सूचना-प्रवधि

दिन बितेको पत्तो नहुने ‘क्लबहाउस’

सृजना खड्का |
जेठ २२, २०७८ शनिबार ११:४६ बजे

काठमाडौँ : निषेधाज्ञाले कलेज बन्द थियो । समय कटाउन उनलाई निकै मुस्किल परिरहेको थियो । ‘फेसबुक’ र ‘इन्स्टाग्राम’ वाक्क लाग्न थालिसकेको थियो । घर परिवार र साथीभाइसँग एउटै कुरा पटक-पटक कति गर्ने ? 

तर, केही दिनअघि उनी अर्थात् भक्तपुर सिपाडोलकी बिनिता थापाले ‘क्लबहाउस’बारे थाहा पाइन् र, त्यसमा जोडिइन् । जुन दिनदेखि क्लबहाउसमा जोडिइन्, त्यो दिनदेखि उनको अधिकांश समय क्लबहाउसमै बित्ने गरेको छ । 


‘क्लबहाउस’मा बिनितालाई दिन बितेको पत्तो हुँदैन । एकपटक यसमा छिरेपछि उनलाई त्यहाँबाट निस्किनै मन लाग्दैन । ‘एकपटक छिरेपछि दिन बितेको पत्तो हुँदैन,’ उनले भनिन्, ‘खाने बेला होस् वा सुत्ने बेला जतिबेलै क्लबहाउसमै गफ गरेर बस्न मन लाग्छ । निषेधाज्ञाले दिक्क लगाएको बेला क्लबहाउसले फ्रेस बनाइदिएको छ ।’ 

उनका फेसबुक म्यासेजरमा खासै नबोल्ने साथीहरू पनि क्लबहाउसमा आएर बोल्न थालेका छन् । त्यहाँ उनीहरू विभिन्‍न विषयमा रमाइला कुराकानी गर्छन् । ‘यसमा चिन्दै नचिनेका मान्छेहरूसँग जोडिन पाइने भएकाले रमाइलो हुन्छ,’ उनले भनिन्, ‘नयाँ आइडिया लिन पाइन्छ, नयाँ मान्छेका अनुभव सुन्‍न पाइन्छ ।’

‘क्लबहाउस’बारे थाहा पाउनुभन्दा पहिला उनी मोबाइल तात्नेगरी पब्जी गेम खेल्थिन् । ‘त्यसले समय बर्बाद गरेको जस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘पब्जी छाडेर क्लबहाउसतिर लागेको छु । यहाँबाट धेरै कुरा सिक्न पाइने भएकाले समय बितेकोमा पछुतो लागेको छैन ।’ 

बिनिताका साथी कबिन श्रेष्ठ पनि आजभोलि क्लबहाउस समय बिताउँछन् । आफूले फलो गर्ने ‘सेलिब्रिटी’ र ‘मोटिभेस्नल स्पिकर’लाई प्रत्यक्ष क्लबहाउसमा सुन्‍न पाउँदा उनी खुशी छन् । ‘आफूलाई जुन मन लाग्छ त्यही रुममा गएर कुरा सुन्‍न पाइन्छ,’ उनले भने, ‘त्यसमा कसैलाई म्यासेज गर्न मिल्दैन, प्रोफाइल हेर्न पनि मिल्दैन । अरु सोसल मिडिया मन नपराउनेलाई यो एप मन पर्न सक्छ ।’ 

अरुभन्दा यो ‘प्लेटफर्र्म’ उनलाई उपयुक्त लागेको छ । अडियो फिचर एकदमै क्लियर हुने भएकाले रेडियो कार्यक्रम सुने जस्तै लाग्छ उनलाई । ‘रेडियोमा सुन्‍न मात्रै मिल्छ, फिडब्याक दिन मिल्दैन,’ उनले भने, ‘यहाँ सुन्‍ने मात्रै होइन आफ्नो कुरा राख्‍न पनि पाइन्छ ।’

उनी छिर्ने रुममा कसैले गीत गाइरहेका हुन्छन्, कसैले जोक भनिरहेका हुन्छन् । सेयर मार्केटदेखि राजनीति, म्युजिक जस्ता विषयमा पनि छलफल भइरहेका हुन्छन् । उनी ‘करिअर टक’, ‘के छ हजुर ?’, ‘कम एन्ड सिङ्ग’, ‘सिंगल आउनुस्, मिंगल भएर जानुस्’ जस्ता रुममा रमाइरहेका छन् ।

तस्बिर : कबिन श्रेष्ठ

भक्तपुर दधिकोटकी सबिना कार्कीलाई नलजाइ नलुकाइ आफ्ना कुरा राख्‍न पाउने भएकाले क्लबहाउस मन पर्छ । ‘क्लबहाउसमा हावादेखि सिरियस टकसम्म गर्न मिल्ने भएकाले रमाइलो हुन्छ,’ उनले भनिन्, ‘विभिन्‍न रुपमा गएर हात उठाएर आफ्ना कुरा राख्‍न पाइने भएकाले मन हल्का हुन्छ ।’ 

निषेधाज्ञा भएर घरमा यसै बसिरहेको धेरै युवायुवतीको लागि यो एप उपलब्धिमूलक भएको उनले बताइन् । ‘नचिनेका सर्कलसँग जोडिएर उनीहरूका कुरा सुन्‍न पाइन्छ,’ उनले भनिन्, ‘सुन्‍न मन लागे सुन्‍ने नसुन्‍न मन नलागे नसुन्‍ने अप्सन पनि छ । इन्भाइट गरेर मात्र जोडिन मिल्ने भएकाले उत्सुक भएर धेरैजना यो एपमा जोडिएका छन् ।’

काठमाडौँ, बालाजुका सुदिन सिवाकोटीले भने पछिल्लो समय क्लबहाउस अश्लिल हुन थालेको महुसुस गरेका छन् । ‘क्लब हाउसका केही ग्रुपहरू अश्लिल हुन थालेका छन्,’ उनले भने, ‘हामीले खोजेको ‘ओपन सोसाइटी’ त्यहाँ भेटिन्छ । तर, आवाज मात्रै सुनिने प्रोफाइल नदेखिने भएकाले यसको दुरुपयोग पनि उत्तिकै भइरहेको छ ।’

न्यू मिडिया अभियन्ता प्रवेश सुवेदी कुनै नयाँ एप आउँदा त्यसमा मानिसहरू झुम्मिनुलाई स्वभाविक मान्छन् । ‘अघिल्लो लकडाउनमा टिकटक त्यसरी नै फेमस भएको थियो,’ उनले भने, ‘नयाँ एप आएसँगै मानिसहरू त्यसमा झुम्मिनु स्वभाविक हो । तर, ती एप हामीले चलाउनुपर्छ । एपले हामीलाई चलाउनु हुँदैन ।’ महत्व बुझेर चलाउन सके यस्ता एप निकै फाइदाजनक रहेको उनी बताउँछन् । ‘यस्ता एपको सदुपयोग गर्न सके फाइदा हुन्छ नसके हानि,’ उनले भने, ‘यस्तो एप फेसन जस्तै हो । समयसँगै नयाँ फेसन आएजस्तै नयाँ एप पनि आउँछन् । तर, त्यो फेसन आफूले अपनाउने/नअपनाउने आफ्नै हातमा छ ।’ 

के हो क्लबहाउस ?
गत वर्ष अप्रिलमा सार्वजनिक भएको ‘क्लबहाउस’ दुई हप्ताअघि नेपालमा एन्ड्रोइड भर्सनमा सार्वजनिक भएको हो । अल्फा एक्सप्लोरेसन कम्पनीका डेभलपर पल डेभिसन र रोहन सेठले बनाएको क्लबहाउस अडियोमा आधारित च्याटिङ प्लेटफर्म हो । 

​तस्बिर : कबिन श्रेष्ठ

क्लबहाउसका प्रयोगकर्ताले आफूलाई इच्छा लागेको रुममा अनुमतिविनै छिरेर कुराकानी सुन्‍न सक्छन् । आफ्ना कुरा राख्‍न सक्छन् । आफैँ पनि रुम बनाएर साथीहरूलाई इन्भाइट गरेर आफूलाई मन लागेको विषयमा छलफल गर्न सकिन्छ । 

यसमा अरु देशका मानिसले सञ्चालन गरेको रुपमा छिरेर पनि कुरा सुन्‍न सकिन्छ । एपभित्र गरेका गफ रेकर्ड हुँदैन । कुराकानी सकिएपछि फेरि सुन्‍न मिल्दैन । लाइभ सुन्‍नुपर्छ । यो ‘इन्भाइट’ बेस्ड एप हो । एपमा छिरिसकेको कुनै व्यक्तिले इन्भिटेसन पठाएपछि मात्र यसमा छिर्न मिल्छ ।


Author

सृजना खड्का

सामाजिक विषयमा कलम चलाउने खड्का संवाददाता हुन्।


थप समाचार
x