डिफेन्स

प्रधानमन्त्रीले लिए सुरक्षा अवस्थाबारे जानकारी

इकागज |
मंसिर ७, २०७७ आइतबार १९:३९ बजे

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखसँग पछिल्लो सुरक्षा अवस्थाबारेमा जानकारी लिएका छन् । उनले नेपालमा हुन लागेको विदेशी उच्चस्तरीय भ्रमणको सन्दर्भ र परिवर्तित राजनीतिक अवस्थाबारेमा ध्यान दिएर सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका हुन् । 

सत्तारुढ दलभित्र आन्तरिक किचलो भइरहँदा सेना, प्रहरी र गुप्तचरमार्फत अन्य नेताको चियोचर्चो सरकारले गरिरहेको भन्ने धारणहरू आइरहँदा उनीहरूलाई बोलाएर छलफल गरेका हुन् । आइतबार दिउँसो प्रधानमन्त्री ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसँग छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
 
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीषक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीषक शैलेन्द्र खनाल र राअविका प्रमुख गणेश अधिकारीलाई बोलाएर प्रधानमन्त्री ओलीले मुलुकको समग्र सुरक्षा अवस्थाबारेमा छलफल गरेका हुन् । यसअघि सुरक्षा अधिकारीहरूले जंगी अड्डामा छुट्टै छलफल समेत गरेका थिए । 


नेकपा फुटको संघारमा पुगेसँगै प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता समिकरणको प्रस्ताव राखेका छन् । यस्तो अवस्थामा सुरक्षा निकायका प्रमुखलाई बोलाएर छलफल गर्नुलाई अर्थपूर्ण रुपमा लिइनुपर्छ । यसैबीच दुवै छिमेकी मुलुकबाट उच्चस्तरीय भ्रमण यो र अर्को साता हुँदैछ । भारतीय विदेश सचिव र चिनियाँ रक्षामन्त्री आउने हुनाले पनि सुरक्षाको समंग्र अवस्था उनले जानकारी लिएका हुन् । 
 


Author

थप समाचार
x