रात्रिकालीन महिला गोल्डकप : पुलिसको विजयी सुरुवात
कैलाली – धनगढी रंगशालामा पहिलोपटक रात्रिकालीन महिला गोल्डकप शुरु भएको छ । वनदेवी युवा क्लबको आयोजनमा सुरु भएको प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ ।
शनिबार राति भएको खेलमा चन्द्रपुर नगरपालिका रौतहटलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा रहँदा दोस्रो हाफको ५९औँ मिनेटमा पुलिसकी रेखा पौडेलले गोल गर्दै अग्रता दिलाइन् ।
निर्धारित ९० मिनेटको खेलमा चन्द्रपुरका तर्फबाट कुनै पनि गोल हुन नसकेपछि रेखाको गोल नै निर्णायक गोल बन्यो ।
वैशाख १० गतेसम्म सञ्चालन हुने गोल्डकपमा ३ विभागीयसहित ८ टिमको सहभागिता रहेको छ। गोल्डकपको विजयी टिमले ट्रफीसहित नगद ५ लाख र उपविजेताले ट्रफीसहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्ने छ।
प्रतियोगितामा म्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए। धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालिन प्रतियोगिता आयोजना गरिएको हो । यसअघि प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले गरेका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया