Ekagaj Logo
०८ कात्तिक २०८१, बिहीबार
(Thursday, 24 October, 2024)

डिफेन्स

नेपाली सेनाको हेलिकप्टरबाट करिब ८ सयको उद्धार

इकागज |
असोज १६, २०८१ बुधबार १४:४७ बजे

फाइल फाेटाे

काठमाडौँ - काभ्रे जिल्लामा नेपाली सेनाको हेलिकप्टरबाट हालसम्म करिब ८ सय जनाको उद्धार गरिएको छ ।​

अविरल वर्षाको कारण काभ्रेको विभिन्न स्थानमा आएको बाढी र पहिरो कारण जिल्लाको विभिन्न ठाउँमा अलपत्र परेकालाई नेपाली सेना तथा जिल्ला स्थित सुरक्षा निकाय र अन्य संघ संस्थाहरूको समेत समन्वयमा उद्धार गरिएको हो ।


कालीजंग गण धुलिखेलका गणपति प्रमुख सेनानी प्रकाशबहादुर सिंहले नेपाली सेनाका फौज विभिन्न स्थानमा परिचालन गरी खोज तथा उद्धार कार्यमा सक्रिय भएको बताए । असोज १० गते देखि निरन्तर परिरहेको अविरल वर्षातका कारण असोज ११ र १२ गते जिल्लाका विभिन्न स्थानमा क्षति भएको थियो ।

नेपाली सेनाको कालीजंग गणले मंगलटार इलाकामा रहेका अलपत्र अवस्थाका नागरिकहरूलाई रोशी ९ मा खाद्यान्न समेत वितरण गरेको थियो भने ३७ ब्यक्तिहरूको उद्धार गरेको थियो । जसमा २३ जना घाइते थिए ।

पनौती नगरपालिका वडा नम्बर १२ मा उद्धार टोली मार्फत ३ जनाको उद्धार पछि अस्पताल पठाएको थियो । रोशी गाउँपालिकामा ३ विदेशी नागरिक सहित ४० ब्यक्तिहरूको उद्धार गरेको छ । चौरीदेउराली, बेथान्चोक गाउँपालिकामा रहेका घाइतेहरूको पनि उद्धार गरेको छ ।​

रोशी र तेमाल गाउँपालिकामा गणले २ सय भन्दा धेरै व्यक्तिलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको छ भने सिन्धुली र रोशी गाउँपालिका अलपत्र रहेका विदेशी नागरिकहरूसहित ३७ जनाले तेस्रो चरणमा धुलिखेल ल्याएको थियो ।

खोज र उद्धारसँगै नेपाली सेनाको फौजले स्थानीयहरूको पुरिएका घरहरूको सामग्री निकाल्न सहयोग गरिरहेका छन् भने नागरिकहरू पुरिएको अवस्थामा खोजका लागि सहयोग गरिरहेका छन् । 


Author

थप समाचार
x