कैलाली कांग्रेस सभापतिका लागि पुनः मतदान हुने, शेखर समूह निर्णायक
फाइल तस्बिर
कैलाली - नेपाली कांग्रेस कैलालीको १४औं महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिले सभापति पदका आकांक्षी नारायणदत्त भट्टको प्यानललाई आधिकारिता दिएपनि पहिलो चरणमा कसैको पनि ५१ प्रतिशत मत नआउँदा दोश्रो चरणको मतदान भोलि अर्थात बिहीबार हुदैछ ।
केन्द्रीय सदस्यको समर्थन रहेको भट्टको नेतृत्वमा खडा भएको प्यानल चुनावी मैदानमा होमिएको थियो । आइतबार सम्पन्न मतदानको सोमबार साँझ मतपरिणाम सार्वजनिक भएसंगै ती केन्द्रीय सदस्यहरूबीच खैलाबैला मच्चिएको छ ।
कुल दुई हजार पाँच सय ८६ जना मतदाता रहेको जिल्लामा दुई हजार पाँच सय ७६ मत खसेको थियो । सो मतपरिणाम अनुसार सभापतिमा संस्थापन पक्षका मानिएका प्रकाश बमले एक हजार एक सय ६९ मत प्राप्त गरे भने पार्टीको आधिकारिक सभापति घोषणा गरिएका भट्टले एक हजार ७२ मत प्राप्त गरेका थिए । उता संस्थापनइतरका सभापतिका उम्मेदवार रामबहादुर कलेलले एक सय ९७ मत प्राप्त गरेका थिए । कुल मतमध्ये ४८ मत बदर भएको छ ।
उम्मेदवार भट्टले पहिलो चरणमै ५१ प्रतिशत मत प्राप्त गर्ने विश्वास केन्द्रीय सदस्यहरूले केन्द्र तहमा दिलाएका थिए । तर, बम भन्दापनि भट्टको पक्षमा कम मत आएपछि केन्द्रीय तहबाट झाको झार्ने काम भएको बताइएको छ ।
यता बमको पक्षमा पार्टीका निवर्तमान सभापति तथा वर्तमान प्रदेश महामन्त्री नरनारायण शाह (मनु)को समर्थन रहेको थियो । मनु एक्लैलै बमका पक्षमा यतिधेरै मत दिलाएपछि कार्यकर्ताहरुमा शाहले पार्टी सभापति भएर कांग्रेस कैलालीलाई एकढिक्का बनाउने प्रयास गरेको भन्दै चर्चा हुन थालेको छ ।
पार्टीको पहिलो चरणको मतपरिणाम हेर्दा केन्द्रको राजनीतिदेखि जिल्लाका कार्यकर्ताहरू रुष्टजस्तै देखिएको छ । पार्टीमा व्यक्तिवाद हाबी हुँदै गएको, चुनाव महँगो बन्दै जानु, पार्टीमा लामो समय योग्दान पुर्याएकाहरुको अपहेलना हुनु, निमुखा कार्यकर्ताहरूको पहुँच बन्न नसक्नु लगायतका कारण पार्टीभित्रका कार्यकर्ताहरूमा रुष्टता बढ्दै गएको देखिन्छ ।
शेखर समूह निर्णायक
नेपाली कांग्रेस कैलालीको नयाँ नेतृत्वका लागि डा. शेखर कोइराला समूह निर्णायक बनेको छ । पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत नपाएपछि दोस्रो चरणमा प्रवेश गरेको निर्वाचनमा सो समुह निर्णायक बनेको हो ।
अब दोस्रो चरणको निर्वाचनमा बढी मतदाता रहेका सो समूहका नेता स–सम्मान साथ उचित पद दिनेलाई समर्थन गर्ने गरी वार्तामा छन् ।
निर्वाचन बिहीबार बिहान १० बजेदेखि कैलाली उद्योग बाणिज्य संघको सभाहलमा हुने निर्वाचन अधिकृत टेक प्रसाद सुबेदीले बताए । उनले मतदान गर्न आउदा नागरिकता लिएर आउन सबै मतदाताहरुलाई आग्रह गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया