सुदूरपश्चिम

भागरथी हत्या प्रकरण

शव सुरक्षित राख्‍न समस्या, कर्मचारी र शिक्षक पनि शंकाको घेरामा

नवराज पनेरु |
फागुन २, २०७७ आइतबार १२:४६ बजे

धनगढी : बैतडीको दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको ११ दिन बितिसक्दा पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन् । माघ २१ गते विद्यालय गएकी भागरथीको शव २२ गते लवलेक सामुदायिक वनमा भेटिएको थियो ।

मृतका परिवारले घटनामा संलग्‍न पक्राउ नपरेसम्म शव नबुझ्‍ने अडान लिएपछि शव सुरक्षित राख्‍न समस्या हुन थालेको छ । शव सुरक्षित राख्न मिल्ने ‘मर्सरी बक्स’ नभएका कारण गन्हाउन थालेको जिल्ला अस्पतालका डा. वसन्त जोशीले बताए । ‘हत्या भएको तेस्रो दिन जिल्ला अस्पताल बैतडी पुर्‍याइएको भागरथीको शव भोलिपल्ट पोष्टमार्टम गरेका थियौँ,’ डा. जोशीले भने, ‘ अस्पतालले विभिन्‍न उपाय अपनाएर शव जोगाउने प्रयास गरेको छ। डिपफ्रिजमा आइस बनाएर काठको बाकसभित्र राख्दै शव चिस्याइरहेका छौँ । यसरी थप ३/४ दिलन पनि शव सुरक्षित राख्‍न समस्या हुने देखिन्छ ।’


सरकारी कर्मचारी र शिक्षक पनि शंकाको घेरामा
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले भागरथी हत्या प्रकरणमा अपराधीको धेरै नजिक पुगिसकेको दाबी गरेका छन् । उनले भने, ‘अपराधीको नजिकै पुगिसकेका छौँ । केही भेरिफाई हुँदैंछ । चाँडै नै दोषीलाई कारबाहीको दायरामा ल्याउँछौ ।’ उनले यसै साताभित्र दोषीलाई सार्वजनिक गर्ने तयारी भएको बताए । 

स्रोतकाअनुसार प्रहरीले सम्‍भावित व्यक्तिहरूको सूची बनाएको छ । सम्भावित अपराधीको सूचीमा सरकारी कर्मचारी, शिक्षक, भागरथीका परिचित अन्य व्यक्ति रहेको स्रोतको दाबी छ । 

विभिन्‍न तथ्य र सूचनाका आधारमा डेढ दर्जन बढी व्यक्तिसँग सोधपुछ गरेको प्रहरीले अहिले उनीहरूको बयान भेरिफाई गरिरहेको छ । २१ मघमा विद्यालय गएकी भागरथीको दोस्रो दिन गाउँ नजिकैको लवलेक सामुदायिक वनमा शव फेला परेको थियो । पोष्टमार्टम रिपोर्टबाट भागरथीको बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको थियो ।


Author

थप समाचार
x