स्थानीय सरकारसँग संवाद

स्थानीय सरकारका संस्थापकसँग संवाद शृंखला - १०

गाडी सुविधा कसैले लिएनौँ, त्यो पैसाले दमकल र एम्बुलेन्स किन्यौँ

कम बेरुजु हुने नगरपालिकामध्ये हामी देशभरमा चौथो भयौँ

कमल धिताल |
माघ २७, २०७८ बिहीबार १५:२५ बजे

अमेरिका १४ वर्ष बसेपछि एक युवा जो देशको राजनीति सफा गर्ने दृढसंकल्प बोक्छन् । सपनाको मुलुक अमेरिका छाडेर उनी आफ्नो देश फर्किन्छन् । अमेरिकामा बसेर नेतालाई गाली गर्नुभन्दा आफ्नै देश फर्किएर केही गर्छु भन्ने संकल्पसहित नेपाल फर्किए, महेश खरेल । त्यसो त, उनका बुबा राजेन्द्र खरेल कांग्रेसका पुराना र संघर्षशीलमध्ये हुन् । राजनीतिक परिवारमा हुर्किएपछि उनमा राजनीतिमा रस बस्नु कुनै नौलो कुरो पनि भएन । अमेरिकाबाट नेपाल फर्किएर कांग्रेसको राजनीतिमा होमिए । गएको स्थानीय चुनावमा काठमाडौंसँग जोडिएको जिल्ला काभ्रेको पाँचखालमा कांग्रेसबाट मेयर चुनिए । उनै खरेलसँग कार्यकाल कस्तो रह्यो लगायतका विविध विषयमा इकागजका कमल धितालले गरेको कुराकानीको सम्पादित अंश:

तपाईं संघीयताको खास जग हुनुहुन्छ, संघीयता थेग्न सकिँदैन भन्ने आवाज पनि छँदै छ, स्थानीय सरकारको संस्थापक नेतृत्व भएका आधारमा तपाईं के भन्नुहुन्छ ?


संघीयता थेग्न नसक्ने भन्ने होइन । संघीयताले भ्रष्ट नेता र भ्रष्ट कर्मचारीहरू थेग्न नसक्ने हो । कुनै पनि सासंद बन्ने, मन्त्री बन्ने तथा ठूला पदमा गएर पैसा कमाउने भन्ने मानसिकता मात्रै छ । यस्तै कारणले गर्दा कतै संघीयता धान्न सक्दैन भन्ने भान पारिएको छ । हिजो द्वन्द्वमा फस्दा सिंहदरबारमा खुम्चिएको शक्ति हाल स्थानीय तहमा पुगेको छ । वडा तहसम्म नै जनताले अनुभूति गर्ने सरकार पुगेको छ । तर यसमा केही व्यक्ति तथा पात्रको स्वार्थले गर्दा यसलाई गलत बनाउन लागि परेका छन् ।

संघीय पद्धति प्रभाकारी तुल्याउन के गर्नुपर्छ त ?

मेरो विचारमा भन्नुपर्दा संघीयतालाई अझै बलियो बनाउनुपर्छ । यसले स्थानीयस्तरका समस्या समाधान गर्न सजिलो हुन्छ । संघीयताको सवालमा सकेसम्म स्थानीय तहलाई बलियो बनाएर काम गर्दा देश चाँडो प्रगतितर्फ लम्किन्छ । हामी दोधारे नीति लिन्छौँ जबसम्म स्थानीय तहमा हुन्छौँ त्यस बेलासम्म स्थानीय तहलाई बलियो बनाउने कुरा गर्छाैं । सांसद बनेपछि बजेटमा भागबण्डा खोज्छौँ । सांसदको काम भनेको त कानुन बनाउने हो नि । देशमा कस्तो कानुन चाहिन्छ भन्ने समस्यालाई उहाँहरूले सम्बोधन गर्ने होइन । आर्थिक पाटो, परराष्ट्र नीति कस्तो बनाउने लगायतका काम गर्नुपर्ने हो । हाल राष्ट्रिय मुद्दामा दल तथा नेतापिच्छे फरक धारणा आइरहेको देखिन्छ । तर देशमा संघीयता र प्रदेश संख्या लगायतका कुरा गर्दा भने यसमा केही दलका नेताहरूले जबर्जस्ती सिन्डिकेट गरेर लादिएका हुन् । यसमा भोलि जनमतमा गयो भने थाहा हुन्छ वास्तवमा जनता संघीयता चाहन्छन् कि चाहँदैनन् ? यसका लागि सबै दलका नेताले हिम्मत चाहिँ गर्न सक्ने कि नसक्ने भन्ने ठूलो कुरो हो ।  

स्थानीय सरकारको नेतृत्वका रुपमा तपाईंको पहिलो कार्यकाल सकिँदै गर्दा पाँचखाल नगरपालिकाको खास पहिचान के कस्तो बनाउनुभयो ?

मैले पाँचखाल नगरपालिकालाई काठमाडौँको अर्काे विकल्पका रूपमा व्यवस्थित सहरीकहरणका लागि बाटो, खानेपानी एवं कृषकको जीवनस्तर उठाउन व्यवस्थित तथा वैज्ञानिक कृषिको अवधारणाअनुरूप जीवनस्तर उठाउने कार्य गरेको छु । त्यस्तै सीमान्तीकृत बस्तीमा बाटो, खानेपानीको सुविधा पुर्‍याई उनीहरूलाई राज्य रहेको या भएको अनुभुति दिलाउन पाँच वर्ष यसमै फोकस गर्‍याैँ । त्यस्तै पाँचखाल नगरपालिकामा खानेपानी समस्या समाधान भएको छ ।

देश धेरै पछि परिसक्यो, अब पनि व्यवस्थालाई दोष दिएर बस्ने हो भने अक्षम व्यक्तिको हातमा पुगेर देशमा झन् झन् विपत्ति आउँछ । 

ड्ब्लुएचओ स्ट्यान्डर्डको शुद्ध गुणस्तरीय खानेपानीका लागि हामीले एसियाली विकास बैंक र नगरविकास कोषको सहयोगमा दक्षिण एसियाकै सबैभन्दा ठूलो आयोजना निर्माणाधीन अवस्थामा रहेको छ । यसको ६० प्रतिशत काम सकिएको छ । अबको ६ महिनाभित्र हामी स्थानीय जनताको घरघरमा शुद्ध खानेपानी पाउनेछन् । त्यस्तै, तत्कालका लागि डीप बोरिङ तथा नगरपालिकाभित्र भएका मूलहरूको संरक्षण गरेर खानेपानी समस्या समाधान गरेका छौँ । 

त्यस्तै प्रत्येक वडामा बाटोको अवस्थाअनुसार ढलान तथा कालोपत्रे नाली बनाएका छौँ । प्रत्येक टोललाई बजारसम्म पुर्‍याएका छौँ र नपुगेका तहलाई पु¥याउन कार्यरत छौँ । भूकम्पपछि भत्किएका संरचनाहरू निर्माण सम्पन्न भइसकेका छन् । यसमा कतिपय नगरपालिका आफ्नै सहयोगमा तथा समन्वयमा पुनर्निर्माण सकिएको हो । नगरपालिकाको भवन तथा सम्पूर्ण वडा कार्यालयहरू सम्पन्न भएका छन् । 

तपाईंको कार्यकालमा आमअपेक्षा र अप्ठेराहरूलाई कसरी सम्बोधन गर्नुभयो ?

लामो अन्तरालपछि आएको यो स्थानीय निकायमा नागरिकहरूले सरकार आफ्नो घरदैलोमा देख्न पाएका छन् । यसमा हामीले भ्रष्टाचारमुक्त सेवा दिन सक्षम भएको जस्तो लाग्छ । मैले आफ्नो कार्यकालमा स्थानीय जनतालाई कसरी छिटो र गुणस्तरीय सेवा दिन सकिन्छ भनी हरसम्भव प्रयास गरेको छु । हामी जनताको करबाट तलब खाएर उहाँहरूलाई कसरी सहज जीवनयापनमा सहयोग पु¥याउन सकिन्छ भनेर आएको हुँदा सोहीअनुसार कार्य गर्दै आएका छौँ । 

चुनावी घोषणापत्रमा वाचा गरिएका तपाईंका पाँच प्रमुख प्राथमिकता के थिए ?

चुनावअघि पाँचखाल नगरपालिकामा कृषि क्याम्पसको कुरा गरेको थिए । काठमाडौँ विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स र एग्रिकल्चर पठनपाठनको वाचा गरेको थिएँ । खानेपानीको समस्या समाधानको वाचा गरेको थिएँ । प्रत्येक टोल–टोलमा गुणस्तरीय बाटोको कुरा गरेको थिएँ । भूकम्पपश्चात् सबैभन्दा बढी क्षति भएको पाँचखाल नगरपालिकाका घरहरू पुनर्निर्माणको वाचा गरेको थिएँ । स्वास्थ्य समस्या समाधान गर्ने वाचा गरेका थिए । तिनै वाचा पूरा गर्न खटिएँ । 

अनि यी करिब पाँच वर्षमा तपाईंको नेतृत्वमा भएका प्रमुख पाँच काम के–के हुन् ? 

मैले गरेका वाचाहरू कतिपय पूरा भइसकेका छन् भने कति अन्तिम चरणमा छन् । जस्तो कृषि क्याम्पस, काठमाडौँ विश्वविद्यालयमा एग्रिकल्चर तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पठनपाठन सुरु भइसकेको छ । खानेपानीको ठूलो समस्या रहेको नगरमा हाल समस्या समाधान हुँदै गएका छन् । सुनकोशी खानेपानी आयोजना तयारी अन्तिम चरणमा पुगेको छ । केही समयपछि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको पानी घर–घरमा प्राप्त गर्नेछन् । 

टोलटोलमा बाटो पुर्‍याउने लक्ष्यअनुसार कतिपय बाटो बजारसम्म पुगिसकेका छन् भने कति अन्तिम चरणमा छन् । भूकम्पले तहसनहस भएका विद्यालय तथा घरहरू पुनर्निर्माण भइसकेका छन् । स्वास्थ्यमा काभ्रे जिल्लामा सबैभन्दा राम्रो काम गरेको छौँ । कृषि आधुनिकीकरणका लागि यन्त्रीकरण र आधुनिकीकरणसँगै लैजाने योजनाअनुरूप एक हजारभन्दा बढी हाते ट्याक्टर वितरण गरेका छौँ । विषादी नियन्त्रण गर्न ६ सय जना अगुवा कृषकहरूलाई आइबीएम तालिम दिएका छौँ । जसमा अर्गानिक प्रेस्टिसाइड (किटनाशक) र अर्गानिक मल प्रयोग गर्न प्रोत्साहन गरेका छौँ । 

तपाईंले गर्न चाहेर पनि नसकिएका काम केके हुन् ?

मैले आफ्नो कार्यकालमा पूरा गर्न नपाएको भनेको व्यवस्थित बस्तीका काम हुन् । यसमा हामी सुरुआती चरणमा छौँ । मैले पाँचखालमा ५ वटा स्मार्ट सिटी बनाउने सपना देखेको थिएँ, तर यो पूरा हुन पाएन । यसका लागि भर्खरै डिपिआरको काम हुँदै छ । कृषिमा हामीले चाहेअनुरूप कार्य गर्न सकेनौँ । यन्त्रीकरण र आधुनिकीकरण गर्ने योजना थियो । 

तिनमा अवरोध कहाँ–कहाँबाट के कसरी आयो ?

हामीसँग बजेट अभाव मुख्य समस्या थियो । यसमा प्रदेश तथा केन्द्रबाट चाहे जति सहयोग जुट्न सकेन । कतिपय चाहेका योजना बजेट लगायतका समस्या आए । 

अनि संवैधानिक, कानुनी र व्यवहारगत जटिलता के–कस्ता आइपरे ?

हामीले पाँचखालको विकासलाई नै केन्द्रबिन्दुमा राखेर काम गर्‍यौँ । पार्टीगत स्वार्थभन्दा माथि उठी विकास निर्माणतर्फ लाग्यौं । हामीले सबैसँग सहकार्यको नीति लिएर हिँडेको हुँदा समस्या एकातर्फ राखेर समाधान केन्द्रित बन्यौँ । त्यसैले समस्याभन्दा विकास पहिलो प्राथमिकतामा राखेकाले आज पाँचखाल गर्व गर्नलायक नगरपालिकाको रूपमा उभिएको छ । 

तपाईंको सरकारको आर्थिक, कानुनी, प्रशासनिक कार्यप्रणाली कस्तो बन्यो, यिनमा समस्या के–के रहे ?

चुस्त कार्यप्रणाली रहँदा हाम्रो नगरपालिका सबैभन्दा कम बेरुजु आउने नगरपालिकामध्ये पाँचखाल नगरपालिका पनि एक हो । देशभरि कम बेरुजु भएका नगरपालिकामा हामी चौथो नम्बरमा पर्‍याैँ । जम्माजम्मी ०.८ प्रतिशत भन्दा तल बेरुजु छ । हाम्रो कार्य प्रणालीमा कम बेरुजु, आर्थिक पारदर्शिता छ । हाम्रा जनप्रतिनिधिहरू कसैलाई पनि सवारी सुविधा छैन । गाडी किन्ने पैसाले हामीले दमकल तथा एम्बुलेन्स किनेका छौँ । जनप्रतिनिधिहरूले आफूले चढ्ने गाडीको सुविधा छाडेर जनतालाई खानेपानीको लागि पैसा छुट्यायौँ ।

एक हजारभन्दा बढी हाते ट्रयाक्टर वितरण गरेका छौँ ।

मुख्यमन्त्री डोरमणि पौडेलको पालामा बागमती प्रदेशको उत्कृष्ट नगरपालिका घोषित भएको नगरपालिका हो, पाँचखाल । कार्यमूल्यांकनका आधारमा हाम्रो नगरपालिकालाई बागमती प्रदेशको उत्कृष्ट नगरपालिकाको सम्मानबाट सम्मानित भएको एकमात्र नगरपालिका हो । यसमा हामी हाम्रा जनप्रतिनिधि तथा कर्मचारीहरू सबैलाई धन्यवाद दिन चाहन्छौँ । हामी करदाताका पाले हौँ, यसको उचित प्रयोग गर्नुपर्छ हामीले यसको दुरुपयोग गर्नुहुन्न । हाम्रोमा प्रत्येक टेन्डर ३५ देखि ४० प्रतिशतमुनि टेन्डर भएको छ । यसका लागि यहाँहरूले भेरिफाई गर्न सक्नुहुन्छ । यसबाट बाँकी रहेको रकमले हामीले अन्य कामहरू गरेका छौँ । 

प्रदेश र संघीय सरकारबाट पाएको सहयोग–असहयोगबारे तपाईंको अनुभव–मूल्यांकन के छ ?  

त्यस्तो समस्या रहेन । किनभने हामीले उहाँहरूसँग समन्वय र सहकार्यको नीति लिएका थियौँ । हाम्रो मुख्य योजना नै आफ्नो नगरलाई कसरी उत्कृष्ट बनाउने भन्ने ध्येय थियो । एउटा कुरा जोडिहालेँ, म अमेरिकाबाट देशको स्थिति नाजुक अवस्थामा रहँदा आजभन्दा ११ वर्षपहिले केही गर्छु भनी फर्किएको मान्छे हुँ । देशको नाजुक अवस्था देखेर नै अमेरिका होमिएको व्यक्ति म यसरी अरूको देश बनाउनुभन्दा आफ्नो देश बनाउँछु भनेर नै आएको हुँ । त्यसैले कतिपय असहयोगलाई समेत नजरअन्दाज गरेर सकेसम्म आफ्नो सामथ्र्यले भ्याएसम्म काम गरेँ । यसले गर्दा त्यस्तो असहयोग रहेन, अलिकति खट््किएको समस्या भने बजेटको थियो तर यसमा प्रदेश तथा संघको पनि आफ्नै सरकार जोगाउने लगायतका समस्या थियो ।

अक्सर नागरिक हुँदा, प्रतिपक्षमा रहँदा एक खाले र शासक भइसकेपछि नजर अर्कै खाले बनिदिन्छ, सीमित स्रोत–साधनको अवस्था पनि बुझिन्छ होला, आफ्ना नागरिकमै के–कस्ता समस्या पाउनुभयो ?

नेतृत्वमा आउनुभन्दा पहिला मैले जनताका समस्या राम्रोसँग बुझेको रहेनछु भन्ने लाग्यो । करिब ५ वर्षको अवधिमा मानिसहरूको दैनिक जीवनमा कस्ता समस्या रहेछन् भन्ने बुझेँ । प्रशासनबाट सानो सहयोग पाउँदा उहाँहरूको जीवनमा कति परिवर्तन हुन्छ भन्ने कुरा प्रत्यक्ष अनुभूत गर्न पाएँ । यसबीचमा हामी जनतासँग प्रत्यक्ष जोडिएर काम गर्न पाउँदा राम्रो काममा ताली तथा नराम्रोमा गाली पाउने भयौँ । यसले गर्दा थप होसियार र जिम्मेवारी बोध गरेर काम गर्नुपर्ने रहेछ भन्ने देखेँ ।

अब आउने नेतृत्वका लागि अनुभवप्राप्त अभिभावकका रुपमा के सुझाव दिनुहुन्छ ?

यसपछि जो आउनुहुन्छ, उहाँहरूलाई आफ्नो राजनीतिक दल तथा व्यक्तिगत स्वार्थभन्दा माथि राखेर काम गर्नुहोस् भन्ने सल्लाह दिन्छु । किनभने मेयरलाई नगर विकास गर्न छानेका हुन् । हाम्रो देशका नागरिकहरू विकासको भोको भइसकेका छन् । व्यक्तिगत तथा पार्टीगत स्वार्थबाट माथि उठेर भ्रष्टाचारमुक्त भएर विकास निर्माणमा लाग्नुभयो भने तपाईंको नगर चाँडो विकास हुन्छ । अर्काे कुरा कतिपय युवा हाम्रो देशको राजनीति फोहोरी भन्दै विदेश पलायनसमेत भइरहेका देखिन्छन् । नेता गतिला भएनन् तथा नेतृत्वप्रति वितृष्णा पैदा भएको पनि पाउँछु ।

नेतृत्वमा आउनुभन्दा पहिला मैले जनताका समस्या राम्रोसँग बुझेको रहेनछु ।

यसमा म युवाहरूलाई के भन्न चाहन्छु भने किनारमा बसेर हिलो सफा हुँदैन यसका लागि हिलोमै पस्नुपर्छ । मैले हिम्मत गरिरहेको छु । बेला–बेला मलाई पनि यसप्रति वितृष्णा पैदा हुन्छ, तर पनि मैले आफैँलाई सम्हालेर काम गर्दैछु । हाम्रो व्यवस्था कस्तो बनाउने युवाहरूको हातमा छ । नेतृत्व ठीक छ भने उसलाई अगाडि बढाउनुहोस् छैन भने आफू नेतृत्व लिनुहोस् । देश धेरै पछि परिसक्यो, अब पनि व्यवस्थालाई दोष दिएर बस्ने हो भने अक्षम व्यक्तिको हातमा पुगेर देशमा झन् झन् विपत्ति आउँछ । शैक्षिक योग्यता भएका र आफ्नै व्यवसाय भएका व्यक्ति राजनीतिमा लाग्नुपर्छ । राजनीतिलाई प्रोफेसन बनाउनेबाट देश उँभो लाग्दैन । 

आफ्नो कार्यकाललाई १० पूर्णांकमा तपाईं आफैँ कति नम्बर दिनुहुन्छ ? 

आफ्नो मूूल्याङ्कन आफैँले गर्नुभन्दा पनि नगरपालिकाका स्थानीयहरूले मूल्याङ्कन गर्ने कुरा हो । त्यस्तै सरकारको स्वमूूल्याङकन कार्यक्रम लिजा कार्यक्रममा हामी ८ भन्दा माथि नै आएका छौँ । यसैले आफ्नो कार्यकाललाई ८ नम्बर दिन्छु । 


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x