डिफेन्स

नेपाली सेनाले सात झण्डा फहराउने

राष्ट्रिय झण्डासँगै सेनाका आफ्नै ६ झण्डा

चन्द्रशेखर अधिकारी |
जेठ २४, २०७८ सोमवार १७:३६ बजे

काठमाडौँ : नेपाली सेनाले पहिलो पटक छुट्टै सांगठनिक झण्डा प्रयोगमा ल्याएको छ । सेनाले प्रधानसेनापतिकै झण्डालाई सांगठनिक झण्डाको रूपमा प्रयोग गर्दै आएको थियो । यतिबेला नेपाली सेना आठ पृतनाबाट ‘तीन जोड एक’ कमाण्ड प्रणालीमा गएको छ । यसलाई सेनाले अन्तर्राष्ट्रियस्तरको र नेपाली भूगोल सुहाउँदो निर्णय भनेको छ । यो निर्णयसँगै सेनाले आफ्नो झण्डा पनि फरक-फरक बनाएको छ । 

कुन कमाण्ड भनेर पहिचान गरिने चार कमाण्डको चारथरि झण्डा छन् भने प्रधानसेनापतिको र नेपाली सेनाको संगठनको एक झण्डा रहने छ । सबै झण्डामा नेपालको झण्डा राखिए पनि सेनाले आफ्नो ६ झण्डासँगै नेपालको झण्डा पनि छुट्टै फहराउनेछ । यसो गर्दा सेनाले सात झण्डा फहराउनेछ । 


सेनाले प्रधानसेनापतिको झण्डा र नेपालको झण्डा फहराउँदै आएको थियो । अन्तर्राष्ट्रिय अभ्यासलाई ध्यानमा राखेर सेनाले यस किसिमको झण्डा तय गरेको हो । नेपाली सेनाले चार कमाण्डको छुट्टै झण्डा र आदर्श वाक्यसहित तयार पारेको छ । 

पूर्वी कमाण्ड 

पूर्वी कमाण्डको आधार निलो छ भने किनारा कलेजी । निलो रंगलाई ईश्‍वरीय ज्ञान र व्यापक आकासशीय सुन्दरताको प्रतीक देखिएको छ । बीचमा षडकोणभित्र राजा इन्द्रले प्रयोग गर्ने अजेय बलको संकेत राखिएको छ । त्यसको अर्थ हुन्छ, चारै दिशाका शत्रुलाई प्रहार गर्ने । त्यो अस्त्र भने सुनौलो रंगमा छ । षडकोण रातो रंगमा छ । पृष्ठभूमिको ‘रिव्याण्ड’मा भने आर्दश वाक्य छ । पूर्वी कमाण्डमा ‘कौशीकी मेची रक्षैव नेपाल रक्षा’ कालो अक्षरमा लेखिएको छ । 

मध्य कमाण्ड

यस्तै मध्य कमाण्डमा पहेलो गाढा पृष्ठभूमि छ । जसलाई सेनाले विद्वानहरूको ज्ञानको प्रतीक भनेको छ । ज्ञान र वैभवता चिनाउने अर्थमा यसलाई देखाइन्छ । बाहिरी किनार फुस्रो सिम्रिकको छ । यो रंगलाई विजय र सौभाग्यताको रंगको रूपमा लिइन्छ । यसमा पनि रातो षडकोण छ । त्यसभित्र पिनाक धनुषमा ताँदो चढाइएको देखाइएको छ । यसमा पनि रिव्याण्डमा आदर्शवाक्यको रूपमा 'गण्डकी रक्षैव नेपाल रक्षा' लेखिएको छ ।

पश्‍चिम कमाण्ड

पश्‍चिम कमाण्डको पृष्ठभूमि गाढा कलेजी रंगको छ । मधुर सुन्दरताको भाव देखाउने र अस्तित्व दर्शाउने अर्थमा यसलाई उपयोग गरिएको हो । यसको किनार हरियो रंगको छ । जैविक विविधताका लागि त्यो रंग प्रयोग गरिएको अर्थ्याइएको छ । इसान पनि रातो षडकोणभित्र अमोघ शक्तिको प्रतीकात्मक स्वरुप राखिएको छ । यसमा पनि रिव्याण्ड भित्र ‘कर्णाली काली रक्षैव नेपाल रक्षा’ कालो अक्षरमा राखिएको छ । 

उपत्यका कमाण्ड

चौँथो अर्थात् ‘एक जोड’ कमाण्डको रूपमा रहेको उपत्यका कमाण्डको पृष्ठभूमि गाढा हरियो छ । जैविक विविधता र प्रकृतिका अनुपम सुन्दरता देखाउन खोजेको छ । सिम्रिक रंगको किनार बनाइएको छ । विजय, विरता, सौभाग्य र सुन्दरताको रंगको रूपमा यसलाई लिइएको छ । गाढा रातो षडकोणभित्र आधा आँखा खोलिएका स्वयम्भूको प्रतीक र पशुपतिको डमरुसहितको त्रिशुल जुन गोरखनाथ बाबाले धारण गर्छन् । रिव्याण्डमा ‘वाग्मती रक्षैव नेपाल रक्षा’ कालो अक्षरमा दर्साइएको छ ।

नेपाली सेनाकाे सांगठनिक झण्डा 

यी चार कमाण्डको झण्डा अलवा नेपाली सेनाको आफ्नो छुट्टै सांगठनिक झण्डा पनि तय छ । रातो पृष्ठभूमिमा झण्डा बनेको छ । सुनौलो षडकोणभित्र गोरखनाथ बाबाले धारण गर्ने डमरसहितको त्रिशुल (नेपाली सेनाको प्रतीक) र षडकोणको मुनी खुकुरी क्रस रहन्छ यसको रातो रिब्याण्डमा आदर्श वाक्य ‘नेपाल रक्षार्थ सम्भावामी युगे युगे’ लेखिएको छ । 

युगौ युगसम्म नेपाल राष्ट्र, राष्ट्रियता, अखण्डताको रक्षार्थ अभिप्रेरित हुने गरी लेखिएको छ । क्रस खुकुरी गोर्खालीको सानले अभिप्रेरित छ । बहादुरीपनाको एउटा सान नै हो, झण्डाको किनारमा पहेलो रंग छ । सम्पन्‍नता, वैभवता र व्यपकताको प्रतीकको रूपमा त्यस्तो किनारा उपयोग गरेको सेनाको धारणा छ ।

प्रधानसेनापतिको झण्डा

प्रधानसेनापतिले उपयोग गर्ने झण्डा फरक छ । यसअघि संगठन र प्रधानसेनापतिको एकै झण्डा हुन्थ्यो । प्रधानसेनापतिको झण्डामा पनि अन्य झण्डामा झै दायातर्फ राष्ट्रिय झण्डा र बाँयातर्फ षडकोणभित्र डमरुधारी त्रिशुल अनि त्यसको छेउमा सेनाको दर्ज्यानी चिन्ह राखिएको छ । यसमा कुनै किनार छैन । तर राष्ट्रिय झण्डाको सेतो व्याग्रउण्डमा उपयोग भएको छ ।  यसबाहेक नेपाली सेनाले राष्ट्रिय झण्डालाई छुट्टै पनि फहाराउने छ । नेपाली सेनाको हरेक झण्डामा पनि राष्ट्रिय झण्डाको प्रयोग गरेको छ । 


Author

चन्द्रशेखर अधिकारी

अन्तर्राष्ट्रिय राजनीति र रक्षा मामलामा कलम चलाउने अधिकारी प्रबन्ध सम्पादक हुन् ।


थप समाचार
x