डिफेन्स

यौन दुर्व्यवहार प्रमाणित भएपछि जर्नेल कार्की बर्खास्त

प्रकरणमा संलग्‍न महिला अधिकृत पनि बर्खास्त

इकागज |
फागुन २७, २०७७ बिहीबार १९:४० बजे

काठमाडौँ : नेपाली सेनाका जर्नेलले संगठनमा सँगै काम गर्ने महिला अधिकृत र जवानलाई यौन दुर्व्यवहार गरेका कारण जागिर गुमाउनु परेको छ । सिरहा स्थित २८ नम्बर बाहिनीका प्रुमुख सहकाय रथी (व्रिगेडियर जनरल) पंकज कार्कीले जागिर गुमाउनु परेको हो । उनले मात्रै होइन यो प्रकरणमा संलग्‍न एक महिला अधिकृतले पनि जागिर गुमाइन् । दुवै जनालाई नेपाली सेनाले एक साता अघि सैन्य सेवाबाट वर्खास्त गरेको हो । 

उजुरीको आधारमा अध्ययन गर्दा हर्कत प्रमाणित भएपछि सैन्य सेवाबाट बर्खास्त गरिएको हो । बाहिनी प्रमुख र उप-प्रमुखबीचको द्वन्द्वले यो प्रकरण बाहिर आएको थियो । विवादित घटना मध्य-पूर्वी पृतना पुगेपछि त्यसको छानबिन सैनिक मुख्यालय जंगी अड्डाबाट अघि बढेको हो ।


नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी सन्तोषबल्लभ पौड्यालका अनुसार महिला सैनिक अधिकृतसँग यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि गत साता कार्कीलाई बर्खास्त गरिएको हो । उनीसँगै घटनामा मुछिएकी एक महिला अधिकृतलाई पनि बर्खास्त गरिएको उनले बताए । प्रकरणमा महिला सैनिक अधिकृतको पनि आचरणमा गलत मनशाय देखिएकाले बर्खास्त गिरएको सैनिक स्रोतले जनाएको छ । सेनाले महिला अधिकृतको नाम भने बाहिर ल्याएको छैन् ।

सैनिक मुख्यालयले एक उच्च अधिकृतको नेतृत्वमा कोर्ट अफ इन्क्‍वायरी गठन गरेर अध्ययन गरेको थियो । ‘कोर्ट अफ इन्क्‍वायरी’ले उक्त प्रकरणमा कार्कीको गल्ती पुष्टि भएपछि सेनाको शून्य सहनशीलताको नीति अनुरुप नै तत्काल सेवाबाट बर्खास्त गरिएको हो । 

पूर्णचन्द्र थापा प्रधानसेनापति भएपछि अनुशासनको विषयमा शून्य सहनशिलताको नीति अवलम्बन गर्ने कार्यलाई थप प्रभावकारी बनाएका छन् । कार्की यौन दुर्व्यवहार प्रमाणित भएर बर्खास्तीमा पर्ने सेनाका पहिलो उच्च सैनिक अधिकृत हुन् ।   शान्ति मिसन होस या वाहिनी दुवैमा उनले सेनाको अनुशासन र आचारसंहितामा रहनु पर्ने हुन्छ । तर, त्यसको कार्कीबाट उल्लंघन भएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।  

छानबिनमा सेनाको टोलीले सबैखाले प्रमाण खोजी गरेको थियो । मोवाइलदेखि समाजिक सञ्‍जालसम्मको सुक्ष्म अध्ययन गर्दै विस्तृत विवरण माग्‍ने कामसमेत टोलीले गरेको थियो । यसबाहेक टोलीले दुवै जनासँग संगतमा रहेकाहरूसँग उनीहरूका बारेमा सोधपुझ गरेको थियो । 


Author

थप समाचार
x