सेयर

करिब दुई सातापछि सेयर बजारमा सुधार, परिसूचक ६० अंकले बढ्यो

इकागज |
जेठ २५, २०७९ बुधबार १५:१९ बजे

फाइल फोटो

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज परिसूचकमा उल्लेख्य रूपमा सुधार भएको छ । बुधबार बजार परिसूचक ६०.२२ अंकले बढेको हो ।

विगत दुई सातादेखि निरन्तर घटेर समग्र बजार परिसूचक विन्दु २०२० अंकमा ओर्लिएको थियो । आज सेयर बजार ६० अंकले सुधार हुँदा समग्र बजार परिसूचक २०८०.४४ विन्दुमा उक्लिएको छ ।


आज सेयर बजार परिसूचक विन्दु २ दशमलव ९८ प्रतिशत तथा ‘क’ वर्गका कम्पनीहरूको बजार मापक परिसूचक ११.२५ अंक अर्थात २ दशमलव ८९ प्रतिशतले बढेर ४०० दशमलव ३७ अंकमा उक्लिएको छ ।

त्यस्तै फ्लोट ४.१५ अंक तथा सेन्सेटिभ फ्लोट ३.८ अंकले घटेको छ। ६० अंकले बजार बढ्दा आज कारोबार भएका २ सय ३१ कम्पनीमा १९३ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै  २ कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

बजार बढ्दा आज कारोबारमा पनि सामान्य सुधार देखिएको छ। आज १ अर्ब ६४ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । बुधबार २ सय ३१ कम्पनीले कारोबार गर्दा १ अर्ब ६४ करोड ३ लाख ५६ हजार ६ सय ८ रूपैयाँको ५० लाख ५ हजार ८ सय १४ कित्ता सेयर ३० हजार ६ सय ८४ पटकमा खरिद बिक्री भएको छ।

उल्लेख्य रूपमा बढ्दा सामुदायिक लघुवित्त र उपकार लघुवित्तको सेयर सकारात्मक सर्किट लागेको छ । आज सामुदायिक लघुवित्तको सेयर १० प्रतिशतले बढेर  प्रतिकित्ता १५७३ रूपैयाँमा तथा  उपकार १० प्रतिशतले बढेर प्रतिकित्ता २३३८.६० रूपैयाँमा उक्लिएको छ । अन्य बढी कारोबार गर्ने कम्पनीहरूमा बलेफी हाइड्रो, कालिका लघुवित्त, तेह्रथुम पावर कम्पनी बढी कमाउने कम्पनी रहेका छन् ।

त्यस्तै माउन्टेन हाइड्रो, आरबिबी म्युचअल फण्ड, नबिल ब्यालेन्स्ड फण्ड, नबिल प्रगति फण्ड, हिमालयन बैंक लिमिटेड लगायतका कम्पनी बढी गुमाउने कम्पनी रहेका छन् । उप-समूहतर्फ आज १३ समूहको सेयर बढेको छ । सबैभन्दा धेरै फाइनान्स कम्पनी ५ दशमलव ०३ प्रतिशतले बढेको छ ।

 

 


Author

थप समाचार
x