सुदूरपश्चिम

धनगढीमा ‘नमस्ते मेयर’ माेबाइल एपकाे सुरुवात

इकागज |
फागुन १३, २०७८ शुक्रबार १६:२१ बजे

कैलाली - संयुक्त राष्ट्र विकास कार्यक्रम (युएनडीपी) र धनगढी उपमहानगरपालिकाको संयूक्त आयोजनामा "नमस्ते मेयर" मोबाइल एपको शुभारम्भ गरिएको छ। युएनडीपीको सस्थागत सुधारमार्फत न्यायमा पहुँच परियोजना अन्तर्गत सञ्चालित कार्यक्रम अनुरुप मोबाइल एपको धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वड र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सह-सचीव फणिन्द्र गौतमले संयूक्त रुपमा सार्वजनिक गरेका छन्।

एप सार्वजनिक गर्दै सह-सचिव गौतमले एपको प्रभावकारिताबारे आम नागरिकलाई ढुक्क हुने गरी काम गर्नु आजको आवश्यकता भएको बताए। उनले गुनासो सुन्ने मात्रै नभएर गुनासोको सुनवाइसमेत गर्न आग्रह गरे। धनगढी उपमहानगरपालिकाका मेयर वडले एप मार्फत उपमहानगरपालिकाका सम्पूर्ण जानकारी लिन सकिने बताए।


उनले आम नागरिकलाई जायज गुनासा, सल्लाह र सुझाव दिन आग्रह गरे। जन चाहना अनुरुप आएका जायज गुनासाहरुलाई तत्काल समाधान गर्ने तर्फ उपमहानगरपालिका सदैव तयार अवस्थामा रहेको मेयर वडले बताए। कार्यक्रममा मेयर वडले उपमहानगरपालिकाले सम्बोधन गर्न नसक्ने कामका लागि प्रदेश सरकार र केन्द्र सरकार संग समन्वय गरेर सम्बोधन गरिने बताए।

लोगो सार्वजनिकसँगै हस्ताक्षरित सम्झौता पत्र समेत आदानप्रदान गरिएको थियो। सार्वजनिक गरिएको एप छिट्टै प्ले स्टोरबाट डाउनलोड गर्न सकिने जनाइएको छ।

के छ एपमा ?

नगर भित्रका समस्या र गुनासाका साथै उपनगरपालिकाले दिइने सेवा सुविधाका बारेमा समेत जानकारी लिन सकिने छ। त्यस्तै एप मार्फत गुनासो गर्ने व्यक्तिकाे   गोपनियता समेत रहने यो एपमा गुनासो गर्ने व्यक्तिकाे तत्काल सम्बन्धित फाँटमा पुर्‍याएर सम्बोधन गरिने छ।


Author

थप समाचार
x