डिफेन्स

टिप्पणी

कस्तो रह्यो प्रधानसेनापति थापाको कार्यकाल ? के शर्माले ‘लिगेसी’ पछ्याउलान् ?

चन्द्रशेखर अधिकारी |
जेठ १८, २०७८ मंगलबार २१:१२ बजे

अबको तीन महिनामा कुनै ठूलो उथलपुथल नभए नेपाली सेनाको ४४औँ प्रधानसेनापतिका रूपमा रथी प्रभुराम शर्माले नेतृत्व लिने निश्‍चित छ । युद्धकार्य महानिर्देशकको जिम्मेवारी सफलतापूर्वक सम्पन्‍न गरेका शर्मा सेनाभित्र ‘एक्सन म्यान’का रूपमा चित्रण गरिने सैन्य अधिकारी हुन् । उनले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी वहन गरिरहेका छन् ।

उनीपछिका रथी ईश्‍वर हमाल फोर्स कमाण्डरका रूपमा 'गोलन हाइट'मा कार्यरत रहेका कारण दुवै जिम्मेवारी उनमा आएको हो । छिमेकी भारतबाट नेशनल डिफेन्स कोर्स (एनडीसी) गरेका शर्माले भारत र अमेरिकामा उच्चशिक्षा एवं सैन्य शिक्षा/कला हासिल गरेका छन् । त्रिभुवन विश्‍वविद्यालयबाट इतिहासमा स्‍नातकोत्तर उनी सामूहिक नेतृत्वमा नै विश्‍वास गर्ने व्यक्तिको छवि बनाएका मिलनसार सैन्य अधिकारी हुन् ।


प्रधानसेनापतिले एक हजार दिन पूरा भएको अवसरमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममार्फत आफ्नो कार्यकालमा भए-गरेका काम-कारबाही  समीक्षा गर्ने भएका छन् । भावि सेनापतिलाई परिचय गराउने  कार्यक्रम पनि छ ।

नेपाली सेनामा पहिलो पटक ब्राह्मण समुदायका शर्मा नेतृत्वमा पुग्‍न लागेका हुन् । हुन पनि संयोग नै मान्‍नुपर्छ, आठ पृतनाबाट तीन जोड एक कमाण्डमा गएको नेपाली सेनाको दुई स्थानको नेतृत्व पनि ब्राह्मणकै छ । क्षत्री समुदायबाट जनजातिको नेतृत्व (प्रधानसेनापति) एक पटक र अहिले ब्राह्मणमा नेतृत्व जान लाग्दा बाहिर अनेकन् हल्ला भइरहेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापाले त्यो हल्ला चिर्दै आएका छन् ।

थापाले नयाँ आउने नेतृत्वको टिमलाई आफ्नोमा सँगै सहकार्यमा लगाउन थालेका छन् । नयाँ नेतृत्वले आफू अनुकूलको संरचना तयार गर्ने प्रचलन हुन्छ । केही पुरानै र केही नयाँ टिम त्यहाँ रहन्छ । 

४३औँ प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्दै गर्दा थापाले संगठनभित्रका आम समस्या स्वीकार गर्दै सुधार गर्ने पहिलो जिम्मेवारी सुनाएका थिए । संगठनको नेतृत्वकर्ता ठीक भए सबै ठीक हुने उनको बुझाइ थियो । त्यही अनुरूप उनले आँट गरे, कैँयनलाई कारबाही गरे, कैँयनले जागिर नै छोड्न पर्‍यो । उनले जिम्मेवारी लिएपछि खराब प्रवृत्तिमा रहेका र त्यससँग निकट मानिएका केही राम्रा पनि बिदा भए । प्रधानसेनापतिले लिएको ‘बोल्ड’ निर्णय थियो, यो । 

आगामी जेठ २३ गते उनले सेनामा जिम्मेवारी सम्हालेको एक हजार दिन पुग्दैछ । त्यही अवसरमा उनले आफूले गरेका कामका कमी-कमजोरी र भएका सुधारको समीक्षा गर्ने उनको सचिवालयले जनाएको छ । सेनाबारे बाहिर चल्ने नकारात्मक हल्ला चिर्ने काम उनले गरिसके ।

सेनाको नेतृत्वमा थापा जाँदै, शर्मा आउँदै  : थापाकै  पथको निरन्तरता कि नयाँ सुरुवात ?

सेनाभित्रको चेन अफ कमाण्ड र अनुशासनको विषयमा उनी निर्मम नै भए । अहिले पनि प्रधानसेनापति समय थप गर्न लागेको, वरियता बिगार्न खोजेकोलगायतका अनेकन् आरोप लागे तर उनले त्यसलाई चिरेका छन् ।

उनले आफू सेवा निवृत्त हुनुभन्दा तीन महिना अगावै भावी नेतृत्वलाई जिम्मेवारीको सहजिकरण गर्दै, सुम्पँदै गएको जानकारी पत्रकारलाई साक्षी राखेर नै दिने भएका छन् । उनको कार्यकाल भदौ २४ मा सकिदैछ । सेनाको परम्पराअनुसार साउन २४ बाट घरमा बस्‍ने हो तर उनले अगावै स्पष्ट पारिदिन लागेका हुन् ।

उनले साउन २३ गते नै त्यसबारे जानकारी दिएर बस्‍न सक्थे तर भ्रम चिर्न र एक हजार दिन पुगेपछि आफ्नो प्रतिबद्धता अनुरूपको काम भए/नभए बताउने र गर्न पर्ने कार्य आफ्ना सहकर्मीलाई बुझाउने जमर्को अनुरूप उनले कार्यक्रम राखेका हुन् । 

प्रधानसेनापति थापाले नेतृत्व वर्ग आफैँमा स्पष्टता, शुद्धता, इमानदारी, निष्ठा, नैतिकता र पारदर्शिता हुनुपर्ने बताउँदै आएका र त्यसअनुरूपको छवि देखाएर जान लागेका छन् ।

उनले पटक-पटकको भेटमा भन्‍ने विषयमध्येको एक हो, ‘प्रधानसेनापति भएँ । एक दिन भूतपूर्व हुनैछ । मैले यस्तो नचाहिँदो कोसिस के आधारमा गर्ने ? किन समय थप्‍नु छ र मलाई ? समय थपेर अरु एक-दुई वर्ष नै बसेँ भने पनि त्यसपछि त भूतपूर्व भइहाल्छु । यो बाँचुन्जेल हुने पद होइन ।’

यहाँ जे पनि हल्ला चल्दो रहेछ भन्दै गम्भीर भएर पनि भन्‍ने गरेका थिए, ‘मेरो वरपर रहनुभएका मात्र होइन संगठनलाई नै स्पष्ट छ । म घोषित कार्यकाल सकेर विधिपूर्वक नै बिदा हुनेछु । आफैँ सुधारको कुरा गर्ने आफैँ पदावधि थपेर बस्‍ने काम गर्छु होला त ? नजिकबाट चिन्‍नेहरूलाई मेरो रोडम्याप स्पष्ट छ ।’ 

प्रधानसेनापति थापाको चरित्र हत्या गर्ने कामसमेत भए होलान् तर सेनाभित्र एक प्रकारको सुधारको हिम्मत उनले गरेको थापाका कटु आलोचकले समेत बताउने गरेका छन् । पृथ्वीनारायण शाह मुलुकको एकताको प्रतीक मात्र नभएर नेपाली सेनाका कुशल नेतृत्वको आरम्भकर्ताका रूपमा चित्रण गर्दै सेनाले राष्ट्रिय एकतामा प्रहार हुन नदिने वाचा गरेअनुरूप थापाले काम गर्दै आएका छन् । उनीपछि आउने नेतृत्वले पनि त्यसलाई निरन्तरता दिनेमा थापा ढुक्क छन् ।

सेनामा आउने नयाँ नेतृत्व निर्वाचन जितेर बाहिरबाट आउने पद त होइन किनकि एउटा राष्ट्रपति गएर अर्को राष्ट्रपति आउँदा पो अनेकन परिवर्तन होलान् । सेनामा त सँगै रहेर सारथीका रूपमा काम गरेकाले नै नेतृत्व सम्हाल्ने हुन् । त्यसैले ठूलो परिवर्तन हुँदैन । तर सामान्य टिम बनाउने र काम गर्ने प्रचलन छ ।

‘नेपाली सेना समाजको उपज हो र यसका आरम्भकर्ता पृथ्वीनारायणकै पथमा अडेर एक सूत्रमा जनता जोड्ने कामको निरन्तरता सेनाले दिइरहनेछ’, थापाले भनेका थिए, ‘नेपाली नागरिक र सेना एकअर्काका परिपूरक हुन् ।’ समाजमा एकता भाँड्ने कुकृत्यको आरम्भ भएकाले सेनाले सचेत र संयमित भएर सबै परिदृश्य नियालिरहेको धारणा राख्‍ने उनी व्यवहारमा पनि त्यसैअनुरुप गर्न अग्रसर भए । 

लामो द्वन्द्वको अन्त्यसँगै संविधान जारी भई तीनै तहका निर्वाचन सम्पन्‍न भएपछि मुलुक स्थिरता र समृद्धितर्फ उन्मुख भइरहेको आम बुझाइप्रति सेना सहमत देखिन्थ्यो । तर, पछिल्लो समय खलबलिँदै गएको राजनीतिले सेनामा एक प्रकारको चिन्ता छ । किन राजनीतिक स्थायित्व हुन सकेन भन्‍ने चिन्ता सेनामा छ । 

सैन्य कूटनीतिमा समेत पछिल्लो समय अलिक चासो राखेको सेनाले मुलुकमा  आन्तरिक वा बाह्य कुन कारणले यहाँको राजनीति बढी तरंगित भएको चासोसमेत दिने गरेको छ । विश्‍व शान्तिका लागि सेना पठाउने पाँचौँ मुलुक हो, नेपाल । नेपालले सैन्य कूटनीतिलाई बढावा दिन सके सहकार्य राम्रो हुनेछ । त्यसतर्फ सरकारको पनि ध्यान जान आवश्यक छ ।

प्रधानसेनापति भएँ । एक दिन भूतपूर्व हुनैछ । मैले यस्तो नचाहिँदो कोसिस के आधारमा गर्ने ? किन समय थप्‍नु छ र मलाई ? समय थपेर अरु एक-दुई वर्ष नै बसेँ भने पनि त्यसपछि त भूतपूर्व भइहाल्छु । यो बाँचुन्जेल हुने पद होइन । म घोषित कार्यकाल सकेर विधिपूर्वक नै बिदा हुनेछु ।

डिफेन्स एटाचेसमेत भएर काम गरिसकेका शर्माले आफ्नो कार्यकालमा सैन्य कूटनीतिमा पनि जोड दिने विश्‍वास पक्कै वर्तमान नेतृत्वको छ । फोर्स कमाण्डरसमेत रहिसकेका वर्तमान नेतृत्वले सैन्य कूटनीतिको जग राम्रो बनाएको बुझाइ सेनामा छ ।

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने जिम्मेवारी नेपाली सेनाकै हो ।

प्रकृति संरक्षण तथा राष्ट्र निर्माणका साथै विपद् व्यवस्थापनमा समेत सेनाको काम सराहनीय मानिएको छ । बाह्य र आन्तरिक सुरक्षाको अन्तरसम्बन्धका कारण आन्तरिक द्वन्द्वको पुनरावृत्तिको सम्भावना रहेको सेनाको विश्लेषण सामान्य होइन ।

यस्ता विषयमा राजनीतिक नेतृत्वले ध्यान नदिएकामा सेनाको अव्यक्त गुनासो छ । संकीर्ण जातिवाद, कट्टर क्षेत्रीयतावाद र धार्मिक असहिष्णुताका कारण विविधतामा आधारित राष्ट्रिय एकतामा प्रहार हुँदै आएको र त्यसलाई रोक्न सेना सधैँ पर्खालका रूपमा रहने मन्तव्य पनि थापाले दिँदै आएका थिए । 

प्रधानसेनापति थापाले सेनाका रथी, अधिकृत र सकल दर्जालाई पहिलो सम्बोधन गर्ने क्रममा नै यस्ता विषय उठाएको र त्यसमा भएका कामको समीक्षा जेठ २३ मा गर्न लागेका हुन् । नेतृत्व सम्हाल्दा र एक/दुई वर्ष पुग्दा उनले आफ्नो कुरा सुनाएका थिए । अब, उनले आफ्नो कार्य सफलता र बाँकी अधुरा योजनासहितको रोडम्याप प्रस्तुत गर्ने तयारी रहेको सैन्य स्रोतले बतायो ।  

सेना लोकतन्त्रीकरण नभई ‘चेन अफ कमान्ड’मा चल्ने भएकाले व्यवसायीकरण गर्ने उनको लक्ष्य हो । अधिकृतमा वृत्ति विकासको असन्तुलनबीचको निराशा, शान्ति सेनामा सहभागिता हुँदै गएको कमी, वित्तीय अनुशासनमा आएको ह्रासलाई सेनाले तीन वर्षयता सुधार गर्दै आएको छ । 

प्रणालीलाई चुनौती दिने र चेन अफ कमान्ड तोड्नेकै संरक्षण गर्ने चुनौती पनि सैनिक नेतृत्वसमक्ष अझै बाँकी छ । राजनीतिक संरक्षण, आफन्त, साथीभाइ र निकटताले थिलोथिलो हुने क्रममा रहेको सेनाको ध्यान यस्तो प्रवृत्ति नियन्त्रण गर्नेतर्फ केही हदसम्म सफल देखिन्छ । ‘संगठन एकढिक्का भए मात्र काम गर्न सहज हुन्छ ।

अधिकृत सही मार्गमा हिँडे फौजलाई पनि त्यसको प्रभाव पर्छ । सेनामा पनि व्यक्तिगत स्वार्थ देखा पर्न थालेकाले त्यो स्वार्थबाट माथि उठ्न मेरो सबैलाई निर्देशन छ,’ थापाले भनेका थिए । पछिल्लो समय यही विषयलाई शर्माले अघि बढाउने अपेक्षा छ । 

सैनिक अनुशासन, नैतिकता र आचरणको सवालमा जस्तोसुकै कठोर निर्णय लिन पछि नपर्ने छवि बनाएका थापाले आफ्नो वक्तव्यमा भनेका थिए, ‘आफ्ना व्यक्तिगत स्वार्थपूर्तिका लागि नेता र उच्चाधिकारीको घर-घर चहार्ने र दुःख दिने कार्य हाबी भएको महसुस भएको छ । यस्तो प्रवृत्ति दोहोरिएमा त्यस्ता व्यक्ति सजायको भागीदार हुनेछन् ।’ 

सेनामा व्याप्त नक्कली सर्टिफिकेट, नागरिकतालगायतको कीर्ते काम र भर्नामा हुने चलखेलमा देखिएका गतिविधि नियन्त्रणको छानबिन गरेर थापाले आफ्नो कार्यकालमा एक प्रकारको सफाया नै गरे । जुन अझै जारी छ । सेनाभित्र पारदर्शितामा उनले दिएको जोड साँच्चै प्रशंसायोग्य रहेको सैन्य अधिकारीहरू नै बताउँछन । 

म त्यतिबेला सफल हुनेछु, जतिबेला नेपाली सेनाको सम्पूर्ण हौसला अभिवृद्धि हुनेछ, संगठन एक व्यावसायिक, एकताबद्ध र अनुशासित संस्थाका रूपमा रहनेछ ।

‘म त्यतिबेला सफल हुनेछु, जतिबेला नेपाली सेनाको सम्पूर्ण हौसला अभिवृद्धि हुनेछ, संगठन एक व्यावसायिक, एकताबद्ध र अनुशासित संस्थाका रूपमा रहनेछ’, प्रधानसेनापति थापाले भनेका थिए ।

सेनाले आफूलाई प्रविधिले पूर्ण बनाउन सक्नुपर्छ । यसका लागि अमेरिका, फ्रान्स, बेलायती र इजरायली सेनाबाट सिक्नुपर्छ- थोरै सेना तर उच्च प्रविधि । प्रविधिमा गएर सेनाको संख्या बढाउन आवश्यक छैन ।

ठूलो संख्याभन्दा पनि प्रविधिमैत्री अहिलेको सैन्य पहिचान बन्‍नुपर्छ । नेपाली सेना एसियाकै सबैभन्दा पुरानो सेना भएकाले राष्ट्र रक्षाका लागि सक्षम तथा समर्पित रहेको बताउँदै यसतर्फ सेनालाई जोड दिइएको हो । 

सेनापतिले एक हजार दिन पूरा भएको अवसरमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममार्फत आफ्नो कार्यकालमा भए गरेका काम-कारबाहीको समीक्षा गर्ने भएका छन् । उनले त्यहाँ भावि प्रधानसेनापतिलाई परिचय पनि गराउने छन् । सेनापति भएपछि थापाले ‘प्रधान सेनापतिको कमाण्ड मार्ग निर्देशन-२०७५’ जारी गरेको विषय उल्लिखित धारणामा नै आधारित थिए । जसमा सेनाको सोच, योजना, दृढता प्रस्तुत थिए । 

अहिले नै नियाल्दा सबै स्थानमा काम गर्ने सेना नै देखिएको छ । पूर्वाधार निर्माण सेना, सडक निर्माण सेना, कोभिड-१९ महामारीमा अक्सिजन पुर्‍याउन सेना, सडकमा कुनै समस्या आए सेना, शव व्यवस्थापनमा सेना, कूटनीतिक मामिला सल्टाउन सेना ।

आम जनतामा सेनाको काम मात्र देखिँदा सेनाको नेतृत्व वा नेतृत्व लिन पुग्‍ने व्यक्तिहरूको आकांक्षा चुलिँदा के होला ? त्यो सैन्य नेतृत्व र राजनीतिक नेतृत्वले विचार गर्न आवश्यक छ । 

यसरी सबै काममा सेनालाई अघि बढाउँदा सेना नै अलमलमा पर्ने वा सेना नै सबै हो भन्‍ने दिन आउने सम्भावना टाढा छैन । विपतमा गर्ने सेनाले नै हो । तर, आम जनतामा सेनाको काम मात्र देखिँदा सेनाको नेतृत्व वा नेतृत्व लिन पुग्‍ने व्यक्तिहरूको आकांक्षा चुलिँदा के होला त्यो सैन्य नेतृत्व र राजनीतिक नेतृत्वले विचार गर्न आवश्यक छ । 

प्रधानसेनापति थापाले  ‘राष्ट्र र जनता सबैभन्दा पहिला’ र ‘कर्तव्य सधैँ पहिला’ आत्मसात् गर्न नेपाली सेनालाई प्रेरित गर्दै आएका छन् । उनले आफ्नो कार्यकालमा ‘इतिहास जोगाउने र भविष्य देखाउने’ नारासहित गढी संरक्षणदेखि सम्पदा जोगाउने अभियान नै चलाए । त्यसअन्तर्गत गोरखादेखि काठमाडौँसम्म राष्ट्रिय एकता र्‍याली गरे । 

प्रधानसेनापति थापाले नेतृत्व वर्ग आफैँमा स्पष्टता, शुद्धता, इमानदारी, निष्ठा, नैतिकता र पारदर्शिता हुनुपर्ने बताउँदै आएका र त्यसअनुरूपको छवि देखाएर उनी जान लागेका छन् । उनको कार्यमा आरम्भदेखि नै शर्मा पनि संलग्‍न रहेकाले त्यसलाई निरन्तरता दिने र झन कठोर निर्णय लिँदै सैन्य संगठनलाई अब्बल बनाउने दाबी सेनाभित्र छ । तर, त्यो उनको कार्यकालले देखाउनेछ ।

यद्यपि, परिवर्तनको प्रकृति अपरिवर्तनीय रहेको र हरेक संगठनमा परिवर्तनको निरन्तरता मात्र नभई सुदृढीकरण तथा दीगोपनाको विषयमा सबैमा समान समझदारीको विकास र प्रवर्धन आवश्यक पर्दछ । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x