डिफेन्स

नेपाल प्रहरीको सुडान मिसन बन्द हुँदै

इकागज |
माघ १९, २०७७ सोमबार १४:१७ बजे

काठमाडौँ : नेपाल प्रहरीको सुडान मिसन बन्द हुने भएको छ । २८ वर्षदेखि शान्तिका लागि नेपालबाट सुडानमा आफ्नो उपस्थिती रहँदै आएको छ । नेपाल प्रहरी सन् १९९२ मार्च देखि राष्ट्र संघीय शान्ति मिसनमा सहभागी हुँदै आइरहेको छ । सुडानमा हाल १९० जना नेपाल प्रहरीका जावान र अधिकृत कार्यरत छन् । उनीहरु तीन देखि पाँच महिनमा फर्किसक्ने छन् ।

राष्ट्र संघ सुरक्षा परिषद्ले सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसन (युनामीड) ३१ डिसेम्बर २०२० पछि क्रमैसँग बन्द गर्ने निर्णय गरेको थियो । ‘सुडानमा हाम्रो मिसन बन्द हुने भएको छ । त्यहाँ करिब दुई सय जना जवान र अधिकृत कार्यरत छन्,’ नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले इकागजसँग भने, ‘अबको केही महिनामा टोली फर्केपछि अर्को टोली त्यहाँ जाने छैन । अन्यत्र पनि हाम्रो (नेपाल प्रहरी) उपस्थिती निकै कम हुँदै गएको छ ।’


यसअघि नै नेपाल प्रहरीको हाइटी मिसन बन्द भइसकेको छ । अब डफ्फामा भन्दा पनि इन्डिभिजुअल पुलिस अफिसर (आइपीओ) मा मात्र नेपाल प्रहरीको उपस्थिती रहने छ । सुडानमा पनि १३ जना प्रहरी अधिकृत छन् । भने डफ्फामा करिब १८० जना छन् । 

सरकारले राष्ट्र संघसँग गरेको प्रतिबद्धता अनुरुप नेपाल प्रहरीका योग्य एवम् दक्ष प्रहरी कर्मचारीहरूलाई छनौट गरी राष्ट्र संघीय मिसन आइपीओमा प्रहरीहरू सहभागी गराउँदै आएको थियो । शान्ति मिसनमा नेपाल प्रहरीको उपस्थिती अन्यत्र निकै थोरै छ । नेपाली सेनाको भने अझै कुनै असर परेको छैन।   


Author

थप समाचार
x