जनतामाथि आदेशै-आदेश, संघीय मन्त्रीले उडाए गृह र प्रशासनको धज्जी
धनगढी : ११ चैतमा जिल्ला प्रशासन कार्यालय कैलालीले आंशिक निषेधाज्ञा जारी गर्दै भन्यो, ‘होलीलगायत कुनै मेला, पर्व, जात्राका अवसरमा महोत्सव, भिडभाड वा जुलुस गर्न पाइने छैन् ।’ सबै कार्यालय, शैक्षिक संस्थाहरूमा सामाजिक दूरी कायमगरी जनस्वास्थ्यका मापदण्ड पालना गर्न आदेशमार्फत अनुरोध गरिएको छ । यस्तै बैठक, सेमिनार गोष्ठी भर्चुअल माध्यमबाट गर्ने, यदि अत्यावश्यक भएमा जनस्वास्थ्यमा मापदण्ड पालना गर्नुपर्ने भनिएको छ । होटेल, रेष्टुरेन्ट तथा बारहरुमा भिडभाड नगर्न समेत जिल्ला प्रशासन कार्यालय कैलालीले अनुरोध गरेको छ ।
आदेश जारी भएपछि धनगढीमा मात्रै होली बिषेश कार्यक्रमको तयारी गरेका दर्जन बढी संस्थाले कार्यक्रम स्थगित गरे । तयारी पूरा भईसकेका मेला, महोत्सव र खेलकुद प्रतियोगिता पनि रोकिए । आयोजकले जिल्ला प्रशासनले लगाएको आशिंक निषेधाज्ञा पालना गरे ।
तर शुक्रबार युवा संघले धनगढीमा पत्रकार सम्मेलन गर्दै भन्यो, ‘भोलिको कार्यक्रममा हामी १५ हजार बढीको सहभागिता गराउँछौ ।’ युवा संघले भनेको भोलिको कार्यक्रम थियो जिल्ला कमिटी घोषणा र सपथ ग्रहण । जुन आज धनगढीमा आज भईरहेको छ । जहाँ संघीय सरकारका उद्योगमन्त्री लेखराज भट्ट र श्रममन्त्री गौरीशंकर चौधरी सहभागी छन् ।
उनीहरूसंगै एमालेका युवा नेता महेश बस्नेत र बचनबहादुर सिंह सहभागी छन् । सयौँको संख्यामा एमाले कार्यकताए पनि सहभागी छन् । उनीहरूले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय कैलालीले गरेको आदेशको कुनै प्रवाह गरेका छैन् । न सामाजिक दूरी कायम गरिएको छ न त सहभागी र मञ्चका अतिथीले मास्कको नै प्रयोग गरेका छन् ।
शुक्रबार धनगढी पुगेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उद्योगमन्त्री लेखराज भट्टले देशमा कोरोना भाइरसको संक्रमण जोखिम बढेको तर लककाउन नहुने बताएका थिए । उनले जोखिम न्यूनीकरणका लागि सरकारले थप सतर्कता अपनाउने बताएका थिए ।
तर युवा संघको कार्यक्रममा सहभागी हुँदा स्वयम भट्टले नै धेरै समय मास्क प्रयोग गरेका थिएनन् । धनगढीका स्थानीय ईन्द्र चौधरीले जनताका लागि मात्रै आदेशमाथि आदेश जारी गरेको प्रशासनले सरकारका मन्त्रीमाथि कुनै वास्ता नगरेको बताए । उनले थपे, ‘सामाजिक सद्धभावको पर्व होली मनाउन पनि यहाँ प्रशासनले रोक लगाएको छ । तर सरकारका मन्त्रीलाई हजारौँलाई सहभागी गराएर कार्यक्रम गर्न कस्ले अनुमती दियो ?’
यता कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले भीडभाड नगर्न आदेश जारी भईसकेको बताउँदै सो कार्यक्रममा पनि भिडभाड नगर्न भनिएको बताए ।
‘हामीले होली मात्र होईन जुनसुकै कार्यक्रममा पनि भिडभाड नगर्न भनेका हौँ । मन्त्री ज्यू (लेखराज भट्ट) ले पनि शुक्रबार विमानस्थलमा सञ्चारकर्मीसंगै सोही कुरा भन्नुभएको हो । आजको कार्यक्रममा जनस्वास्थ्यको मापदण्ड नै मानिएको छैन् भने हामी कारवाहीको प्रक्रिया अगाडि बढाउछौ ।’ जिल्ला प्रशासनले जारी गरेको आदेशमा आदेशको अवज्ञा गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने दाबी गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया