सुदूरपश्चिम

स्थानीय निर्वाचन: घरदैलो अभियानमा केन्द्रीय नेता

इकागज |
बैशाख १९, २०७९ सोमबार १४:३५ बजे

फाइल फोटो

महेन्द्रनगर - नौ वटा पालिका र ९२ वडा रहेको कञ्चनपुर यतिबेला निर्वाचनमय भएको छ । दलबलसहित यहाँका वडादेखि खेतबारीसम्म पुगेर उम्मेदवार मत माग्न सक्रिय छन् । 

जिल्लामा क्रियाशील प्रमुखदेखि सबैजसो पार्टीका उम्मेदवार आ–आफ्नो पक्षमा जनमत बटुल्न प्रतिबद्धतापत्रदेखि विगतमा गरेका कामको  दस्तावेजसहित घरदैलो अभियानमा जुटेका छन् । उम्मेदवारसँगै केन्द्रीय नेतासमेत घरदैलो अभियानमा मत माग्दै हिँडेका छन् । 


स्थानीय तहको निर्वाचन पनि हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई ध्यानमा राखेर नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)लगायत  दलका केन्द्रीयस्तरका नेता यतिबेला घरदैलो गरिरहेका छन् ।

अघिल्लो निर्वाचनमा कञ्चनपुर क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टदेखि उनीसित झिनो मतअन्तरले पराजित कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकसम्मले यहाँ वडा–वडामा पुगेर नगरप्रमुख÷उपप्रमुख, वडा अध्यक्षदेखि सदस्यलाई मत मागिरहेका छन् । पालिका निर्वाचनमा मत माग्न कञ्चनपुरका ३ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय नेता, प्रतिनिधिसभा सदस्यलगायत सक्रिय छन् । 

प्रतिनिधिसभा सदस्य डा भट्टले पालिकाको निर्वाचनका माध्यमबाट आफू नागरिकको घरदैलोमा पुग्नुका साथै भएका विकास निर्माणको समेत अनुगमन गरिरहेको बताए । 

`पार्टी गतिविधि र चुनावका बेला नै नागरिकसित भेटघाटको अवसर मिल्ने हो ।” उनले भने–“अहिले मतदाताले युवा रोजगारीको विषयलाई प्राथमिकताका साथ उठान गरिरहेका छन् ।` 

उनले रोजगारीको विषयमा ठोस् नीति नै बनिनसेकाले बेरोजगारी समस्या हल हुन हुननसकेको बताए ।  नेताहरुलाई पार्टीले हरेक तहमा निर्वाचनका लागि खटाएको उनले जानकारी दिए । भीमदत्त नगरपालिकामा एमाले पोलिटब्युरो सदस्य तथा प्रनितनिधिसभा सदस्य निरु पाल,  क्षेत्र नं २ का सांसद नरबहादुर धामीलगायत चुनावी प्रचारमा छन् । 

कांग्रेसबाट भीमदत्त नगरपालिकाका नगरप्रमुखका उम्मेदवार पदम बोगटीले वडा नं १ बाट घरदैलो अभियान सुरु गरेका छन् । 

उनीसँगै कांग्रेस नेता रमेश लेखक पनि घरदैलो अभियानमा सहभागी हुनुभएको छ । `केन्द्रीय तहका नेताहरु घरदैलोमा गएर मत माग्नेदेखि भेलालाई सम्बोधन गर्नुका साथै पार्टी प्रवेश गराउने अभियानमा जुट्नुभएको छ`, शुक्लाफाँटा नगरपालिकामा कांग्रेसबाट नगरप्रमुख पदका उम्मेदवार चिन्तामणि भट्टले भन्नुभयो, `सबै नेता आ–आफ्नो क्षेत्रमा जनमत आफ्नो पक्षमा पार्न सक्रिय छन् ।`

कांग्रेस केन्द्रीय सदस्य नारायणप्रकाश साउद पनि जिल्लामा चुनावी प्रचारमा सक्रिय छन् ।  दक्षिण क्षेत्रस्थित पालिकामा माओवादी केन्द्रकी नेतृ बिना मगर पनि घरदैलो अभियानमा सक्रिय छिन् । स्थानीय तह निर्वाचनमा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । कांग्रेस र एमाले भने एक्लाएक्लै चुनावी मैदानमा छन् ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनका लागि कञ्चनपुरमा ३४० मतदान केन्द्र तोकेको छ । यहाँ कूल मतदाता सङ्ख्या दुई लाख ९५ हजार ३५४ छ । रासस


Author

थप समाचार
x