डिफेन्स

सीमा सुरक्षा थप मजबुद  बनाइन्छ : गृहमन्त्री थापा

इकागज |
माघ २७, २०७७ मंगलबार २०:४२ बजे

फाइल तस्बिर

काठमाडौँ :  गृहमन्त्री रामबहादुर थापा बादलले सीमा सुरक्षा तथा व्यवस्थापन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पारेका छन् । राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबारको आयोजनामा माघ २५ र २६ गते सञ्‍चालित नेपालको अन्तर्राष्ट्रिय सीमा सुरक्षा तथा व्यवस्थापनमा सम्बद्ध निकायहरुबीच समन्वयका क्षेत्रहरु’ विषयक दुई दिने सेमीनारमा बोल्दै गृहमन्त्री बादलले सशस्त्र प्रहरी बल, नेपाललाई सरकारले सीमा सुरक्षार्थ डेडिकेटेड फोर्सको रुपमा परिचालन गर्दै सीमा सुरक्षा बलियो बनाइने बताएका हुन् ।

उनले सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टको संख्या २०५ बाट बढाउँदै ५०० वटा पुर्‍याउने सरकारको कार्यनीति रहेको उल्लेख गर्दै सीमा सुरक्षा सरकार र गृहमन्त्रालयको मात्र नभई सबैको साझा दायित्व भएको बताए । उनले आपसी समन्वय तथा सहकार्यमा समान दृष्टिकोण र औपचारिक संयन्त्रबाट प्रभावकारी रुपमा सीमा सुरक्षा र व्यवस्थापन गर्न सकिने यसका लागि सशस्त्र प्रहरीलाई सम्बद्ध सबै निकायले आवश्यक समन्वय र सहयोग गर्न निर्देशन दिए ।


उक्त कार्यक्रममा बोल्दै गृहसचिव महेश्‍वर न्यौपानेले यस खालका सेमिनारले सशस्त्र प्रहरी बल, नेपाललाई डेडिकेटेड फोर्सको रुपमा सीमामा खटिइँदा आवश्यक पर्ने थप सैद्धान्तिक तथा प्रभावकारी उपायहरुको खोजी तथा अवलम्बनमा सहयोग पुग्‍ने बताए । उनले सीमा सुरक्षा तथा व्यवस्थापन नेपाल सरकारको विशेष प्राथमिकतामा रहेको र त्यसका लागि आवश्यक सम्पूर्ण भौतिक श्रोतसाधन तथा अन्य पूर्वाधार निर्माणमा प्राथमिकताका साथ अगाडी बढ्ने बताए ।

उनले सीमामा सशस्त्र प्रहरीको तैनाथीपछि सीमा अपराध नियन्त्रण एवं राजश्व संकलनमा उल्लेखनीय बृद्धि भएको उल्लेख गर्नुहुँदै कुनैपनि देशको सीमा सुरक्षामा देश गरीब र धनि भन्‍ने नहुने बताउँदै सशस्त्र प्रहरी बल, नेपालको परिचालनमा आवश्यक बजेट तर्जुमा गरी श्रोतसाधन सम्पन्‍न बनाईने र सूचना प्रवाहको लागि अन्तरनिकाय समन्वय गर्नको लागि विशेष संयन्त्रको विकास गरिने बताए । 

सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपालले शान्ति सुरक्षा तथा सीमा सुरक्षाको उत्तरदायित्व वहन गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गर्दै सशस्त्र प्रहरी बल, नेपाललाई प्राप्त सहयोग र समन्वयका लागि नेपाल सरकार, गृहमन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग लगायत अन्य सम्बद्ध निकायहरुप्रति आभार प्रकट गरे । 


Author

थप समाचार
x