सुदूरपश्चिम

एपिएफलाई हराउँदै विवाइसी महिला गोल्डकपको उपाधि पुलिसलाई

इकागज |
बैशाख ११, २०७९ आइतबार ६:३५ बजे

कैलाली- नेपाल पुलिस क्लबले कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाईनलमा विभागीय नेपाल एपिएफ क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले उपाधि जितेको हो । 

वनदेवी युवा क्लबको आयोजना भएको प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस फुटबल क्लबले सशस्त्र प्रहरी बलको एपिएफको दबदबा तोड्दै प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप प्रतियोगिताको उपाधि जितेको हो । फाइनलमा एपिएफलाई १–० ले पराजित गर्दै पुलिसले उपाधि चुमेको हो ।


पुलिसको जितमा निर्मला विकले इन्जुरी समयमा निर्णायक गोल गरिन् । उनी फाइनलको प्लेयर अफ द म्याच पनि भइन् । उपाधिसँगै पुलिसले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै, उपविजेतामा सीमित एपिएफले दुई लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगितामा नेपाल पुलिस क्लबकी निर्मला विक सर्वोकृष्ट खेलाडी भइन् ।

उनले नगद ५० हजारसहित ट्रफी प्राप्त गरिन् । प्रतियोगिताका अधिकांश विधामा पुलिसकै दबदबा रह्यो । पुलिसकी पुजा राना उत्कृष्ट रक्षक, उषा नाथ उत्कृष्ट गोलरक्षक र सन्जिव जोशी उत्कृष्ट प्रशिक्षक भए । एपिएफकी सावित्रा भण्डारी सर्वाधिक गोलकर्ता र सरु लिम्बु उत्कृष्ट मिडफिल्डर भइन् । उनीहरूले जनही १० हजारसहित ट्रफी पाएका छन् । 

विजयी खेलाडीहरूलाई एक कार्यक्रमबीच पुरस्कार वितरण गरिएको छ । वनदेवी युवा क्लब अध्यक्ष सुसन जोशीको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री दिर्घबहादुर सोडारी रहेका थिए ।

विजयी खेलाडीहरूलाई सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश रावल, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्‌का सदस्य सचिव दिपकबहादुर सिंह, ओलम्पियन दिपक विष्टलगायतले पुरस्कार वितरण गरे ।


Author

थप समाचार
x