सुदूरपश्चिम

यसवर्ष सुदूरपश्चिममा धान उत्पादन बढ्ने

इकागज |
असोज २४, २०७७ शनिबार १३:५२ बजे

धनगढीः सुदूरपश्चिम प्रदेशमा यसवर्ष धानको उत्पादन बढ्ने आकलन सरकारले गरेको छ । पर्याप्त वर्षा र अनुकूल मौसमका कारण धान उत्पादन बढ्ने आकलन गरिएको प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता एवं वरिष्ठ कृषि प्रसार अधिकृत गोकुलप्रसाद बोहराले बताए । 

गत वर्ष भन्दा धान उत्पादन केही बढ्ने आकलन गरिएपनि एकिन तथ्यांक आउन बाँकी रहेको बोहराले बताए । बाढी, पहिरो, डुबानको समस्या र रोग किराको समस्या देखिएका क्षेत्रमा उत्पादन घट्ने देखिएपनि समग्रमा प्रदेशभरी पाँचदेखि दश प्रतिशत वृद्धि हुने अनुमान रहेको बोहराले जानकारी दिए । 


क्षेत्रीय कृषि विकास निर्देशनालयले प्रदेशमा कुल एक लाख ८१ हजार ३९६ हेक्टर जग्गामा धानखेती हुने तथ्यांक राखेको छ । धान कैलाली  कञ्चनपुरमा धेरै खेती गरिन्छ । कैलालीमा ७२ हजार ५०० हेक्टर र कञ्चनपुरमा ४८ हजार ४९० हेक्टर जग्गामा धानखेती हुन्छ ।

पहाडी क्षेत्रका डोटी, डडलेधुरा, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डडेलधुरामा गरी झण्डै ६० हजार ४०६ हेक्टरमा धानखेती हुन्छ । जिल्लागत रुपमा सबै भन्दा बढी धान उत्पादन कैलालीमा तीन लाख तीन हजार ६९५ मेट्रिक टन हुने गरेको छ ।

प्रदेशको खेतीयोग्य जमिनको ५४ प्रतिशत जग्गामा सिँचाइको सुविधा रहेको र बाँकीमा आकासे पानीका भरमा खेती हुने निर्देशनलायले जानकारी दिएको छ । प्रदेशका अधिकांश जिल्लामा चाड पर्वको समयमा नयाँ धानको चामल पिँधेर बनाइने पिठोबाट न्वागी, माणा, सिरौला, ढिक्रीजस्ता स्थानीय खानाका परिकार पकाएर खाइन्छ । 
 


Author

थप समाचार
x