मनाङलाई खप्तड गोल्डकपकाे उपाधि
कैलाली - मनाङ मर्स्याङ्दी क्लबले सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
धनगढी रंगशालामा शनिबार भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३-१ गोल अन्तरले हराउँदै मनाङ च्याम्पियन बनेको हो । मनाङले दोस्रो पटक खप्तड गोल्डकपको उपाधि जितेको हो ।
मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक एक गोल गरे । फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोईसले एक गोल फर्काए । खेलको २२ औं मिनेटमा दिनेशले फ्रि-किकबाट गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५१ औं मिनेटमा जमोउलले गोल गर्दै फ्रेन्ड्सलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ७२ औं मिनेटमा आफिजले गोल गर्दै मनाङलाई २-१ को अग्रता दिलाए ।
खेलको ८६ औं मिनेटमा मनाङका रुपेश केसी र फ्रेन्ड्सका श्यामबाबु क्याप्छाकीले रातो कार्ड पाएपछि दुबै टोली १० खेलाडीमा समेटिएको थियो । त्यसपछि खेलको इन्जुरी समयमा मौसाले गोल गर्दै मनाङलाई ३-१ को जित दिलाए । उपाधिसँगै मनाङले २१ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको फ्रेन्ड्सले १० लाख नगद प्राप्त गरेको छ । सुदुरपश्चिम-११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया