खप्तड ‘हेली टुर’ सुरु, मुख्यमन्त्रीसहित तीन मन्त्री पनि पुगे
धनगढी : सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक पर्यटकीय स्थल खप्तड घुम्न ‘हेली टुर’ सुरु भएको छ । खप्तडको प्रवेशद्वार झिग्रानामा रहेको ‘खप्तड होमस्टे’को आयोजनामा ‘हेली टुर’ सुरु भएको हो ।
आज पहिलो दिन सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशबहादुर शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माया भट्टसहित झण्डै २० जना खप्तडमा पुगेका छन् । खप्तड होमस्टेका सञ्चालक दीपकबहादुर खड्काले हिउँदे यामको दृश्य कैद गर्न इच्छुकहरूका लागि ‘हेली टुर’ सुरु गरिएको जानकारी दिए ।
खड्काले हेलिकोप्टरमार्फत खप्तड घुम्नका लागि पाँच किसिमका प्याकेज रहेको बताए । धनगढी, दिपायल, झिग्राना, बझाङ र अछामबाट खप्तड घुम्नका लागि छुट्टाछुट्टै प्याकेज ल्याइएको छ ।
‘हेली टुर प्याकेज’१८ गतेसम्म रहनेछ । ‘प्याकेजमा दुईतर्फी हेली टिकट हुन्छ’, खड्काले भने, ‘पर्यटकलाई खप्तडमा घुम्न र फोटो खिच्न कम्तीमा आधा घण्टाको समय दिइनेछ ।’
पाँच दिनमा ३ सय पर्यटकलाई खप्तड पुर्याउने योजना रहेको उनले उल्लेख गरे । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा ठूलाठूला पाटन र डाँडा छन् । खप्तड जैविक विविधताको अनुपम भण्डार पनि हो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया