कम्तीमा पनि ३५० जना आन्तरिक पर्यटकलाई खप्तड र बडिमालिका भ्रमण अवलोकन गराउने लक्ष्य अनुरुप अहिलेसम्म १२८ जनाले भ्रमण गरेको खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्सका प्रबन्ध निर्देशक दीपकबहादुर खड्काले बताए।

पहिलो चरणमा विभिन्न प्याकेजसहित खप्तड दिपायल, झिग्राना खप्तड, धनगढी र महेन्द्रनगर देखि झिग्राना, दिपायल बडिमालिका, दिपायल खप्तड बडिमालिका र साँफेबगर बडिमालिका लगायत स्थानबाट अवलोकन गर्न जाने व्यवस्था मिलाइएको खप्तड होमस्टे झिग्राना तथा खप्तड एडभेन्चर टुर्सका प्रबन्ध निर्देशक खड्काले बताए।

स्थानको हिसाबले १२ हजारदेखि ४० हजारसम्मका प्याकेजहरू उपलब्ध गराइएको छ । खप्तडमा आज पुनः हिउँ परिरहेका कारण आजको केही उडानहरु प्रभावित भएको बताउदै निर्देशक खडकाले हिउँमा रमाउन चाहनेहरुले अझै केही दिन हिउँमा रमाउन सक्ने बताए। 

खप्तड राष्ट्रिय निकुञ्जका वार्डेन गोपाल घिमिरेले हेलिकप्टरबाट मात्रै नभएर खप्तड घुम्न आउनेहरू पैदलमार्ग भएर पनि आउने गरेको बताए । उनले अघिल्लो महिना मात्रै तीन जना बिदेशी पर्यटकले खप्तडको भ्रमण गरेको बताए।


Author

थप समाचार
x