स्थानीय सरकारसँग संवाद

स्थानीय सरकारका संस्थापकहरूसँग संवाद शृंखला–१६

हाम्रो तिलोत्तमा देशकै नमुना नगर बन्यो

विक्रम खड्का |
फागुन ४, २०७८ बुधबार १८:३६ बजे

सरकारले २०७९ वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । हाल स्थानीय तहमा काम गरिरहेका निर्वाचित जनप्रतिनिधिको पदावधि सकिन आँटेको छ । कार्यकाल सकिनै लाग्दा निर्वाचनताका उनीहरूले गरेका वाचा कति पूरा भए, कति अपूरा रहे, समीक्षा भइरहेको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्यजस्ता जनताका आधारभूत काम गर्दा नागरिकमा सरकारप्रतिको साथ र उत्साह देखिएको नगरपालिकाका मेयर वासुदेव घिमिरे बताउँछन् । देशकै नमुना नगरका रूपमा आफूहरूले स्थानीय सरकारको जग बसाएको दाबी उनको छ । प्रस्तुत छ, इकागजकर्मी विक्रम खड्काले घिमिरेसँग गरेको कुराकानी:

तपाईं संघीयताको खास जग हुनुहुन्छ, संघीयता थेग्न सकिँदैन भन्ने आवाज पनि छँदै छ, स्थानीय सरकारको संस्थापक नेतृत्व भएका आधारमा तपाईं के भन्नुहुन्छ ? 


मलाई संघीयता थेग्न सकिँदैन भन्ने लाग्दैन । प्रदेश सरकारका काम कारबाही, प्रदेशमा भागबन्डा मिलाउन मन्त्रालय बढाउने, सरकार बनाउने÷गिराउने लगायत पछिल्ला समयमा देखिएका क्रियाकलापले संघीयता आवश्यक छैन भन्ने कतिपयलाई लागेको हुन सक्छ । वास्तवमा मर्मअनुसार काम गर्ने हो भने संघीयता आफैंमा नराम्रो होइन । हामीले स्थानीय सरकारका रूपमा संघीयतालाई बलियो बनाउन जनमुखी काम गर्दै आएका छौं । स्थानीय सरकार संघीयताको खास जग हो । अहिले स्थानीय सरकार आएपछि जे–जस्ता काम भएका छन्, ती काम हिजो हुन सकेका थिएनन् । म त स्थानीय सरकारलाई अझै अधिकार सम्पन्न बनाउनुपर्छ भन्छु । जनताको सुख–दुःखमा काम लाग्ने भनेकै स्थानीय सरकार रहेछ । प्रदेश र संघीय सरकारमार्फत हुने कामलाई सफल बनाउने पनि स्थानीय सरकारले नै हो । पवित्र भावना, परिवर्तनप्रतिको दृढ इच्छाका साथ काम गरौं मुलुकले संघीयता थेग्छ । स्थानीय सरकारले जस्तै प्रदेश सरकारहरूले पनि काम गर्ने हो भने संघीयताप्रतिको धारणा अझै सकारात्मक बन्नेछ भन्ने मलाई लाग्छ । 

स्थानीय सरकारको नेतृत्वका रूपमा तपाईंको पहिलो कार्यकाल सकिँदै गर्दा आफ्नो पालिकाको खास पहिचान र सामथ्र्य के बनाउनुभयो ?

तिलोत्तमा दुई दशकदेखि जनप्रतिनिधिविहीन स्थानीय तह, अलग–अलग पृष्ठभूमिका सातवटा गाविस मिलेर २०७१ सालमा बनेको नयाँ नगरपालिका हो । मानवीय तथा भौतिक स्रोत–साधनको कमीलगायतका तमाम समस्या र चुनौतीबाट माथि उठेर हामीले यसबीचमा जति काम गर्यौं, ती कामले यहाँका जनताको परिवर्तनप्रतिको तीव्र चाहनालाई सम्बोधन गर्न सकेको हाम्रो विश्वास छ ।  

जनप्रतिनिधि आइसकेपछि यहाँ भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण, सामाजिक रूपान्तरणको क्षेत्रमा थुप्रै रचनात्मक काम भएका छन् । यो अवधिमा गरेका कामहरूले तिलोत्तमालाई राष्ट्रिय रूपमा एउटा नमुना नगरका रूपमा चिनाएको अनुभव छ । तिलोत्तमाले एउटा सफा नगरको पहिचान बनाएको छ । स्थानीय तहहरूमध्ये पहिले स्थानीय कानुन निर्माण गर्ने नगरका रूपमा तिलोत्तमाले आफ्नो पहिचान बनाएको छ । तिलोत्तमा लगानीमैत्री नगर हो भन्ने पहिचान स्थापित भएको छ । हामीले काठमाडौं बाहिर पहिलो ऐतिहासिक लगानी सम्मेलन गरेका छौं ।

सबैभन्दा तल्लो तहको सरकारका रूपमा काम गर्दा सबै कुरा हामीले चाहेअनुसार हुँदैन ।

तिलोत्तमालाई सामुदायिक विद्यालयहरूको अब्बल नगरका रूपमा हामीले पहिचान दिलाएका छौं । बालमैत्री नगरपालिका, डिजिटल नगरपालिका, सबै घरको एउटै कलरकोड, बाँझो जग्गा राख्न निरुत्साहित, नगर सौन्दर्यकरण, ट्राफिक लाइट व्यवस्थापन जस्ता तमाम कुरामा तिलोत्तमाले आफ्नै पहिचान बनाएको छ । छोटकरीमा भन्नुपर्दा नेतृत्वको इच्छाशक्ति भए परिवर्तन सम्भव छ भन्ने कुरालाई हामीले देखाएका छौं । तिलोत्तमा नगरलाई विकासको बाटोमा हिँडाउने सामथ्र्य हामीले हासिल गरेका छौं । 

आमअपेक्षा र अप्ठेराहरूलाई कसरी सम्बोधन गरियो ?

नयाँ नगरपालिका भएकोले नगरवासीमा धेरै आशा र अपेक्षा हुनु नौलो विषय थिएन । किनकि हामीलाई सहरी पूर्वाधार निर्माण गर्नु पहिलो चुनौती थियो । लोकतन्त्रलाई सामाजिक जीवन पद्धतिका रूपमा स्थापित गर्दै शासकीय व्यवस्थामा आएको परिवर्तनको अनुभूति सबै नगरवासीले गर्न सकून् भन्नेमा हामी सधैं प्रयत्नशील रह्यौं । नगरको भौगोलिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक विविधतालाई आत्मसात् गर्दै सन्तुलित र समन्यायिक विकासको बाटोमा अघि बढ्दा आइपरेका अप्ठेरालाई सम्बोधन गर्न सक्यौं । हामीले सधैं योजनाबद्ध र प्राथमिकताका आधारमा विकास निर्माणका काम गर्दै आयौं । 

चुनावी घोषणापत्रमा वाचा गरिएका तपाईंका पाँच प्रमुख प्राथमिकता के थिए ?

हामीले चुनावी घोषणापत्रमा यहाँको भौतिक पूर्वाधारको विकास, सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर वृद्धि, स्वास्थ्य क्षेत्रको सबलीकरण, कृषि क्षेत्रको उत्थान, सुशासन, वातावरण संरक्षण जस्ता विषयलाई प्राथमिकतामा राखेका थियौं । 

अनि यी करिब पाँच वर्षमा तपाईंको नेतृत्वमा भएका प्रमुख पाँच काम के–के हुन् त ?

हामीले चुनावी घोषणापत्रअनुसार नै यो अवधिमा काम गर्यौं । मैले यसअघि नै भनिसकेँ कि, यहाँका सडक कालोपत्रे गर्ने, सडक स्तरोन्नति गर्ने, सामुदायिक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर बढाउने, यहाँ भएका स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी बनाउने, सबै वडामा स्वास्थ्य संस्था पुर्याउने, नगरपालिकालाई सफा र स्वच्छ राख्न नियमित सरसफाइ अभियान चलाउँदै फोहोर व्यवस्थापनको दिगो संरचना तयार गर्ने, कृषिको उत्पादकत्व वृद्धि गर्दै यहाँका युवालाई व्यावसायिक कृषिमा प्रोत्साहन गर्ने, सेवा प्रवाहलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने कामहरू यो अवधिमा भएका छन् । 

गर्न चाहेर पनि नसकिएका काम केके हुन् ?

भौतिक पूर्वाधारसँग सम्बन्धित केही काम हामीले चाहेर पनि गर्न सकेनौं । नयाँ नगरपालिका भएकाले यहाँका सडकहरू सबै स्तरीय छैनन् । पर्याप्त बजेट नहुँदा कालोपत्रे गरिएका सडकलाई पनि सुविधासम्पन्न, आकर्षक, ढल व्यवस्थापन गर्न सकिएको छैन । यदि आर्थिक स्रोत हुन्थ्यो भने हामीले नगरको सडक सञ्जाललाई थप स्तरीय बनाउन सक्थ्यौं ।

स्थानीयको साथ, सहयोग र सहकार्यअनुसार काम गर्दा जनसमर्थन प्राप्त हुँदो रहेछ ।

 

अरू कामहरू पनि आर्थिक स्रोत नहुँदा हामीले गर्न सकेका छैनौं । सबैभन्दा तल्लो तहको सरकारको रूपमा काम गर्दा सबै कुरा हामीले चाहेअनुसार हुँदैन । हामीलाई प्रदेश र संघीय सरकारको साथ चाहिन्छ । हामीले गर्न चाहेका कतिपय कामहरू नीतिगत कारणले पनि गर्न नसकेका छौं । 

तिनमा अवरोध कहाँ–कहाँबाट के कसरी आयो ?

आर्थिक स्रोत नहुँदा गर्न नसकिएका कामको सन्दर्भमा त बजेट पर्याप्त नहुन, नआउनु नै हो । अन्य काममा पनि नीतिगत कारणहरू अवरोधको रूपमा आएका छन् । सबै विषयमा एकल निर्णय गर्ने अधिकार स्थानीय तहलाई छैन । वन, सार्वजनिक जग्गा, ठूला पूर्वाधारका काममा केही काम गर्नुपर्यो भने स्थानीय तहले मात्र सक्दैन । स्थानीय तहलाई काम गर्न कठिनाइ छन् । 

अनि संवैधानिक, कानुनी र व्यवहारगत जटिलता के–कस्ता आइपरे ?

संवैधानिक, कानुनी अड्चनहरू छन्, जुन हामीले काम गर्दैैगर्दा भोग्यौं । कतिपय विषयमा अधिकारको बाँडफाँटसँग सम्बन्धित जटिलताहरू देखिएका छन् । सार्वजनिक खरिद ऐनसँग सम्बन्धित केही व्यावहारिक जटिलता छन्, काम गर्ने सन्दर्भमा । 

तपाईंको सरकारको आर्थिक, कानुनी, प्रशासनिक कार्यप्रणाली कस्तो बन्यो, यिनमा समस्या के के रहे ?

आर्थिक, कानुनी, प्रशासनिक कार्यप्रणालीलाई अधिकतम चुस्त बनाएका छौं । नगरपालिकालाई क्यासलेस बनाउन कार्यालय परिसरमा बैंक काउन्टर स्थापना गर्यौं । जनप्रतिनिधिहरूबाटैं लेखा प्रणालीको आन्तरिक अनुगमन व्यवस्था मिलायौं । स्वीकृत कार्यक्रमअनुसार बजेट परिचालन गर्ने संयन्त्र तयार गर्यौं । हाम्रा कामहरूलाई पारदर्शी बनाउन स्थानीय कानुनको निर्माण गर्यौं । प्रशासनिक प्रणालीलाई सहयोगी संयन्त्रको रूपमा विकास गरेका छौं । 

प्रदेश र संघीय सरकारबाट पाएको सहयोग–असहयोगबारे तपाईंको अनुभव–मूल्यांकन के छ ?

प्रदेश र संघीय सरकारबाट सहयोग नपाएको भन्न त मिल्दैन । तर आर्थिक स्रोत र कतिपय नीतिगत सवालमा केही अप्ठेरो परेको अनुभव छ । 

अब आउने नेतृत्वका लागि अनुभवप्राप्त अभिभावकका रूपमा के सुझाव छ ?

जनप्रतिनिधिका रूपमा काम गर्दा मैले गरेको अनुभव के हो भने इच्छाशक्ति भए परिवर्तन सम्भव छ । वास्तवमा स्थानीय सरकार भनेको जनताको सुख, दुःखको साथी हो । नागरिकलाई सरकारको अनुभूति दिलाउने स्थानीय सरकारले नै हो । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय सरकारलाई धेरै अधिकार दिएको छ । ऐनमा भएको व्यवस्थाअनुसार काम गर्ने हो भने हामीले नागरिकलाई परिवर्तनको अनुभूति दिलाउन सक्छौं ।

स्थानीय सरकार भनेको जनताको सुख, दुःखको साथी हो ।

स्थानीयको साथ, सहयोग र सहकार्य अनुसार काम गर्दा जनसमर्थन प्राप्त हुँदो रहेछ । कतिपय काम गर्दा सीमित व्यक्ति असन्तुष्ट हुन सक्छन् तर त्यो कामले बहुसंख्यकलाई हित र सामाजिक न्याय स्थापित गर्छ भने हामीले त्यो काम गर्नुपर्छ । यसरी असल नियतले बहुसंख्यकलाई हित गर्नेगरी असल, नयाँ, र जनताको मनछुने काम गर्नुपर्छ भन्ने मेरो सुझाव छ । 

अक्सर नागरिक हुँदा, प्रतिपक्षमा रहँदा एक खाले र शासक भइसकेपछि नजर अर्कै खाले बनिदिन्छ, सीमित स्रोत–साधनको अवस्था पनि बुझिन्छ होला, आफ्ना नागरिकमै के–कस्ता समस्या पाउनुभयो ?

काम गर्दै जाँदा समस्या आउँछन् । असल नियतले गरेका कामहरू पनि कतिपय व्यक्तिलाई अप्रिय लाग्न सक्छन् । तर, त्यसले दिगो रूपमा नगरलाई राम्रो बनाउँछ भने विरोधलाई पनि सामना गर्नुपर्छ भन्ने मेरो मान्यता छ । हाम्रो नगरपालिकामा नागरिकबाट कहिल्यै समस्या आएन । हामीले जे जति काम गर्यौं, ती कामहरू नगरवासीकै साथ सहयोगबाट भएको हो । त्यसैले हामीलाई नागरिकबाट कुनै प्रकारको अवरोध वा समस्या भएन । 

आफ्नो कार्यकाललाई १० पूर्णांकमा तपाईं आफैँ कति नम्बर दिनुहुन्छ ?

शतप्रतिशत त को कहिले हुन सक्ला र ? विकास, परिवर्तन भन्ने कुरा समय सापेक्ष हुने कुरा हो । हिजो हामीले चुनावको बेला जेजस्ता प्रतिबद्धता जनतामाझ व्यक्त गरेका थियौं, ती प्रतिबद्धता र हामीले गरेका कामको मूल्यांकन गर्दा १० पूर्णांकमा ९ दिन सकिन्छ भन्ने लाग्छ । 


Author

विक्रम खड्का

खड्का इकागजका लुम्बिनी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x