डिफेन्स

सुरक्षा परिषद् बैठक, पछिल्लो अवस्थाबारे प्रधानमन्त्रीको चासो

इकागज |
फागुन ११, २०७७ मंगलबार १३:४१ बजे

फाइल तस्‍वीर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय सुरक्षा परिषद् बैठकमा उनले मुलुकको समग्र सुरक्षा अवस्थाको बारेमा जानकारी लिएका हुन् । 

प्रधानमन्त्री ओली सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिदै जाँदा मुलुकको सुरक्षा अवस्थालाई मजबुद बनाउन पनि निर्देशन दिएको बुझिएको छ । त्यस्तै प्रतिबन्धित चन्द नेतृत्वको नेकपाको गतिविधीका बारेमा पनि जानकारी लिएको बताइएको छ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको फैसला आउने अवस्था रहेको बेला प्रधानमन्त्री ओलीले सुरक्षा अवस्था बारे जानकारी लिएका हुन् । 


बैठकमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापासमेत सहभागी थिए । समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक प्रावधान छ ।

 सुरक्षा परिषदको बैठक यसअघि गत कात्तिक ५ गते बसेको थियो । सुरक्षा परिषद्‍पछि बालुवाटारमा नै प्रधानमन्त्री ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच एकघण्टा छलफल भएको थियो ।


Author

थप समाचार
x