डोरेमन कार्टुनले बनाएको ‘एस्ट्रोनोमर’ एलन
काठमाडौं - तपाईंहरू धेरैले आफ्नो बाल्यकालमा डोरेमन र नोबिताको कार्टुन पक्कै हेर्नुभयो होला । कैयौं बिहानहरू डोरेमनको यात्राको साक्षी बनेर बिताउनु भयो होला । डोरेमन र नोबिता अन्तरिक्षमा गएको भाग हेर्नुभयो कि ? नहेरेको भए म सुनाउँछु, छोटोमा । डोरेमन र नोबिता आफ्नो अन्तरिक्ष यात्रामा कहिले नयाँ ग्रह, तारापुञ्जमा त कहिले छुट्टै ब्रह्माण्डमा पुगेर त्यहाँ नयाँ नयाँ अन्वेषण गर्दथे ।
हामी धेरैले यो भागलाई रमाइलोमा मात्र हे¥यौं । तर तपाईंलाई आज यस्तो व्यक्तिको कथा सुनाउँछौं, जसले यही भाग हेरेर नै आफ्नो जीवनमा ठूला परिवर्तन ल्याएका छन् । काठमाडौंका एलन बराललाई कार्टुन हेरेरै बिहान फुर्सद हुँदैनथ्यो । भलै उनलाई कार्टुनबाट मनोरञ्जन कम, जिज्ञासा बढी आउँथ्यो । डोरेमन र नोबिता अन्तरिक्ष गएको भाग हेरेपछि एलनको मनमा कौतुहल जाग्यो । त्यो ग्रहमा त्यत्रा गह्रुँगो वस्तु नोबिताले त्यति सजिलै कसरी उठाएको होला ? के साँच्चै अन्तरिक्षमा एलिएन छन् त? उनले आफैंलाई प्रश्न गर्थे ।
उनको जिज्ञासा मेटाउने कोही भएनन् । त्यही कौतुहलले नै उनलाई विज्ञान विषयको जिज्ञासु बनाइदियो । एक दशक बित्यो, अहिले उनलाई थाहा छ– मानिस चन्द्रमामा के गरी पुग्यो ? अन्तरिक्ष के हो ? उनलाई किताबले दिने अन्तरिक्षबारेको ज्ञान सबै थाहा छ ।
उनले केवल आफ्ना विद्यालयका पुस्तक मात्र पढेका छैनन् । पृथ्वीमा जीवनको उत्पत्तिदेखि क्षुद्रग्रह, अन्तरिक्ष, आकाशगंगाका बारेमा लेखिएका पुस्तक पनि पढेका छन्। अन्तरिक्षयात्रीहरूको अनुभव कण्ठ पारेका छन्, खगोलविद्हरूको खोजमूलक रिपोर्ट र जर्नलहरू पढेका छन् । ‘लकडाउनका बेलामा मैले धेरै पुस्तक पढें, अझै पनि पढ्छु,’ उनी भन्छ्न् ।
कक्षा १२ मा पढ्दै गर्दा एलन कलेजबाट विज्ञान प्रदर्शनीमा गए । त्यहाँ नजाँदासम्म उनी आफू संसार र संसारबाहिरको सम्भावित जीवनबारे जिज्ञासा राख्ने, एक्लो हुँ भन्ठान्थे । त्यही प्रदर्शनीमा गएपछि उनको भ्रम तोडियो । ‘त्यहाँ नजाँदासम्म मलाई लाग्थ्यो, म एक्लै छु जसलाई संसार र संसारबाहिरको धेरै कुरामा जिज्ञासा छ । तर त्यहाँ गएपछि मैले आफूलाई अनौठो फिल गरिनँ,’ उनले भने ।
लकडाउन सकिएपछि उनी अघिल्लो वर्ष माघमा नासो (नेपाल एस्ट्रोनोमिकल सोसाइटी)को क्याम्पमा गए । त्यतिबेला क्याम्पमा अरु १२ जना साथी भेटे, जो उनी जत्तिकै जिज्ञासु र सिक्न चाहने स्वभावका थिए । २ दिनसम्म तालिममा बसेका उनी एक वर्ष पछि आफ्नो अनुभव र लगनशीलताले गर्दा आफैं अरुलाई तालिममा सहयोग गर्न सक्ने भएका छन् ।
उमेरको उकालो उक्लिँदै गए पनि एलनको अझै पनि हरेक बिहान–बेलुका स्क्रिन हेरेर नै बित्छ । फरक यत्ति हो, पहिला डोरेमन र नोबिता हेर्थे अहिले अन्तरिक्षका फोटो, भिडियो र किताबहरू हेर्छन् । उनी घन्टौं, स्क्रिनमा आँखा डुलाइ बस्छन् । छेउछाउ आउने साथी, घर परिवारलाई चासो हुन्छ, ‘के मजा लिइरहेको छ र यसले त्यो हेरेर ?’
एलनलाई भने त्यही स्क्रिन हेर्नुमा छुट्टै मज्जा छ । उनलाई बाहिर खेल्न जानु, डुल्नुभन्दा पनि मजेदार त्यही स्क्रिन नियाल्नु छ । उनले एउटा अनुभव सुनाए, २०२१ को इन्डियन प्रिमिएर लिग (आइपिएल) फाइनल चलिरहेको थियो । एलन र उनका साथी आइपिएल हेर्न बसेका थिए । एलन आफ्नो ल्यापटप खोलेर बसे । साथीहरू आइपिएलका कुरा गरिरहँदा एलन ल्यापटपमा अन्तरिक्षकै अनुसन्धानमा घोत्लिरहे । खेल हेर्न साथीहरूसँग गएका एलनले खेल सकिएपछि बल्ल थाहा पाए, कसले जित्यो–हार्यो भनेर ।
नासोलाई ‘इन्टरनेसनल एस्ट्रोनोमिकल सर्च कोलबोरेसन’ बाट अन्तरिक्षका तस्बिरहरू आउँछन्, जहाँ खोजकर्ताहरूले क्षुद्रग्रह पत्ता लगाउने कोशिस गर्छन् । एलनको ल्यापटपमा श्यामश्वेत तस्बिरहरू नै खुला हुन्छन् । ती तस्बिर हेरेर नै एलन रात कटाउँछन्। ती फोटोहरूमा उनी केवल क्षुद्रग्रह, तारा खोजिरहेका छैनन्, आफ्नो भविष्य पनि खोजिरहेका छन् । एकवर्ष नहुँदै उनले दुईवटा क्षुद्रग्रह पत्ता लगाएका छन् ।
ती ग्रह पत्ता लगाउँदाको उनको अनुभव पनि उनी गर्वका साथ सुनाउँछन्। जसमा गत वर्ष मार्चमा उनी क्याम्पमा भाग लिन सुरु गरेका थिए । उनीसँगै साथीहरू कृपा चालिसे र निर्जल भुर्तेलले एउटा समूह बनाएका थिए, ‘डिप इम्प्याक्ट’। आफू एक्लै रहेर उनले नासोका गुरु सुरेश भट्टराई सम्मिलित अर्को समूह बनाए, ‘कस्मिक डान्सर ।’ डिप इम्प्याक्टबाट उनीहरूले एउटा क्षुद्रग्रह पत्ता लगाए । जसको संकेत अहिलेका लागि जिएम ७१ राखेका छन्।
आफू एक्लै रहेको समूहका लागि आएको सेटमा भने उनले ध्यान दिएका थिएनन्। पछि उनले ती सेट हेरे, अन्तिम दिनमा। १५ वटा सेटलाई उनले एकरातमै हेरेर सकाए, जहाँ उनले एउटा अर्को क्षुद्रग्रह पत्ता लगाए । त्यसको नाम जिडब्लु १६५ राखेका छन्।
क्षुद्रग्रह खोज्दा सुरुमा एलनजस्ता खोजकर्ताले क्षुद्रग्रहजस्तो देखिने वस्तुलाई ‘मार्क’ गरेर पठाउँछन्, जसबाट छानिएका धेरै मध्ये केही क्षुद्रग्रहको चरित्रसँग मेल भए मात्र त्यसलाई ‘प्रिलिमिनरी डिस्कभरी’ मा गनिन्छ । पछि त्यो मार्क गरिएको वस्तु क्षुद्रग्रह नै हो र अरुले पत्ता नलगाएको पुष्टि भए प्रोभिजनल स्टाटस पाउँछन्।
एलन र उनका साथीले पत्ता लगाएको क्षुद्रग्रहका नाम राख्न केही वर्ष कुर्नुपर्नेछ । किनकि त्यो क्षुद्रग्रहको स्थिर–कक्ष पत्ता लगाएपछि र त्यसबारे गहन अध्ययन गरेपछि मात्र त्यसको नाम राख्न दिइन्छ। एलनले पत्ता लगाएको क्षुद्रग्रहलाई इन्टरनेसनल एस्ट्रोनोमिकल सर्च कोलबोरेसनसंँग आवद्ध खगोलविद्हरूले अहिलेसम्म २८ पटक पुनः अवलोकन गरिसकेका छन् । अबका केही वर्षमा एलनले त्यसको नाम राख्नेछन् । उनले त्यसको नाम के राख्लान् त ? ‘आफ्नै वा कुनै प्रेरणादायी व्यक्तिको नाम पनि राख्न सक्छु । कोही माया गर्ने मान्छे भेटाएँ भने उहाँकै पनि नाम राख्न सक्छु,’ उनले खित्का छाड्दै सुनाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया