सुदूरपश्चिम स्पोर्टस अवार्डको दोस्रो संस्करण चैतमा
धनगढी : सुदूरपश्चिम स्पोर्टस अवार्डको दोस्रो संस्करण चैत ६ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आईतबार धनगढीमा पत्रकार सम्मेलन गर्दै अवार्डको दोस्रो संस्करण चैतमा हुने जानकारी दिएको हो ।
गत वर्ष पुस १५ गते प्रथम सुदूरपश्चिम स्पोर्टस अवार्ड भएकोमा यस वर्ष कोरोना संक्रमणका कारण निर्धारित समयभन्दा केही ढिलो गरी अवार्ड आयोजनाको तयारी थालिएको मञ्चका अध्यक्ष सीताराम ओझाले जानकारी दिए । उनले भने, ‘सुदूरपश्चिम स्पोर्टस अवार्डले खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी, प्रशिक्षक र खेलकर्मीहरुलाई उत्प्रेरण प्रदान गर्नेछ ।’
२०७६ सालभर उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ९ विधामा अवार्ड दिइने संयोजक तथा मञ्चका महासचिव प्रदिप पाठकले जानकारी दिए । उनका अनुसार गत वर्ष ६ विधामा अवार्ड दिइएकोमा यसवर्ष तीन विधा थपिएको छ । पिपल्स च्वाईस, सुदूरपश्चिम आईकन महिला र पुरुष विधा यसवर्षदेखि थप गरिएका हुन् ।
अघिल्लो वर्ष जस्तै यस वर्ष पनि उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्डहरू पनि छन् । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाइम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ ।
यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया