सुदूरपश्चिममा छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु
कैलाली- होलीमा सुदूरपश्चिममा भएका छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कैलालीमा दुई, डोटी, अछाम र बझाङमा एक-एक जना गरी पाँच जनाको मृत्यु भएको हो ।
शुक्रबार कैलालीको टीकापुर नगरपालिका ४ असनेरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा १७ वर्षीय अन्जील कार्की र प्रजापति चौधरीको मृत्यु हो । से ३ प ९७४६ र लु ७४ प ४०७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा अन्जीलको टीकापुरमै र प्रजापतिको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
यस्तै शुक्रबार नै बझाङको बुंगल नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुंगल नगरपालिका–६ झापाबाट वडानम्बर ४ विजगडामा जाने क्रममा सु.प्र.प.०१–०१०– प ७०९० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा बुंगल नगरपालिका–५ मिडीका २५ वर्षीय सुरेश कुँवरको मृत्यु भएको हो । कुँवर रेडियो सेरोफेरो बझाङमा कार्यरत थिए ।
यस्तै डोटीमा ट्याक्टरको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आदर्श गाउँपालिका-२ साउद काँडाका दुरज साउद रहेको प्रहरीले जनाएको छ । बालकलाई शुक्रबार सुपप्र ०१००२ त ६५४२ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।
यसैगरी बिहीबार मंगलसेनबाट साफेबगर जाने क्रममा मंगलसेन साँफेबगर सडक खण्ड अन्तरगत कैलाशखोला नजिक ओलीगाउँ जाने सडकमा मोटरसाइकल दुर्घटनामा परेको हो । से ६प१८९९ नम्बरको दुर्घटनामा परि मङ्गला नेरा मावि ओलीगाउँका लेखापाल माधव शर्माको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया