तिङ्करवासीले बाटो बनाउनेलाई भोट दिने
फाइल फोटो
दार्चुला - वि.सं ०६२/६३ अघिसम्म सदरमुकाम खलङ्गादेखि छाङ्गरु तिङ्कर पुग्न नेपालकै घोरेटो बाटो थियो । व्यासीको गाउँ आउजाउ र बसाइँसराइ (कुञ्चा) नेपालकै भूमि भएर हुने गरेको थियो । तर यसपछि बैतडी–दार्चुला–तिङ्कर घोरेटो बाटो पुनर्निर्माण नहुँदा व्यासीलाई थातथलो पुग्न हरेक वर्ष भारतीय बाटोको प्रयोग गर्नुपरेको छ ।
दार्चुला सदरमुकाम खलङ्गादेखि व्याँस–२ दुम्लिङसम्म घोरेटो बाटोको अवस्था सामान्य भए पनि त्यहाँदेखि व्याँस गाउँपालिका–१ छाङरुसम्म क्षतविक्षत छ । सदरमुकामस्थित नेपाल–भारत जोड्ने झोलुङ्गे पुलबाट भारत प्रवेश गरी छाङ्गरुस्थित सीतापुलबाट महाकाली नदी पार गरी उनीहरू गाउँ पुग्ने गरेका छन् ।
भत्केको बाटो मर्मत नहुँदा भारतीय बाटो प्रयोग गर्नु बाध्यता रहेको व्याँस–१ का विमल बोहराले बताए । दुम्लिङदेखि छाङ्गरुसम्मको घोरेटो बाटोको दर्जनभन्दा बढी ठाउँमा पहिरो र महाकाली नदी कटानका कारण भत्किएको छ । द्वन्द्वकालमा कुञ्चा सार्न भारतीय बाटो प्रयोग गर्न सुरु गरेका यहाँका स्थानीयवासीलाई अहिले पनि भारतकै बाटोबाट आवतजावत गर्नुपरेको छ ।
गत वर्ष सेनाले ५०० मिटर घोरेटो बाटो पुनर्निर्माण गरे पनि महाकाली नदी कटान, भारतीय सडक निर्माणमा प्रयोग भएको विस्फोटक पदार्थका कारण नेपालतिरको अधिकांश बाटो भत्किएको छ ।
`यो पटक बाटो बनाउने प्रतिबद्धता गरी आउने उम्मेदवारलाई मात्रै भोट जान्छ,` स्थानीयवासी दानसिंह तिङ्करीले भने, `नेता आउँछन् प्रतिबद्धता केही छैन ।` अहिले स्थानीयवासीले गाउँपालिकाका अध्यक्षका उम्मेदवारलाई पनि घोरेटो बाटोको एजेन्डाका रुपमा अघि सारेका छन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया