आफन्तले बुझे भट्टराईको शव
बैतडी : जोरायल गाउँपालिका-२ बुडर बजार नजिकै रहेको जोगबुढा जाने सडकखण्डमा मृतावस्थामा फेला परेका २७ वर्षीय शिक्षक डम्बर भट्टराईको शव एक हप्तापछि बल्ल आफन्तले बुझेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका मुद्दाफाँटका प्रहरी निरीक्षक कान्तिराज जोशीले घटनाको विस्तृतरुपमा अनुसन्धान भइरहेको र अनुसन्धान जारी रहने सहमतिपछि आफन्तले शब बुझेका हुन् ।
मृतकका घरपरिवार तथा आफन्तले घटना शङ्कास्पद रहेको भन्दै पूर्ण अनुसन्धानपछि मात्र शव बुझ्ने अडान राखे पनि प्रहरीले अनुसन्धान जारी राख्ने वचन दिएपछि बल्ल आएर आफन्तले शव बुझेका हुन् ।
मृतकको शव डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालको शवगृहमा सात दिनदेखि राखिएको थियो । शव बुझेसँगै मृतकको दाहसंस्कार पनि गरिएको डोटी प्रहरीले जनाएको छ ।
अस्पतालमा गरिएको शवपरीक्षण रिपोर्टबाट कुनै पनि कुरा नदेखिएपछि भिसेरा परीक्षणका लागि अहिले मृतकको नमूना काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । मृतक शिक्षक भट्टराई बैतडीको पाटन नगरपालिका-१ सकार पलेटा निवासी हुन् । उनी विगत १० वर्षदेखि भूमिराज केदार आधारभूत विद्यालय बस्यानी डोटीमा अध्यापन गराउँदै आएका थिए । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया