सूचना-प्रवधि

सरकारमा कसरी पुग्‍ने र पुगेपछि कसरी टिक्ने मात्रै नीति भयो : प्रधानमन्त्री

इकागज |
चैत २३, २०७७ सोमबार १६:४३ बजे

काठमाडौं : प्रधानमन्‍त्री केपीशर्मा ओलीले वैज्ञानिकहरूलाई यथास्थितिमै सन्तोष गर्न छोडेर उल्लेखनीय फड्को मार्नेगरी आविष्कार र अनुसन्धानतर्फ लाग्न अपिल गरेका छन् । उनले सबैको गति उत्साहहीन, संकल्पहीन, गन्तव्य नतोकिएको र अठोट नगरिएको र जे छ त्यसैमा सन्तोष लिने खालको रहेको पनि प्रधानमन्त्रीले बताए । 
‘सरकारमा रहनेलाई सरकारमा रहन पाए हुने भयो । पहिले सरकारमा कसरी पुग्ने र पुगे पछि कसरी टिक्ने नीति लिने मात्र काम जस्तो भयो’ , उनको भनाइ थियो । 
प्रधानमन्त्री ओलीले सोमबार सम्पन्न नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका (नास्ट) को ४४ औं प्राज्ञ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब नयाँ उचाइबाट वर्तमान परिस्थिति र भविष्यको सम्भावनालाइसमेत ध्यानमा राख्दै विज्ञान प्रविधिमा विकास गरिनुपर्ने विचार व्यक्त गरे । 

करिब एक सय ११ वर्षअघि दक्षिण एसियामा पहिलो पटक जलविद्युत गृह बनाउने देश अहिले पछाडी परेको उदाहरणसमेत प्रधानमन्त्रीले दिए । यसका साथै उहाँले वैज्ञानिकहरुलाई आफू आविष्कारक पुर्खाको सन्तान भएको नविर्सन पनि आग्रह गरे । यसबाट प्रेरणा लिँदै देशलाई हर क्षेत्रबाट अघिबढाउन आह्वान गरे। 
सभालाई सम्बोधन गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नास्टले आगामी दिनमा वैज्ञानिकहरुको वृत्ति विकासमा ध्यान दिने र देशमा वैज्ञानिक अनुसन्धानका लागि सहज वातावरण निर्माण गर्नेतर्फ अघि बढनुपर्ने बताए । 

कार्यक्रममा बोल्दै नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले समृद्धिका लागि नेपाली समाजको दैनिकी सँग जोडिएका प्रविधिको विकास र विस्तारमा नास्ट क्रियाशिल रहेको बताए । यस पटक नेपालको पहिलो भू उपग्रह नेपाली स्याट– १ सँग सम्पर्क स्थापना गर्न प्रतिष्ठानमा नियन्त्रण केन्द्र स्थापना गरिएको उनले जानकारी दिए । निकट भविष्यमा भवन अनुसन्धान केन्द्र, अन्तरिक्ष अनुसन्धान केन्द्र तथा परम्परागत प्रविधि केन्द्र स्थापना गर्न गृहकार्य अघि बढाइएको उनले बताए ।
 
सभाले वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गराउन र प्रतिभा प्रस्फुटन गराउन विभिन्न १२ विधामा स्थापना गरेका पुरस्कारहरुको समेत निर्णय गरेको छ । यस अनुसार डा.शेरबहादुर पुन, अनुपकुमार श्रेष्ठ, रेशमा तुलाधर, गोविन्दप्रसाद पोखरेल तथा नातिकाजी महर्जनलगायतका विज्ञान प्रविधि सम्बद्ध व्यक्तित्वहरूलाई पुरस्कृत गरिने छ । यसै गरी आगामी वर्षदेखि कृषिसम्बन्धी वैज्ञानिक कार्यका लागि समेत पुरस्कार दिइने निर्णय सभाले गरेको छ ।  



Author

थप समाचार
x