डिफेन्स

सेनालाई प्रधानमन्त्रीको निर्देशन-‘सेनाभित्रै घुसपैठ हुनसक्छ, थप चनाखो बन्‍नुस्’

इकागज |
कात्तिक २, २०७७ आइतबार १९:५७ बजे

काठमाडौं : प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीले सेनाभित्र घुसपैठ हुन नदिन सबै सजग हुनुपर्ने बेला आएको बताएका छन् । आइतबार ‘पृतनापति समन्वयात्मक बैठक’ को उद्घाटनका अवसरमा ‘भर्चुअल’ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली सेनाभित्रै घुसपैठ हुनसक्ने भएकाले थप चनाखो बन्न सैनिक नेतृत्वलाई निर्देशन दिएका छन् ।

‘नेपाली सेनाभित्रै हुनसक्ने घुसपैठ सम्बन्धमा पनि नेपाली सेना चनाखो हुनुपर्छ । विशेषतः उच्च नेतृत्व वर्ग सचेत रहनु पर्छ भन्ने सन्देश प्रवाह गर्न चाहन्छु’, प्रधानमन्त्री ओलीले भने । रक्षामन्त्रीको जिम्मेवारीबाट इश्वर पोखरेल मुक्त भएको एक साता नबित्दै नेपाली सेनाले पृतनापतिको भर्चुअल सम्मेलन गरेको हो ।


गत भदौमा गर्ने भनिएको सम्मेलन कोभिड–१९ को कारण देखाएर सेनाले पछि सार्दै आएको थियो । प्रधानमन्त्री ओलीले सेनाको संलग्‍नतामा हुने सबै काम उच्च राष्ट्रिय महत्वका हुने हुनाले यसमा सेनाले आफ्नो र राष्ट्रको मर्यादा ख्याल राख्‍ने गरेकोमा धन्यवाद समेत ब्यक्त गरे । सेनाले गरेका सबै काम राष्ट्रिय उपलब्धि भएको बताए ।

लक्ष्य अनुरुप द्रुत मार्ग सम्पन्‍न गर्नु

काठमाडौंलाई तराई/मधेशसँग जोड्ने रणनीतिक सडकको रुपमा लिइएको काठमाडौं-तराई/मधेश द्रुतमार्गको काम सेनाले समयमा सम्पन्‍न गर्न पर्ने बताएका छन । ‘सेनाको व्यवस्थापनमा रहेको राष्ट्रिय गौरवको द्रूतमार्ग गत वर्ष विभिन्न बाधा अड्चन आए तापनि अन्तर्राष्ट्रिय परामर्शदाता छनौट भइसकेको परिप्रेक्ष्यमा लक्ष्यबमोजिम काम सक्नेमा नेपाली सेनाको थप ध्यान केन्द्रित हुनुपर्ने मैले देखेको छु’, उनले भने ।

सेनाको गौरव समेत जोडिएको यो विषयमा सैन्य नेतृत्वको ध्यान जान आवश्यक छ । उनले सेनालाई काम गर्न थप सहज बनाउने भन्दै जङ्गी अड्डाबाट प्राप्त सैनिक ऐन, २०६३ संशोधनको मस्यौदा पनि अध्ययनपछि स्वीकृत गराउने बताए । उनले कठिन भूगोल र प्रतिकूल मौसमका बावजुद छोटो अवधिमा दार्चुला जिल्लाको छाङ्रुमा घोडेटो बाटो निर्माण गरेकोमा सेना प्रशंसा गरे ।

साम्प्रदायिक भावना फैलाउनेहरु सक्रिय

राष्ट्रभित्र साम्प्रदायिक भावना फैलाउन खोज्ने केही तत्वहरु सक्रिय रहेकोमा सेनालाई सचेत रहन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द विप्लव समूहतर्फ इंगित गर्दै जनतामा विभाजन ल्याउन उध्दत तत्वहरू अझै सक्रिय रहेको बताए । ‘राष्ट्रिय एकतामा बिग्रह ल्याउन खोज्ने, देशलाई पुनः अस्थिरताको भूँमरीमा धकेली जनतामा डर र त्रासको वातावरण सिर्जना गरी आफ्नो अभिष्ट पूरा गर्न क्रियाशील व्यक्ति वा समूहहरू राष्ट्रिय सुरक्षाका प्रमुख चुनौती हुन्,’ प्रधानमन्त्रीले भने, ‘विशेषतः उच्च नेतृत्व वर्ग सचेत रहनु पर्छ भन्‍ने सन्देश प्रवाह गर्न चाहन्छु ।’

कोभिड-१९ रोकथाम, प्रतिकार्य र नियन्त्रणको कार्य तथा बाढी, पहिरो र डुबानजस्ता विपद्को अवस्थामा निर्वाह गर्दै आएको भूमिकालगायतको उच्च मूल्यांकन गर्ने समेत उनले बताए । कोभिड–१९ विरुद्धको राष्ट्रिय लडाईमा नेपाली सेनाले केन्द्रदेखि प्रदेश र स्थानीय सरकारहरुलाई पुर्‍याएको सहयोगको उनले प्रशंसा गरे ।

विदेशबाट हवाई र स्थलमार्ग हुँदै स्वदेश फिर्ता हुने नेपालीहरुको सम्पूर्ण व्यवस्थापन कार्य, क्वारेन्टिन र आइसोलेसन सेन्टरहरुको व्यवस्थापन, जनचेतना अभिबृद्धि कार्य लगायतका समेत प्रधानमन्त्री ओलीले प्रशंसा गर्दै भने, ‘कोभिड-१९ को संक्रमणबाट मृत्यु भएका नागरिकको अन्तिम संस्कार गर्ने सैनिक जवानहरुको कार्यको पनि प्रशंसा गर्छु ।’  

गर्विलो सेना

नेपाली सेनाको इतिहास गर्विलो रहेको भन्दै प्रधानमन्त्री ओलीले सेनाको कामको खुलेर प्रशंसा गरेका छन् । ‘सेनाको इतिहास जति गर्विलो छ, यसको वर्तमान उत्तिकै भरपर्दो र विश्वसनीय छ’ उनले भने, ‘सरकार प्रमुखका हैसियतले नेपाली सेनाका सम्पूर्ण जवानहरुको कर्तव्यपरायणता, राष्ट्रप्रतिको बफादारिता, देशभक्ति र समर्पण मेरो लागि पनि गर्वको विषय हो ।’

आफूले पछिल्लो पटक सरकारको नेतृत्व गरेको करिब ३ वर्षको यात्रामा नेपाली सेनाबाट राष्ट्रिय महत्व बोकेका धेरै कार्यहरु सम्पन्न भएको र हुनेक्रममा रहेको बताए । उनले नेपाली सेनाको कार्यसम्पादन उत्साहजनक रहेको पनि बताए । कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा सेनाले गरेका कार्यको प्रशंसा गरे । यस आर्थिक वर्षमा हाम्रा केही कार्यक्रम अपेक्षाकृत रुपमा सम्बोधन हुन नसकेको वास्तविकता पनि उनले सुनाए ।

अन्तराष्ट्रिय परिस्थिती र सेना

प्रधानमन्त्री ओलीले विद्यमान अन्तर्राष्ट्रिय परिवेश तथा क्षेत्रीय परिस्थितिबाट उत्पन्‍न हुने विविध अवस्था, सुरक्षा खतरा एवं चुनौतीहरूमा समेत सेनाले ध्यान दिनुपर्ने बताए । उनले त्यसको वावजुद सेनाले पूर्वाधार निर्माण, आर्थिक स्थिरता एवं विकास तथा जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सम्बोधनका आवश्यकताहरू तत्कालीन चुनौतिका रुपमा टड्कारो रहेको बताए ।

उनले प्रधान सेनापति पूर्णचन्द्र थापाको प्रशंसा गर्दै पछिल्लो समय सेना रुपान्तरणका विविध कार्यक्रमहरु, आर्थिक सुशासन तथा प्रणाली र पद्धति स्थापना गर्ने सम्बन्धी व्यवस्था प्रशंसनीय रहेको उनले बताए । ‘सेनाभित्र पारदर्शिता र इमान्दारिताको अभ्यास स्थापित हुँदै गएको मैले पाएको छु,’ उनले भने ।

प्रधानसेनापतिले अघि सारेका यो योजनामा आफ्नौ पूर्ण सहयोग रहने समेत बताए । महामारीका कारण सिर्जित अन्यौलता एवं निराशा तथा आर्थिक गतिविधिमा देखिएको सुस्तताका कारण उत्पन्‍न हुन सक्ने चुनौतिहरुको सामना गर्ने गरी आगामी रणनीति तय गर्न बैठक उपयोग हुने प्रधानसेनापति थापाले बताए ।

नेपाल सरकार तथा रक्षा मन्त्रालयबाट सकारात्मक सहयोग प्राप्त भइरहेको र यस्तै सहयोग भविष्यमा निरन्तर रहन सक्दा मात्र सेनाको मनोवल उच्च हुने रथी प्रभुराम शर्माले बताए ।
समन्वयात्मक बैठकको क्रममा सहभागी महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा पृतनापतिहरुबाट आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्न सक्ने चुनौतीहरु एवं सुझाव प्रस्तुत भएको छ, जसमा विस्तृत छलफल हुनेछ ।
 


Author

थप समाचार
x