डिफेन्स

प्रधानसेनापति थापाको नेतृत्वको एक हजार दिन

अबको प्रधानसेनापति शर्मा : नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु

चन्द्रशेखर अधिकारी |
जेठ २३, २०७८ आइतवार २०:४२ बजे

काठमाडौँ : प्रधानसेनापति पूर्णचन्द्र थापाले औपचारिक रुपमा नै आइतबारदेखि नेतृत्व हस्तान्तरणको प्रक्रिया अघि बढाएका छन् । उनले आफ्नो कार्यकालको एक हजार दिन पुगेको अवसरमा नेतृत्व हस्तान्तरणको प्रक्रियाअघि बढाएको जानकारी दिएका हुन् । यद्यपि उनको कार्यकाल ९५ दिन बाँकी नै छ । ‘आज नेतृत्व हस्तान्तरणको अनौपचारिक प्रस्थान बिन्दू हो’ उनले भने ।

उनको कार्यकाल भदौ २४ गते सकिँदै छ । सकिनु एक महिनाअघि विदा बस्‍ने र नयाँ नेतृत्वको कार्यबाहकको रुपमा काम गर्ने प्रचलन थियो । । तर यसपटक उनले ९५ दिन बाँकी छँदै नेतृत्व हस्तान्तरणका प्रक्रिया अघि बढाएका हुन् । आफू दुई महिना यहाँ रहेर आफ्नो सबै प्रक्रिया आफू पछिकालाई सुझाउँदै जाने उनले बताए । 


सेनामा भावी नेतृत्वका निम्ति हुने हानाथाप र ढुकढुकीलाई अन्त्य गर्दै ढुक्कले काम गराउने अवस्था श्रृजना गराउन उनले यो थालनी गरेका हुन् । उनले पटक-पटक भन्दै आएका थिए, ‘बाहिर जे-जे भनिए पनि कार्यभार सम्हालेको एक हजार दिनमा नेतृत्व हस्तान्तरण प्रक्रियाअघि बढाउनेछु ।’ उनको पहिलो सम्बोधनमा पनि यो विषय उल्लेख थियो ।

नेपाली सेनाको परम्परा अनुसार, उनी साउन २४ बाट एक महिना बिदा बस्नुपर्ने हो । तर, उनले आफू दुई महिना नेतृत्वमा नै रहेर आफूपछि आउने नेतृत्वको टिमलाई कार्यालयमा सघाउने शैली प्रस्तुत गरेका छन् । यसले सेनामा समय थप्ने, नेतृत्वको हुने भन्ने विषयको बहस पनि अन्त्य भएको छ । यो शैलीको नेपाली सेनाभित्र निकै प्रशंसा भएको छ ।

‘यो दुई महिना नेतृत्व हस्तान्तरण कसरी प्रभावकारी बनाउने भन्‍नेमा केन्द्रित हुनेछु,’ उनले आइतबार जंगी अड्डामा आयोजित पत्रकारसँगको अन्तरक्रियामा भने । उनले शुक्रबार बिहान सेनामा भएको कार्यक्रममा रथी प्रभुराम शर्मालाई आफूले सबै कामको जिम्मेवारी सुम्पँदै जाने सार्वजनिक गरेका हुन् । उनीपछिका रथी नै शर्मा हुन् । शर्माले बलाध्यक्ष र बलाधिकृत दुवै रथीको जिम्मेवारी सम्हाल्दै आएका छन् । 

अर्का रथी ईश्वर हमाल फोर्स कमाण्डरको रुपमा गोलहाइटमा कार्यरत छन् । नेपाललाई बिरलै उपलब्ध हुने उक्त पद सेनाले कार्यकाल पूरा गरी फर्कनेछन् । नेपाली सेना सँधै आफ्नो थितिमा काम गर्ने हुनाले त्यो अनुरुपको परम्परामा जोड दिन पनि उनले बताए । उनले सेनामा पहिले भन्दा धेरै सुधारका कार्यहरु भएको र आफूले भन्दा पनि समूहले त्यो काम गरेको बताए । तीन वर्षे योजनासहित अघि बढेका थापाले भने, ‘लक्ष्य सूचक मैले सोचेको भन्दा उत्साहजनक छ ।’

नेपाली सेना यतिबेला पृतनाबाट कमाण्ड संरचनामा गएको छ । आठ पृतनाबाट 'तीन जोड एक कमाण्ड प्रणाली'मा सेना गएको हो । सेना कमाण्ड प्रणालीमा गएको विषयमा व्यापक बहस भएको छ । संघीयतालाई बेवास्ता गरेर सेना किन यो प्रणालीमा गयो ? भन्‍ने जिज्ञासामा प्रधानसेनापति थापाले भने, ‘हरेक प्रदेशमा बाहिनीले काम गर्ने र बाहिनी कमाण्ड अन्तर्गत रहनेछ ।’ 

संघीयतामा मुुलुक प्रवेश गर्नुअघिदेखि सेनामा कमाण्ड संरचनाको विषयमा बहस भएको स्पष्ट पार्दै सेनालाई भूगोल सुहाउँदो संरचनामा लगिएको तर संघीयतालाई बेवास्ता गर्ने काम नभएको पनि उनले बताए । नेपाली सेनाको नेतृत्व गरिरहँदा राष्ट्रिय सुरक्षा नीति, प्रतिरक्षा नीति लगायतको परिमार्जनसहित ल्याउन सकिएकोमा आफू खुसी रहेको बताए । 

उनले आफ्नै कार्यकालमा सबैको प्रयासमा सेनाभित्र नेसनल डिफेन्स कोर्षका लागि महाविद्यालयको प्रक्रिया अघि बढाएको र त्यो २०८१ बाट सुरु हुने समेत बताए । त्यससँगै नेपाली सेनाले सैन्य कूटनीतिलाई जोड दिएको विषय, सेनाको आफ्नोभित्र गरेका सुदृढीकरण, सवलीकरण, सैन्य ब्यारेकमा आधुनिक आवास, शिक्षा, स्वास्थ्यको क्षेत्रमा भएको विषयमा भएका कामप्रति उनी सन्तुष्ट देखिए । 

उनले एक प्रशंगमा भने नेपाली सेना मुलुकको राजनीतिक विषयमा प्रवेश गर्दैन भन्दै भने, ‘राजनीतिबारे सेना जानकार छ । हामी सबै संवैधानिक दायित्वबारे स्पष्ट पनि छौँ ।’

नेपाली सेनाले अबका दिनमा कसरी आफूलाई अघि बढाउँछ भन्दै गरिएको प्रश्नमा उनले त्यस्तो जवाफ दिएका हुन् । उनले थपे, ‘सेना लोकतान्त्रिक मूल्य र मान्यतालाई अंगिकार गर्दै आएको छ । नेपाली जनता र राष्ट्रको रक्षामा सेना तल्लिन रहनेछ । हामी भूगोलका हिसाबमा सानो र असजिलो अवस्थामा होलाउँ तर हाम्रो पुर्खाको मार्गदर्शन स्पष्ट छ ।’ 

चन्द समूहले बाटो बिराउँदैनन् 

पछिल्लो समय नेत्रविक्रम चन्द नेतृत्व नेपाल कम्युनिष्ट पार्टी समूह भविष्यमा फेरि द्वन्द्वको बाटोतिर नजाने विश्वास नेपाली सेनाको रहेको प्रधानसेनापति थापाले बताए । थापाले सरकार र चन्द समूहबीच भएको वार्ताले मूर्तरुप लिने विश्वास आफूहरुको रहेको पनि स्पष्ट पारे । 

सरकारले वार्ता गरेर यहाँसम्म ल्याएको चन्द समूह फेरि फर्केर द्वन्द्वमा जाने विश्वास नै सेनाले गर्दैन भन्दै उनले भने, ‘विश्वास गरौं, यसले मूर्तरुप लिनेछ र नेपाली समाजलाई भविष्यमा द्वन्द्वको श्रृंखलाबाट बाहिर लैजाने छ ।’ 

थापाले नेपाली जनताको चाहना र मुलुकको आवश्यकता पनि द्वन्द्व होइन भन्दै शान्ति र रोजगारी अहिलेको आवश्यकता रहेको बताए । उनले भने, ‘युवालाई विदेश पलायन हुनबाट रोक्न अनेकन कार्यमा हामी सबै लाग्‍न पर्ने छ ।’ यहाँ त्यस्तो द्वन्द्व बढेमा सुरक्षा निकायले पराजित गर्दै शान्ति कायम गर्ने विश्वास पनि उनले व्यक्त गरे । 
नेपाली सेनाले द्रुत मार्ग २०८१/८२ सम्पन्‍न गर्नेछ 

नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन रहेको काठमाडौँ-तराई/मधेश द्रूत मार्ग समयमा नै सम्पन्‍न हुने बताए । उनले सुरुङको काम सक्दासक्दै अन्य काम पनि सम्पन्‍न हुने दाबी गरे । विश्वकै सेनाले विकास निर्माणका काम गर्ने हुनाले यसलाई अन्यथा लिन नहुने बताए ।

सेनाले आफ्नो कल्याणकारी कोषबाट विभिन्‍न कार्य पनि गरिरहेको हुन्छ । त्यसलाई व्यापारको रुपमा नलिन उल्लेख गर्दै भने, ‘नेपाली सेनाले आफ्नै परिश्रमलाई जम्मा गरी पारदर्शी ढंगले सेनाकै निम्ति प्रयोग गरेको हो ।’ 

कोभिड महामारीमा पनि सेनाले अग्रपंतिमा रहेर काम गरिरहेको छ । यही बीचमा  स्वास्थ्य उपकरणको खरिदमा आएको विवादले अन्यको ध्यान केन्द्रीत गरेको भन्दै उनल भने, ‘त्यसमा भएको घटना बाहिर आइसकेको छ । यसभित्र म जाँदिन ।’  त्यसअतिरिक्त दू्रतमार्ग ठेक्कामा कमिशन सवालमा थापाले भने, ‘सेनाभित्र हुने ठेक्कापट्टा, खरिद-बिक्रीमा कसैले एक रुपैयाँ पनि तलमाथि गर्ने आँट गर्न सक्दैन । अब एक पैसा दाया-बाया गर्ने संस्कृति सेनामा छैन ।’ 

सीमामा सेना त्यत्तिकै जाँदैन 

कालापानी-लिम्यिाधुराको विषयमा सोधिएको एक जिज्ञासामा त्यहाँ तत्काल सेना तैनाथ हुने अवस्था नरहेको बताए । उनले सीमा सेना सिधा नजाने र सरकारसँग वार्ता भइरहेको विषयमा सेनाले सरकारको निर्देशन पर्खने स्पष्ट पारे ।  

सेनाले त्यस्ता क्षेत्रको अध्ययन भने गरिरहेको हुन्छ । सरकारका अन्य अंगहरूसँगका समन्वयमा सेनाले आफ्नो स्थानको पहिचान गर्ने काम गरिरहेको हुन्छ । अहिले त सेना भित्रै सीमा व्यवस्थापन अध्ययन निर्देशनालय नै राखेर काम गरिरहेको छ । साथै परराष्ट्र मन्त्रालय, गृहमन्त्रालय, नापी विभाग लगायतसँगै रहेर त्यसमा काम गरिरहेको जानकारी पनि उनले दिए । 

तर, दुई पक्षीय लडाई वा विवाद सुरु नभए सम्म सेना सीमा जाँदैन । ‘विश्वकै प्रचलन हो सेना सिँधै सीमामा तैनाथ हुँदैन’ प्रधानसेनापति थापाले भने, ‘विवाद भएपछि मात्र सेना सीमामा तैनाथ हुन्छ ।’ नेपाल सरकारले सीमा रहन सशस्त्र प्रहरी बललाई जिम्मेवारी तोकेको छ । उनले भने, ‘सीमाको वास्तवकिताबारे सेना जानकार रहन्छ । त्यसको समन्वय पनि सेनाले गरेको हुन्छ ।’ 

विपत व्यवस्थापन सेनाको आफ्नै काम 

उनले विपत व्यवस्थापनमा सेना सधै तयार रहेर बस्ने बताए । त्यो उद्दारका लागि सेनाले सँधै आफूलाई सबै कमाण्ड बाहिनीमा तैनाथ राखेको हुन्छ । बाढी, पहिरो, भुकम्प, सडक दुर्घटना, हवाई दुर्घटना, महामारी लगायत सबैमा तयार रहेर सुरक्षा समन्वयमा सहयोग गर्ने गर्छ । सेना ठूला खाले कार्यक्रमहरु, निर्माण कार्यमा पनि सधै व्याकअप फोर्सको रुपमा रहन्छ ।

यसमा नै अडेर सेनाले हिमाल सफाई, तालतलैया सफाई, पर्यावरणको बचाउ लगायतको काम गरेको पनि उनले बताए । थप परिस्कृत गर्न सेनामा प्रशिक्षण बढाउने आधुनिक संरचना तय गर्दै प्रविधि मैत्री बनाउने लगायतका कामको थालनी भएको छ। यसले सेनालाई राइट साइजमा राख्‍ने बुझाइ पनि नेतृत्वको छ ।  

सेनामा पुरस्कार र कारबाही तीव्र 

प्रधानसेनापति थापाले नक्कली सर्टिफिकेटवाला, नागरिकता सच्चाएका र भर्नामा घोटाला गरेकालाई कारबाही गरेर घर पठाए । यौन-हिंसा गर्ने माथिल्ला कर्मचारीलाई अनुसन्धान गरी कारबाहीको दायरमा ल्याएर जागिरबाटै बर्खास्त गरेका थिए ।

संस्थागत आन्तरिक व्यवस्थापनमा उच्च नैतिकता र पारदर्शिता, सैनिक भर्नामा पूर्ण पारदर्शिता तथा भनसुनमा रोक, शान्ति सेनामा कोटा खारेज, दण्ड र पुरस्कारको व्यवस्था, कार्यालयमा डिजिटल प्रविधिको व्यवस्था, तीन सैनिक अस्पताल थप तथा कमान्डको अवधारणा लागू गरेर सेनामा थापाले  प्रशंसा बटुलेका छन् । यो कार्यलाई भावी नेतृत्वले झन मेहनतका साथ अघि बढाउन पर्ने उनले बताए । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x