स्थानीय सरकारका संस्थापकहरूसँग संवाद-६
संघीय सरकारको काम स्थानीय सरकारले गरिरहेको छ
काठमाडौँ- स्थानीय तहका निर्वाचित पदाधिकारीको पदावधि सकिन लागेको छ । कार्यकाल सकिन लाग्दा निर्वाचन ताका गरिएका वाचाहरू पूरा गर्न बाधाहरू आइपरेको जनप्रतिनिधिले गुनासो गर्छन् । काठमाडौँको दक्षिणी भेगमा अवस्थित छ दक्षिणकाली नगरपालिका । प्रसिद्ध धार्मिक स्थल दक्षिणकाली मन्दिरमा वर्षेनी हजारौँ धार्मिक पर्यटक भित्रिन्छन् । 'भौगोलिक विषमताको कारण अन्य स्थानीय तहजस्तो विकास गर्न सकिएको छैन,' नगर प्रमुख मोहन बस्नेत भन्छन् ।कार्यकालको उत्तरार्धमा कार्यसन्चालनका अनुभवबारे नगरप्रमुख बस्नेतसँग इकाजकर्मी अतिन आचार्यले कुराकानीः
बेलाबेलामा मुलुकले संघीयता थेग्न सक्दैन भन्ने आवाज उठिरहन्छ, संस्थापक नेतृत्व भएका हिसाबले तपाईं के भन्नुहुन्छ ?
स्थानीय सरकारको प्रतिनिधि भएकाले पहिलो प्राथमिकतामा आफ्नो कार्यकाललाई कसरी उपलब्धीमूलक बनाउने भन्ने थियो । संघीय प्रणालीलाई चासो दिनुभन्दा पनि स्थानीय तहलाई बलियो बनाए संघीयता पनि बलियो हुनेछ । स्थानीय सरकारलाई अधिकारसम्पन्न बनानउनुपर्छ । यसले सबै कुरालाई बलियो बनाउँछ ।
तपाईंको कार्यकालमा जनताले खोजेको जस्तो स्थानीय तहको अनुभव उनीहरूले गर्न पाए कि पाएनन् ?
जनताले खोजेजस्तो स्थानीय तह बनाउन खोजेका हौँ । कतिपय अधिकार/जिम्मेवारी कटौती भएका छन् । सुरु-सुरुमा भएका कारण संघीयतालाई मजबुत बनाउन स्थानीय तह मजबुत हुनैपर्छ । संघीयता जब कमजोर बन्छ हामी सबै कमजोर बन्छ भन्ने लाग्छ ।
तपाईंको पहिलो कार्यकाल सकिँदै गर्दा दक्षिणकाली नगरपालिकालाई 'नगरपालिका' जस्तो बनाउन के गर्नुभयो ?
नयाँ संविधान र परिकल्पनाअनुसार स्थानीय तहले काम गर्दा कतिपय कुरा खट्किएका छन् । अभावको बाबजुत पनि जनप्रतिनिधिले आफ्नो क्षमता तथा मजबुतले काम गरिरहेका छन् । आफ्नो क्षेत्रमा सकरात्मक विकासका कामहरू भइरहेका छन् । जनप्रतिनिधिको हैसियतले गरेका सबै कामहरू भन्न सकेका छैनौँ । इमान्दारीको साथ भन्नुपर्दा सबै जनताको काम गर्न लागि परिरहेका छौ । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र पर्यटन विकासका लागि काम गरिरहेका छौँ । पूर्वाधार निर्माण गरिसकेका छौँ । केही निर्माणकै क्रममा छन् । कतिपय बाँकी नै छन् ।
नगरबासीको अपेक्षानुसार कति काम गर्नुभयो त ?
नगरबासीको पठनपाठनको विकास गर्न नगरपालिकाले यथेष्ट विकास गरेको छ । १८-२० वटा विद्यालय भवन नगरपालिकाले बनाइदिएको छ । नगरबासीका लागि आवतजावतमा सहज भनेर नयाँ बाटोदेखि पुराना बाटोको मर्मत गरिएको छ । वडा-वडामा खानेपानीको टयांकी बनाइएको छ । नगरपालिकामा हुने धार्मिक संस्कृतिलाई रक्षा गर्न वार्षिक बजेट छुट्याइएको छ । कृषिलाई प्राथमिकतामा राखी कसरी व्यवस्थित गर्न सकिन्छ भनेर ध्यान दिएकर काम गरिएको छ । विभिन्न सिपमूलक तालिम प्रदान गरियो । तर, यति भन्दै गर्दा यथेष्ट काम गर्न भने सकिएको छैन । भूगोल ठूलो जनसंख्या थोरै छ । प्राप्त हुने रकम थोरै खर्च धेरै भइरहेको छ । जनताले आशा गरेको बमोजिम विकास भए/नभएको भन्न सकिने अवस्था छैन ।
चुनावी घोषणापत्रमा उल्लेख भएका तपाईंका पाँच प्रमुख प्राथमिकता के-के थिए ?
चुनावी घोषणापत्रको आधारमा भन्दा पनि जनताको आकांक्षाअनुसार काम भइरहेको छ । जनप्रतिनिधि भएपछि सदा जनताप्रति उत्तरदायित्त्व हुनुपर्छ भन्ने लाग्छ । जनप्रतिनिधि भन्दा पनि जुनसुकै बखतमा एउटा जनशक्ति जस्तो भएर काम गरिरहेको छु । मैले जे गर्नुपर्ने हो त्यो इमानदारीको साथ पालना भएको छ । कोभिड महामारीमा नगरबासीलाई घरमा बसाएर म लगायत सबै जनप्रतिनिधिलाई अहोरात्र खटाएको छु । जनतालाई बचाउन आफ्नो जीवनको प्रवाह नगरी काम गरिरहेको छु । नगरपालिकाले गरेका कामहरू स्थानीयले पनि भन्न सक्नेछन् ।
नगर प्रमुख भएर गर्न नसकेका काह केके हुन् ?
दक्षिणकाली नगरपालिका यस्तो ठाउँ जसलाई समथर भूमिले भन्दा पनि डाँडाकाँडाले बढी घेरेको छ । एक ठाउँमा १० घर छ अर्को ठाउँमा ५ घर छ । नगरबासीलाई सुविधा चाहिएको छ । मोटरबाटो चाहिएको छ तर त्यसलाई सहजै पूरा गर्न सकिएको छैन । मुख्य कुरा भौगोलिक असमानता पनि हो । हाम्रो नगरपालिकामा २४ हजार २ सय जनाको टाउको गनेर एक अर्ब रुपैयाँ कम भन्दा पैसा आउने गरेको छ । वडा-वडालाई खानेपानी पुर्याउन पर्दा ४०औँ करोड खर्च हुने गर्छ । अभाव उत्तिकै छ जनताको भावना बुझेर काम गर्नुपरेको छ ।
संघीय सरकार वा अन्य त्यस्तो केही शक्तिबाट काम गर्न अवरोध भयो कि भएन?
काम गर्दा अहिलेसम्म कुनै पनि अवरोध खडा भएको छैन । जनप्रतिनिधि भएकाले जनताको विश्वास र साथ पाएकाले बाधा/अवरोध आएको छैन । नगरपालिकामा कसैले पनि विरोधको नाममा धर्ना र जुलुस जस्ता अवाञ्छित क्रियाकलापको सामना गर्नुपरेको छैन ।
संवैधानिक, कानुनी र व्यवहारगत जटिलता के कस्ता आइपरे ?
संघीय सरकारले स्थानीय तहलाई स्वायत्त बनाउन केही कञ्जुस्याइ भए जस्तो लाग्छ । स्थानीय सरकारलाई अधिकार दिनलाई कुनै पनि कञ्जुस्याइ नगरेमा प्रदेश सरकारलाई पनि टेवा दिन सक्छ । साथै संघीय सरकारको मजबुतीको लागि समेत काम गर्न सक्छ । स्थानीय तह भनेको भित्रीरूपमा नदेखिएर काम गर्ने सरकार हो । जनताको प्रत्यक्ष पीडालाई महसुस गर्ने संस्था हो । नागरिकको घाउमा मल्हम लगाउन पाएको छ । यो एकदम सकरात्मक पहल हो । संविधानको परिकल्पना अनुसार विकास गर्न खोजिएको सरकार हो । जिम्मेवारी दिएको सरकारले थोरै मेहनत गरेर काम गर्ने हो भने धेरै राम्रो छ । पाएको अधिकार प्रयोग गर्न पाएको छौ त्यसैले पनि हामीले गुनासो गर्ने ठाउँ भेटेको छैनौँ ।
आर्थिक, कानुनी र प्रशासनिक कार्यप्रणाली कतिको झन्झटिलो रहेछ? समस्या के के पाउनुभयो ?
देखिने गरी महसुस हुनेगरी अहिलेसम्म समस्या भोगेको छैन । मेयर भएर प्रधानमन्त्री जस्तो गरेर काम गर्न खोज्यो भने धेरै कुराको अभाव हुन्छ । अहिलेको संविधानले स्थानीय तहलाई ठूलो जिम्मेवार दिएको छ । पाएको जिम्मेवारी सहित जनताको लागि काम गर्न त्यस्तो असहजता केही छैन । यद्यपि समस्या नहुने भन्ने त होइन तर भएका समस्याको समाधान समयमा गरेमा सबैलाई सहज हुने थियो ।
प्रदेश र संघीय सरकारबाट सहयोग/असहयोग के बढी पाउनु भयो ?
संघीय र प्रदेश सरकारले दिनुपर्ने कुराहरू दिएकै छन् । स्थानीय तह सञ्चालनका लागि आवश्यक बजेट पाइएकै छ । सबै नगरपालिकाको भन्दा भिन्नै समस्या छ । भूगोल ज्यादै ठूलो र नगरबासीको टाउको गनेर बजेट आउने भएकाले समस्या छ । जनगणनामा हजारौँ मात्रामा जनसंख्या बढोस भन्ने थियो तर २५ हजार भन्दा धेरै हुन सकेन । जनसंख्या नबढ्दा नगरका लागि बजेट एकदम कमै आउछ । जति आउनुपर्ने थियो अझ घटेर जाने अवस्था बनेको छ । विद्यालयका शिक्षकलाई तलब नगरपालिकाले खुवाउनुपर्छ । अब झन समस्या हुन्छ । पूर्वाधारको विकासमा र जनताले चाहेको काम छिटो ढंगले गर्न सकेको छैनौ ।
पदावधि सकिन केही समय मात्र छ । आगामी नेतृत्त्वका लागि के कस्तो सुझाव दिनुहुन्छ ?
करिब पाँच वर्षको लागि गरेको मलाई मात्र भनेर गरेको छैन । सबैलाई सहज र संस्कारको विकास गर्न पनि काम गरेको छु । म मात्र वा अरु कोही आएमा पहिलो नगरपालिका भएकाले आफै बस्ने ठाउँलाई व्यवस्थित बनाइएको छ । जनताको काम गर्ने प्लेटफार्म भनेर निरन्तर सेवा गरिरहेका छौ । इमान्दारीका साथ गरेँ । संस्कार सिकाउन काम गरे । जनप्रतिनिधिले गर्नुपर्ने काम र व्यवहार जनताको लागि गरेको छु । मैले पुनः स्थान प्राप्त गरे भने थप मजबुत बनाउनेछु वा अरु कोही आएमा अझ राम्रो बनाएर जानेगरी बनाउनु हुनेछ । जनताको सेवक बनेर काम गर्ने ठाउँ बनाएको छु ।
नागरिक भएर प्रश्न गर्न र सोच्न सजिलो थियो । आफैँ जिम्मेवारी तहमा पुग्नु भएको छ । तपाइको अनुभव कस्तो रहयो ?
हामी पनि नागरिक हौँ । तर पद पाएर फरक काम गर्ने अधिकार पाएको छु । जनताको चाहना पूरा गर्न के- के साधनस्रोत अभावले गर्दा कहिलकाही पीडा हुन्छ । छिटो गर्न पाएमा सबैजना खुसी हुन्छन् तर, त्यस्तो पनि सम्भव छैन । सिंगो नगर खुसी हुन्छन् भन्ने लाग्छ । उहाँहरूलाई केही कुरा बुझाउ भन्ने लाग्छ । स्थानीयहरू एक लाख माग्न आएकाहरूलाई हाम्रो भाषामा २० देखि ४० हजार दिनुपर्ने हुन्छ । नगरपालिका भएर पनि अन्य नगरपालिका जस्तो गरेर खर्च गर्न सकिएको छैन । त्यो भनेको रकम अभाव हो ।
आफ्नो कामलाई कसरी मूल्यांकन गर्नुहुन्छ?
म आफैलाई नम्बर दिएर र मूल्यांकन गर्न मिल्दैन । मैले गरेको कामप्रति सन्तुष्ट छु । मेरो कार्यकालमा सेवा गर्न पाए र जनताको घरदैलोमा पुग्ने अवसर पाए । सजिलो हुँदा नपुगे पनि अप्ठयारोमा अवश्य पुगेको छु । सकेको विकास गरेको र नगरबासले बुझ्नु भएको छ । कोभिडको कारणले छिटो विकास गर्न सकेनौँ । म नगरबासी भएकाले सकेसम्म आफ्नो नगरबासीको विकास गरेको छु । म सन्तुष्ट छु र सबै नगरबासी पनि सन्तुष्ट हुनुहुन्छ भन्ने लागेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया