पोल ठड्याएको ९ वर्षपछि बल्यो बत्ती
काठमाडौं : कैलालीको मोहन्याल गाउँपालिका-३ फलेबिसौनामा विद्युत पुगेको छ । पोल गाडेको ९ वर्षपछि गाउँमा विद्युत पुगेको वडाध्यक्ष नन्दराम गिरीले जानकारी दिए । उनकाअनुसार शनिबार १० घरमा मिटर जडान गरेर बत्ती बालिएको छ । विद्युत प्राधिकरण टीकापुर वितरण केन्द्र प्रमुख खगेन्द्र भण्डारी, लम्की यूनिट इन्चार्ज दिपक जोशी र वडाध्यक्ष गिरीले संयुक्त रूपमा स्वीच अन गरेर बत्ती बालेका हुन् ।
करिब ६५० घरधुरी रहेको गाउँमा मिटर जडानको काम भइरहेको गिरीले बताए । अहिले मिटर जडानका लागि फर्म संकलनको काम जारी रहेको उनको भनाइ छ । उपभोक्ताको सहजताका लागि वडा कार्यालयले नै फर्म संकलन गरिरहेको उनले बताए ।
गाउँकै कतिपय ठाउँमा पोल विस्तारको काम बाँकी रहेको भन्दै त्यो काम पनि यसै वर्षभित्र पूरा हुने वडाध्यक्ष गिरीले बताए । ‘केही ठाउँमा पोल गाड्न बाँकी छ । त्यहाँ यही आर्थिक वर्षको कार्यक्रमभित्र राखेर काम सम्पन्न हुन्छ,’ उनले भने, ‘ टीकापुर वितरण प्रमुखले पनि फिल्ड भिजिटका क्रममा यही वर्षमा विस्तारको काम गराउछौं भन्नुभएको छ ।’
टीकापुर वितरण केन्द्र प्रमुख खगेन्द्र भण्डारीले पनि विस्तारको काम सकेसम्म यहि वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बताए । ‘गाउँकै कतिपय ठाउँमा पोल गाड्न बाँकी रहेछ,’ उनले भने, सकेसम्म यही वर्ष विस्तारको काम सक्ने योजना छ ।’
अहिले फर्म संलनको काम भइरहेको भन्दै उपभोक्ताले सहज रूपमा मिटर पाउने उनको भनाइ छ । ‘मागअनुसार मिटर उपलब्ध गराउन सकिन्छ,’ उनले भने,‘ उपलब्ध गराइ रहेका छौं । अपुग भएको अवस्थामा अत्तरीयाबाट ल्याएर भए पनि माग पूर्ति गर्छौ ।’
गाउँमा बिजुलीबत्तीको पहुँच पुगेपछि स्थानीयवासी खुसी भएका छन् । विद्युतको सुविधा नहुँदा स्थानीयले लामो समयदेखि वैकल्पिक उर्जाको स्रोत सोलारबत्ती उपयोग गर्दै आइहेका थिए । कतिपय स्थानीय भने अध्यारोमै बस्न बाध्य थिए ।
गाउँमा विद्युत सुविधा पुर्याउन ९ वर्षअघि पोल गाडिएको भए पनि वन क्षेत्रमा पर्ने रुख कटानी आदेश नहुँदा लाइन विस्तारको कार्य प्रभावित हुँदै आएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया