सुदूरपश्चिम

मुख्यमन्त्री कप : सेमिफाइनल समीकरण पूरा

इकागज |
चैत १०, २०७८ बिहीबार १८:१२ बजे

कैलाली– कैलालीको धनगढीमा जारी दोश्रो ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को सेमिफाइनल समीकरण पूरा भएको छ।  बिहीबार क्वाटरफाइनलका दुई खेल भएसँगै सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको हो।

विभागीय टोली एपीएफ र घरेलु टोली सुदूरपश्चिमबीच बिहीबार भएको क्वाटरफाइनलको खेलमा एपीएफ विजयी भएको छ। सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै एपीएफले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो। एपीएफले सुदूरपश्चिमलाई २५–१३, २५–२० र २५–१२ को सेटले पराजित गरेको हो। खेलका म्यान अफ द म्याच एपीएफका टेकराज अवस्थी भए । 


बिहीबार नै भएको अन्तिम क्वाटरफाइनलको खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। गण्डकीले बागमतीलाई २५–१५, २५–१४ र २५–१८ को सेटले पराजित गरेको हो। खेलका म्यान अफ द म्याच गण्डकी प्रदेशका हरि पाण्डेय भए । 

शुक्रबार सेमिफाइनलका दुई खेल हुनेछन्। फाइनल प्रवेशका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ तथा नेपाल पुलिस क्लब र गण्डकीबीच खेल हुने आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ । 

चैत १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने छ। प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय नगद पुरस्कृत गरिने छ।
 


Author

थप समाचार
x