डिफेन्स

प्रधानसेनापति सिग्देल भारत प्रस्थान

इकागज |
मंसिर २५, २०८१ मंगलबार २०:४८ बजे

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल छिमेकी मुलुक भारत प्रस्थान गरेका छन् । 

भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्धिवेदीको निमन्त्रणमा सिग्देलले मंसिर २६ देखि २९ सम्म भारतको औपचारिक भ्रमण गर्दैछन्, जसका लागि आज उनी भारत प्रस्थान गरेका हुन् । प्रधान सेनापति सिग्देलको भारत भ्रमण टिममा सिग्देलपत्नी नीता क्षेत्री सिग्देलसहित ९ जना सहभागी रहेका छन् ।


प्रधान सेनापतिलाई बलाध्यक्ष रथी प्रदीप जंग केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका हुन् ।

सिग्देललाई मंसिर २७ मा भारतीय राष्ट्रपतिले भारतीय स्थल सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ भने इन्डियन मिलिटरी एकेडेमीमा तालिमरत अधिकृत क्याडेठको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा प्रधान सेनापति सहभागी हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।  

उनी ३० मंसिरमा स्वदेश फर्कने छन् । 


Author

थप समाचार
x