डिफेन्स

नरवणे अब नेपाली सेनाको मानार्थ महारथी

इकागज |
कात्तिक २०, २०७७ बिहिवार १७:४० बजे

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पदबाट सम्मान गरेकी छन । राष्ट्रपतिको कार्यलय शीतल निवासमा आयोजित एक विशेष समारोहका बीच उनलाई उक्त दर्जा प्रदान गरिएको हो । सो समारोहमा जनरल नरवणेलाई खड्ग तथा सनद–पत्र पनि प्रदान गरिएको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, भारतीय राजदूत विनय मोहन क्वात्रा र दुवै मुलकका वरिष्ठ अधिकारीहरू पन सहभागि थिए ।


विगत सात दशकदेखि दुई मुलुकका सेनाबीच एक अर्काको सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएकोमा सेनाध्यक्ष नरवणेलाई सो सम्मान प्रदान गरिएको हो । उक्त दर्जाबाट सम्मानित पहिलो भारतीय सेना प्रमुख सेनापति जनरल के एम करिअप्पा हुन । उनलाई सन् १९५० मा उक्त सम्मान प्रदान गरिएको थियो । गत जनवरीमा भारतका राष्ट्रपति रामनाथ कोविन्दले नयाँ दिल्लीमा आयोजित एक समारोहमा नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतीय सेनाको मानार्थ महारथी पद प्रदान गरेका थिए ।

नरवणेले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता भएको छ । उक्त भेटवार्तामा राजदूत क्वात्राको पनि उपस्थिति थियो । राष्ट्रपतिसँगको भेटका क्रममा जनरल नरवणेले आफूलाई दिइएको उक्त सम्मान प्रति विशेष आभार प्रकट गर्नुका साथै द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने उपायहरुबारे छलफल गरेका थिए । उनले यसअघि नेपाल र भारतकोसैन्य सहकार्यबारेमा समकक्षी थापासँग वार्ता गरिसकेका थिए ।

उनले दुतावासमा केही राजनीतिज्ञ र अन्य उच्च अधिकारी, पूर्व जनरलहरुसँग पनि भेटवार्ता गरेका छन ।उनले  यो क्रमलाई शुक्रबार पनि जारी राख्नेछन । उनले शिवपुरी स्टाफ कलेजमा अध्यानार्थी सैन्य अधिकारीलाई सम्वोधन गर्ने कार्यक्रम छ । त्यसपछि उनले दूतवाासमा भेटवार्ता जारी राख्ने र अन्तमा प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेटवार्ता गरेर फर्कने कार्यक्रम छ । 

यसैबीच नेपाल सैनिक श्रीमति संघले गर्दै आएको गतिविधिबारे भारतीय सेनाध्यक्षकी धर्मपत्नी विना नरवणेले जानकारी लिदै उस्तै प्रकारको भारतमा रहेको सैनिक श्रीमति संघको बारेमा जानकारी गराएकी छन् । 


Author

थप समाचार
x