सुदूरपश्चिम

कैलालीमा मतदान उत्साहजनक

इकागज |
बैशाख ३०, २०७९ शुक्रबार १२:४६ बजे

कैलाली - कैलाली जिल्लामा स्थानीय तहको निर्वाचनका क्रममा आज मतदाताहरुले शान्तिपूर्ण वातावरणमा मताधिकार प्रयोग गरिरहेका छन् । 

मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले जिल्लाभरका मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताले उत्साहजनक रुपमा मताधिकार प्रयोग गरिरहेको बताए । 


बिहान ११ बजेसम्म जिल्लामा १७ देखि २५ प्रतिशतसम्म मत खसेको अनुमान गरिएको उनको भनाइ थियो । जिल्लाका केही स्थानीय तहमा आजैदेखि  मतगणना सुरु गर्ने तयारी भइरहेको छ । 

धनगढी उपमहानगरपालिकाको मतगणना भने भोलि ११ बजेबाट सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत पनेरुले जानकारी दिए । 

जिल्लामा १३ स्थानीय तहमध्ये सबै तहका मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयमा ल्याएपछि मतगणना सुरु हुने जनाइएको छ । 

केही दिनदेखि बढेको गर्मीले जनजीवनमा असर पारेकामा गएराति भएको वर्षाले भने शीतलता भएपछि मतदातालाई मतदानस्थलसम्म पुगेर मतदान गर्न सहज भएको छ ।

निर्वाचनका लागि जिल्लाका कूल १३ स्थानीय तहमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्रको व्यवस्था गरिएको छ  ।   रासस


Author

थप समाचार
x