सूचना-प्रवधि

मोबाइल व्यवसायीद्वारा आन्दोलनका कार्यक्रम स्थगित

इकागज |
भदौ २९, २०८१ शनिबार १९:३८ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाल मोबाइल व्यवसायी महासंघले सामसुङ ब्राण्डका मोबाइलको भिजिबिलिटी बन्द गर्ने गरि घोषणा गरेको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।
महासंघ, मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल वितरक संघकाबीच शुक्रबार भएको त्रिपक्षीय सहमतिपछि महासंघले सामसुङ मोबाइल ब्राण्डका विरुद्ध घोषणा गरेको आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो ।

महासंघले उठाएको मार्जिन बढाउनु पर्ने विषयलाई मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल वितरक संघले समेत समर्थन गर्दै मार्जिन लगायतका विषयमा आगामी १३ मंसिरमा ठोस निर्णय लिने सहमति भएको हो। 


सो सहमतिमा नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई, मोबाइल फोन इम्पोर्टर एसोसिएसनका अध्यक्ष दीपक मल्होत्रा र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्यादोले हस्ताक्षर गरेका छन् ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा गत २० भाद्रका दिन आयोजित सामसुङ रिटेल मिट कार्यक्रममा आयोजक र व्यवसायी पक्ष बीच मार्जिनको विषयमा विवाद हुँदा महासंघ केन्द्रले संघर्षका कार्यक्रम घोषणा गरेको थियो। जस अनुसार भाद्र २६ र २७ गते सामसुङ मोबाइलको भिजिबिलिटी बन्द गरिएको थियो ।

`सो असमझदारीपछि सृजित अवस्था, विभिन्न चरणमा भएका वार्ता र संवादपछि हामी तीनै निकाय (नेपाल मोबाइल व्यवसायी महासंघ, मोबाइल फोन इम्पोर्टर एसोसिएसन र नेपाल मोबाइल वितरक संघ) एकताबद्ध भएर मार्जिन लगायत महासंघले उठाएका अन्य जायज मुद्दाहरूको विषयमा संयुक्त रुपमा अघि बढ्ने निष्कर्षमा पुगेका छौं', सहमति पछि शुक्रबार तीनै संस्थाद्वारा संयुक्त रुपमा जारी विज्ञप्तीमा भनिएको छ।

विज्ञप्तिमा महासंघले उठाएको मार्जिनको विषय तीनै निकायको आवश्यकताको विषय भएको भनिएको छ भने सो विषयमा आ-आफ्ना संस्थाका तर्फबाट आवश्यक तयारी गरी १३ मंसिर २०८१ अर्थात् आगामी २८ नोभेम्बरका दिन ठोस निर्णयमा पुग्ने गरि साझा सहमति बनेको उल्लेख छ।

`धनगढी घटनापछि सबै पक्षबाट भएका कमी कमजोरीलाई सुधार्दै अघि बढ्न हामी तयार रहेका छौं । साथै सो घटनापछि व्यावसायिक वातावरण प्रतिकूल हुने गरी कुनै पनि काम कारबाही नहुने वातावरण बनाउन हामी सबै पक्ष सहमत भएका छौं। हामी बीचमा भएका यी सहमतिपछि मोबाइल व्यवसायी महासंघले घोषणा गरेका सबै संघर्षका कार्यक्रम हाललाई स्थगित गरिएको सबै सरोकारवालामा जानकारी गराउँदछौँ', संयुक्त विज्ञप्तिमा भनिएको छ।


Author

थप समाचार
x