सुदूरपश्चिम

गाउँघरमा अर्को विकृति : बिहेभोजका नाममा रातभर 'डीजे', सुत्केरी र विद्यार्थीलाई सास्ती

इकागज |
चैत १, २०७७ आइतबार ९:१० बजे

दृष्टान्त १

टीकापुर नगरपालिका–५ बस्ने सन्ध्या चौधरी सुत्केरी भएको सात दिन भएको थियो । त्यसैबेला उनको छिमेकमा विवाह थियो । छिमेकमा चार दिनसम्म डिजे बजाइयो । भर्खरै सुत्केरी भएकी सन्ध्यालाई निकै तनाव भयो । उनले रातिको समयमा राम्ररी सुत्न पाइनन् । साथै भर्खर जन्मिएको बच्चालाई पनि समस्या भयो । 'सुत्केरी अवस्थामा पर्याप्त आराम चाहिन्छ, छिमेकमा विवाह थियो, नबजाउनु भन्न सकिएन,' सन्ध्या भन्छिन्,'रातभर सुत्न सकिएन, बच्चा पनि ठूलो आवाजले होला तर्सन थालेको छ, बाजाले कस्तो असर पार्छ भन्ने बल्ल बुझेकी छु ।'


दृष्टान्त २

जानकी गाउँपालिकाका ७६ वर्षे रुपराम कामीलाई पनि रातभर गाउँमा बजाइने डिजेको असर निकै पर्छ । उनको गाउँमा पनि विवाह तथा भोजमा मात्र होइन, कसैको जन्मदिन भएमा पनि रातभर ठूलो स्वरमा बाजा बजाइने गरिन्छ । 'म बूढो मानिस गाउँमा रातभर बाजागाजा बजाएमा सुत्न सकिँदैन, मलाई उच्च रक्तचापको समस्या छ, रातभरि नसुत्दा स्वास्थ्यमा असर पर्छ,' उनले भने,'मैले त अत्ति भएपछि गाउँपालिकामा गएर वडाध्यक्षलाई रोक्न आग्रह गरे तर गाउँका मानिस अटेरी हुने रहेछन्, अहिले पनि यस्तै छ ।'

दृष्टान्त ३

रातिको समयमा ठूलो स्वरमा बाजागाजा बजाउँदा विद्यालय पढ्ने बालबालिकालाई बढी समस्या हुने गरेको छ । रातिको समयमा बाजाको आवाजले बालबालिकाले पढ्न नपाउने, निद्रा पूरा नहुँदा भोलिपल्टको पढाइमा असर पर्ने गरेको छ । विद्यार्थी सुलभ साउदले गाउँमा बजाइने डिजेका कारण आफूलाई बढी असर परेको बताए । 'ठूलो आवाजमा गाउँ नै थर्किने गरी बाजा बजाउँदा पढाइमा मन जाँदैन', उनी भन्छन्, 'सरकारले यसलाई रोक्नपर्छ, निश्चित समय तोक्नुपर्छ ।'

बिहेभोजका नाममा विकृति

गाउँघरमा विवाह तथा भोजका नाममा रातभरी बजाइने बाजा तथा 'डिजे'ले नागरिक दिक्क भएका छन् । विवाह तथा भोजका नाममा बजाइने बाजा-गाजाले आम नागरिकलाई पर्ने असर दुईवटा दृष्टान्तले देखाइसके।

अरुलाई असर हुने गरी बाजा बजाएमा टीकापुर प्रहरीले सम्झाउने र बाजा बजाउने काम बन्द गर्न लगाउने इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बम बताउँछन् ।

'कहिलेकाहीँ हामीलाई रातभर सुत्न पाइएन भनी छिमेकीले नै फोन गर्ने पनि गर्नुभएको छ, हामीले रातिको समयमा अरुको निद्रामा असर पार्ने गरी नबजाउन आग्रह गर्ने, बन्द गर्न लगाउने गरिरहेका छौँ,' प्रहरी निरीक्षक बल भन्छन्, 'गाउँमा देखिने यस्ता समस्या समाधानका लागि हामीले बस्तीस्तरमा स्थानीयवासीकै सक्रियतामा सुरक्षा समिति गठन गरेका छौँ, समितिले अब समुदायका यस्ता समस्या हल गर्नेछन् ।'

जानकी गाउँपालिकाले भने सार्वजनिक सूचना जारी गरेर रातिको १० बजेपछि बाजा बजाउन रोक लगाएको छ । गाउँपालिकाले राति १० बजेपछि बाजा बजाउन नपाइने सहमति गरेर सबै वडामा निर्देशन दिएको वडा नं १ का वडाध्यक्ष धनीराम चौधरी बताउँछन् ।

'हामीले गाउँका बडघर तथा अगुवा नागरिकलाई भेला गरेर रातिको समयमा अरुलाई असर पार्ने गरी बाजा नबजाउने विषयमा छलफल र सहमति गरेका छौँ”, उनी भन्छन्,'तर नागरिकले अटेरी गर्दा डिजे आतङ्क नियन्त्रण गर्न सकिएको छैन ।' रासस


Author

थप समाचार
x